‘लोकतन्त्रप्रति भरोसा जगाउन पारदर्शी शासन प्रणाली र सुशासन अनिवार्य’ 

राम्रो अनलाइन     ०५ मंसिर २०८१, बुधबार
‘लोकतन्त्रप्रति भरोसा जगाउन पारदर्शी शासन प्रणाली र सुशासन अनिवार्य’ 


काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउन पारदर्शी शासन प्रणाली, जबाफदेहिता र सुशासन पहिलो शर्त भएको उल्लेख गरे । उनले भने– ‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यता अनि पवित्रतालाई धुमिल बनाउने अवस्था आउन दिनुहुँदैन । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि सङग्रहणीय सामग्री हुने स्पष्ट पारे।

बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै उनले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि निधिले आफ्नो जीवन समर्पित गरेको स्मरण गरे।

प्रतिक्रिया