व्यवसाय प्रवद्र्धनमा मोडलिङको महत्वपूर्ण भूमिका हुन्छ : सञ्जय केसी, प्रबन्ध निर्देशक, सिएनएन फेसन टच

राम्रो अनलाइन     ०६ भदौ २०८२, शुक्रबार
व्यवसाय प्रवद्र्धनमा मोडलिङको महत्वपूर्ण भूमिका हुन्छ : सञ्जय केसी, प्रबन्ध निर्देशक, सिएनएन फेसन टच

व्यवसाय प्रवद्र्धनमा विज्ञापनको महत्वपूर्ण भूमिका हुन्छ । विज्ञापनका विविध विधाहरूमध्ये पछिल्लो समय व्यवसाय प्रवद्र्धनका लागि मोडलिङ विधामा बढी आकर्षण देखिएको छ । खासगरी कर्पोरेट हाउसहरूले मोडल र सेलिब्रेटीहरूमार्फत् आफ्ना वस्तु तथा सेवाहरूको बजारीकरण गर्ने गरेका छन् । सोहीक्रममा व्यवसाय प्रवद्र्धनका लागि ब्राण्डदूतको प्रचलन सुरु भएको हो । धेरैजसो टिभी विज्ञापन, फेसन शो, म्युजिक भिडियो र अटो शो जस्ता क्षेत्रहरूमा मोडल तथा सेलिब्रे्रटीहरू प्रयोग हुने गरेका छन् । तर, आफ्ना वस्तु तथा सेवाहरूको प्रवद्र्धन गर्न मोडलिङका लागि कहाँ र कसरी सम्पर्क गर्ने भन्ने सबै थाहा नहुन पनि सक्छ । टिभी विज्ञापन, फेसन शो, म्युजिक भिडियो र व्यापारमेला, महोत्सवका लागि मोडलहरूको माग बढ्न थालेपछि मोडल एजेन्सीहरू नै स्थापना भएका छन् ।

सिएनएन फेसन टच नामक एक मोडलिङ एजेन्सीले विगत २५ वर्षदेखि उक्त सेवा प्रदान गर्दै आएको छ । मोडलहरूलाई विभिन्न क्षेत्रमा अवसर प्रदान गर्ने र सेवाग्राहीलाई सहज रूपमा मोडलिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ सिएनएन फेसन टच नामक कम्पनी स्थापना गरिएको उक्त कम्पनीका प्रबन्ध निर्देशक सञ्जय केसी बताउँछन्। उनका अनुसार संस्थागत रूपमा प्रदान गरिने सेवाबाट मोडलिङ पेशामा रुचि राख्ने र सेवाग्राही दुवै लाभान्वित बनाएको छ ।  पछिल्लो समय फस्टाउँदै गएको मोडलिङ व्यवसायबारेमा सिएनएन फेसन टचका प्रबन्ध निर्देशक सञ्जय केसीसँग गरिएको कुराकानी : 


अहिले मोडलिङ व्यवसायको अवस्था कस्तो छ ? 

विगतभन्दा धेरै राम्रो छ । विगतमा टिभी विज्ञापन, फेसन शो, म्युजिक भिडियोतिर मात्रै स्कोप रहेकोमा पछिल्लो समय अन्य क्षेत्रहरूमा पनि मोडलहरूको प्रयोग हुन थालेको छ । खासगरी कर्पोरेट हाउसहरूले आफ्ना वस्तु तथा सेवाको बजार प्रवद्र्धनका लागि मोडल तथा सेलिब्रेटीहरू प्रयोग गर्न थालेका छन् । विगतमा मोडलिङका सीमित क्षेत्रहरूमात्रै रहेकोमा अहिले विविधिकरण हुँदै गएको छ ।

तपाईं विगत २५ वर्षदेखि यही क्षेत्रमा हुनुहुन्छ । त्यसबेला मोडलिङ व्यवसाय अहिले जस्तो सहज थिएन होला नि ?
अहिलेको जस्तो सहज कहाँ हुनु, त्यतिबेला मोडलहरू पाउनै गाह्रो थियो, कसरी खोज्ने ? सम्पर्क गर्न अहिले जस्तो इन्टरनेट, सामाजिक सञ्जालहरू केही थिएनन् । पत्रिकामा विज्ञापन नै गर्नुपथ्र्यो । तर, अहिले इन्टरनेट र सामाजिक सञ्जालका कारण मोडलहरू आफैं सम्पर्कमा आउँछन् । कति त व्यक्तिगत सम्पर्कबाट पनि आउँछन्, विगतको जस्तो खोजेर हिँड्नुपर्दैन । बजारमा प्रतिस्पर्धा पनि बढेर गएको छ । अहिलेको अवस्थामा मोडलहरूले बेरोजगार भएर बस्नुपर्दैन ।

सिएनएन फेसन टचले चाहिँ के-के गर्छ ?

हामी मोडलिङका सबै विधामा काम गर्छौं । फेसन शोदेखि टिभी एड, पेपर एड, म्युजिक भिडियो, ब्युटी पेजन्ट, मोडेल पोर्टफोलियो, फोटो सुट्स, प्रोडक्ट प्रमोसन, सिल्भर स्क्रिन, मोडल म्यानेजमेन्ट, इभेन्ट म्यानेजमेन्ट, अटो शो, होस्ट, डान्सलगायतका क्षेत्रमा काम गर्छौं । तपाईंलाई मोडलिङ गर्ने सोख छ र मोडलिङलाई नै पेशा बनाउन चाहनुहुन्छ भने डाइरेक्ट एड एजेन्सीमा त जान मिल्दैन । पहिले हाम्रो जस्तो कम्पनीमा आउनुपर्‍यो । अनि मोडलिङका लागि धेरै विधाहरू हुन्छन्, टिभीमा गर्ने कि, फेस शोमा गर्ने कि, म्युजिक भिडियोमा गर्ने कि, गाडीहरूको गर्ने कि, कुन क्षेत्रमा गर्ने हो, त्यही क्षेत्रमा हामी पठाउँछौं । किनभने हाम्रोमा विभिन्न संघसंस्था, कम्पनीहरूबाट मोडलहरूको माग भइरहेको हुन्छ ।

मोडलिङका लागि पुरुषहरू पनि लिनुहुन्छ कि ?

पुरुषहरूचाहिँ एकदमै कम लिन्छौं । माग नै छैन । वास्तवमा अहिले मोडल केटाहरू एकदमै पीडित छन् । नाडा अटो शोमा हेर्नु न, कहिल्यै केटा मोडल राख्दैन । दुर्ईजना केटा मागेको थियो, त्यो पनि पछि क्यान्सिल गर्‍यो । त्यसैले केटाको त खासै काम हुँदैन । हामीले सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा पनि मोडलिङ सेवा प्रदान गरेका थियौं भने आजदेखि काठमाडौंमा सुरु हुने नाडा अटो शोमा समेत मोडलिङ सेवा प्रदान गर्दैछौं ।

एजेन्सीहरूले काम लगाउने, पारिश्रमिक नदिने मोडलहरूको गुनासो छ नि ?

हामीले चाहिँ अहिलेसम्म काम लगाएर पारिश्रमिक नदिएको भन्ने छैन । हामीले सम्बन्धित कम्पनी वा एजेन्सीहरूसँग पैसा लिएरै मोडलहरू पठाउने हो । कम्पनीले हामीलाई पैसा दिने तर मोडललाई हामीले नदिँदा पछि थाहा भइहाल्छ नि । ठग रहेछ भन्ने हुन्छ । त्यस्तो कहिल्यै भएको छैन । कतिपय अवस्थामा हामीले हाम्रो कम्पनीलाई नदिए पनि मोडलको पारिश्रमिक चाहिँ दिनुस् भन्ने गरेका पनि छौं । फेरि पैसाको मामलामा महिलाहरूले कति तनाव दिन्छन् भन्ने थाहा नभएको कुरा होइन र ? फोन गरेर हैरान पार्छन्, हजार पाँच सय कम भए त छोड्दैनन् भने पारिश्रमिक नै नदिँदा चुप लागेर बस्दा हुन्, तर सबै एउटै नेचरका भने हुँदैनन्, पैसाभन्दा पनि सोखले यो फिल्डमा आउनेहरू पनि हुन्छन् । त्यस्तालाई पैसाको मतलब हुँदैन । यो फिल्डमात्रै होइन, सबै फिल्डमा त्यस्तै हो, राम्रा नराम्रा मान्छे सबैतिर हुन्छन् ।

फेसन भनेपछि कपडा, बुटिकहरू चाहिँ राख्नुहुन्न ?

त्यो सबैमा हामी सम्बन्धित फेसन, बुटिक हाउसहरूसँग सहकार्य गरेर व्यवस्थापन गर्छौं । मेकअप पनि त्यस्तै हो, ब्युटिसियनका लागि पनि सहकार्य नै हो । अहिले सहकार्यको जमाना छ ।

तपाईं आफैं पनि मोडलिङ गर्नुहुन्छ कि ?

म आफैं चाहिँ गर्दिन । मोडलिङमा खासै त्यस्तो रुचि पनि भएन । टाइम पनि हुँदैन । म्यानेजमेन्टमा धेरै दौडधुप गर्नुपर्ने हुन्छ । म फेरि काम भए पनि नभए पनि धेरैजसो फिल्डमै हिँडिरहन्छु । त्यसरी हिँड्दा धेरैजनासँग सम्पर्क बढ्ने भएकाले आफैँलाई फाइदा हुने हो । जति जनसम्पर्क बढी भयो, त्यति नै व्यवसाय विस्तार हुँदै जाने त हो नि ।

प्रतिक्रिया