सेक्स टोय : पुरुष सत्ताबाट मुक्तिको हतियार

एजेन्सी     १९ फागुन २०७७, बुधबार
सेक्स टोय : पुरुष सत्ताबाट मुक्तिको हतियार

हामी अभूतपूर्व यौन स्वतन्त्रताको युगमा बाँचिरहेका छौँ। यौन आनन्द व्यक्तिको जन्मसिद्ध अधिकार हो भन्ने धारणा सर्वव्यापी बन्दै गएको छ। आनन्द पाउने अनेकौँ उपाय खोजी भइरहेका छन्। त्यसैमध्ये एक हो, सेक्स टोय। व्यक्तिको यौन आनन्दलाई सहज बनाउने हुनाले यसको प्रयोग आम बन्दै गएको छ। 

सन् २०१७ मा विश्वभर सेक्स टोयको बजार २३.७ अर्ब डलरबराबर थियो। सन् २०२३ सम्ममा बढेर ३५.५ अर्ब डलर बन्ने प्रक्षेपण गरिएको छ। केही दशकअघिसम्म यौन, चरमानन्द र सेक्स टोयबारे कमै चर्चा हुन्थे। तर, यौन व्यक्तिको अधिकार हो भन्ने मान्यता स्थापित भएसँगै सेक्स टोयको प्रयोग र चर्चा बढेको छ। सेक्स टोयको बजार बढ्नुमा यसको उपयोगिता पनि एउटा कारण हो। यौनमा खुलापन, उत्तेजना र आनन्दको खोजी गर्ने चलन बढेसँगै थेरापीका लागि सेक्स टोयको प्रयोग बढिरहेको छ। 

सन् १९७० को दशकमा विश्वभरमा यौनआनन्द दिने सामग्री उत्पादन गर्ने कम्पनी करिब आधा दर्जन मात्रै थिए। जेजस्ता सेक्स टोय थिए, तिनको वास्तविक ब्रान्ड तथा प्याकेजिङ थिएन। डक जोन्सन नामक कम्पनीले पहिलो पटक सेक्स टोयलाई ब्रान्डिङ गरेर लोगोसहित बजारमा ल्यायो। अहिले विश्वभर यसका सयौँ वितरक र हजारौँ खुद्रा व्यापारी छन्। 

प्रविधिको विकासले ठूलो मात्रामा सेक्स टोय उत्पादन सम्भव भएको छ। रबर र सिलिकनबाट बनेका देख्दा वास्तविक लाग्ने आनन्ददायी टोय एकै दिनमा १० हजारसम्म उत्पादन गर्ने उद्योग स्थापना भएका छन्। इन्टरनेटले यसको व्यापारमा सहजीकरण गरेको छ। 

सेक्स टोय किन राख्ने ?

सेक्स टोय मानिसको यौन जीवनको महŒवपूर्ण पक्ष बन्दै गएको छ। यो त पपुलर कल्चरको एक हिस्सा नै बनिसकेको ‘सेक्स इन द सिटी’ र ‘फिप्टी सेड्स अफ ग्रे’ को लोकप्रियताले पुष्टि गर्छ। यद्यपि, कतिले सेक्स टोय प्रयोगलाई गोप्य राख्ने गरेका छन्। 

कतिपय अवस्थामा सेक्स टोय अत्यावश्यक नै बन्न पुग्छ। यौन व्यक्तिको आधारभूत आवश्यकताभित्र पर्छ। तर, अनेक कारणले सबैको त्यसमा पहुँच नहुन सक्छ। कतिपयले भरपर्दो पार्टनर नपाउन सक्छन्, कतिले शारीरक अपांगता वा अन्य कारणले पार्टनरसँग सन्तुष्टि अर्थात् चरमानन्द पाउन सकेका हुँदैनन्। कतिपयको यौनक्रियामा सहभागितै जनाउन नसक्ने अवस्था हुन सक्छ। अझ कतिपयको यौनिकताको झुकाव पनि अलग हुन सक्छ। यी र यस्ता परिस्थितिमा व्यक्तिको यौन चाहना पूर्ति र सन्तुष्टिका लागि सेक्स टोय आवश्यक र उपयोगी बन्न सक्छ। 

स्वास्थ्यको दृष्टिकोणले पनि महिला र पुरुष दुवैलाई चरमानन्द आवश्यक छ। पुरुषमा यसले प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ भने महिलामा महिनावारीको बेला हुने दुःखाइ कम गर्न मद्दत गर्छ। त्यस्तै निदाउन पनि सहयोग गर्छ।

दम्पतीबीचको सहवासमा पनि सेक्स टोयले सकारात्मक प्रभाव पार्न सक्छ। यसले सम्बन्धलाई कतिपय अवस्थामा दिक्कलाग्दो बन्नबाट रोक्छ, रोमाञ्चकता र उत्साह भिœयाउन सक्छ। 

सेक्स टोयको इतिहास

सेक्स टोयबारे भर्खरै मात्र चर्चा सुरु भए पनि यसको इतिहास भने निकै लामो छ। जर्मनीको एउटा गुफामा २८ हजार वर्षअघिको हड्डीको लिंगाकृति फेला परेको थियो। यसको प्रयोगबारे पुरातŒवविद्हरूबीच विवाद छ। यद्यपि यसलाई सुरुवाती सेक्स टोय मान्नेहरू पनि छन्। 

वास्तविक सेक्स टोय चाहिँ ईशापूर्व ५०० मा विकास भएको मानिन्छ। अहिलेको टर्कीमा पर्ने एक ग्रिसेली शहरमा कृत्रिम शिश्न आविष्कार गरिएको थियो। जसलाई एकल महिलाले यौनानन्दका लागि प्रयोग गर्थे।

ग्रिक भाषामा यसलाई ‘ओलिस्बोस’ भनिन्थ्यो। ईसापूर्व तेस्रो शताब्दीको एक साहित्यिक कृतिमा पति बाहिर गएकी एक महिला आफ्नी साथीकोमा ओलिस्बोस माग्न पुगेको तर साथीले अर्कै व्यक्तिलाई त्यो खेलौना सापटी दिइसकेको चर्चा गरिएको छ। 

सन् ३०० मा कामसूत्रमा लिंगको आकार ठूलो बनाउन बाहिरबाट खोलझैँ लगाउन मिल्ने उपकरणको चर्चा छ। त्यो काठ, छाला, सिङ, तामा, चाँदी, हस्तीहाड वा सुनको पनि हुन सक्थ्यो। 

त्यस्तै सन् ५०० मा बर्मा, जापानजस्ता स्थानमा योनिमा ‘बेन वा बल्स’ भनिने घण्टी राख्ने चलन थियो। यौन सम्पर्कका बेला त्यो घण्टी बजेर पुरुषलाई थप आनन्द प्राप्त हुने विश्वास थियो। पछि त्यसलाई महिलाको ‘पेल्भिक फ्लोर मसल’ बलियो बनाउन पनि प्रयोग गर्न थालियो। सातौँ शताब्दीमा चीनमा ऐनाका अघिल्तिर यौनसम्पर्क गर्दा बढी आनन्द प्राप्त हुने विश्वास गरिन्थ्यो। 

सन् १६०० मा लिंगमा रक्तप्रवाह रोक्ने रिङ र भगांकुरमा उत्तेजना दिलाउने यन्त्र आविष्कार भयो। सेक्स टोयका लागि १९ औँ र २० औँ शताब्दी खास रहे। सन् १९००–१९२० को अवधिमा अमेरिकामा बिजुली उपलब्ध भएपछि भाइब्रेटर लोकप्रिय बन्दै गयो। 

‘२० औँ शताब्दीसम्म अमेरिकी र युरोपेली पुरुषहरू (चिकित्सकसमेत) महिलालाई यौन चाहना र आनन्द हुुँदैन भन्ने सोच्थे,’ यौनविज्ञ माइकल क्यासलम्यानले ‘साइकोलोजी टुडे’मा लेखेका छन्, ‘उनीहरूलाई लाग्थ्यो, महिला भनेका पुरुषको कामुकता सहने मांसपिण्ड मात्र हुन्। पुरुष स्खलन भइसकेपछि महिलाको यौन चाहना पनि पूरा हुने विश्वास उनीहरू गर्थे।

उनीहरूमा यौन चाहना नभए पनि पतिलाई खुशी राख्ने र सन्तान जन्माउने कर्तव्य पूरा गर्न मात्र उनीहरू यौनकर्ममा भाग लिन्थे।’ अघिल्लो शताब्दीसम्म पनि महिलाको यौन चाहनालाई ‘हिस्टेरिया’ भनेर रोग वा विकारको नाम दिइन्थ्यो। तर, महिलालाई यौन आनन्द आवश्यक छ भन्ने जतिजति पुष्टि हुँदै गयो, सेक्स टोय पनि मूलधारमा आउँदै गयो। 

कस्ता–कस्ता सेक्स टोय ?

कम्तीमा पनि सयौँ प्रकारका सेक्स टोय बजारमा पाइन्छन्। उत्तेजनाका लागि ‘इलेक्ट्रिक स्टिमुलेसन’ को प्रयोग केही सय वर्षदेखि हुँदै आएको छ। आजभोलि बजारमा विभिन्न रूपाकृतिका सेक्स टोय छन्। अनेक खालका कृत्रिम लिंग छन्। ती मार्बल, प्लास्टिक, रबर, सिलिकन, काठ र धातुले बनेका हुन सक्छन्। त्यस्तै, इन्टर्नल र एक्स्टर्नल वा दुवै खालका भाइब्रेटर हुन्छन्। ‘इरोटिक फर्निचर’, ‘निप्पल टोय’, ‘पिनस स्लिभ’ ‘पिनस रिङ’ योनि वा मलद्वारामा राख्न मिल्ने विभिन्न आकारप्रकारका प्लग पाइन्छन्। 

मेडिकल टोयको पनि कमी छैन। हजारौँ डलर पर्ने रोबोटिक टोयदेखि लिएर स्मार्ट टोय बजारमा छन्। खास गरी, महिलालक्षित सेक्स टोयमा विविधता पाइन्छ। पुरुषको भन्दा महिलाको सेक्स टोय परिष्कृत छन्। सबैभन्दा बढी चलेका सेक्स टोय हेर्ने हो भने महिलाका टोय लिंग आकारकै हुनुपर्छ भन्ने छैन। तर, पुरुषका लागि बनेका सेक्स टोय बढीजसो योनि आकारका हुन्छन्। पछिल्लो समय थुप्रै उत्पादकले सबैप्रकारका यौनिक झुकाव भएकालाई उपयोगी हुने टोय बनाइरहेका छन्। 

पुरुष सत्ताबाट मुक्तिको हतियार ?

जब यौन अधिकार, सन्तुष्टि आनन्दको कुरा आउँछ, त्यसमा लैंगिक विभेद, स्टेरियोटाइपजस्ता विषय पनि जोडिन्छन्। सेक्स टोय खास गरी महिलाका लागि हो भन्ने सोचिन्छ। तर, सुरुवाती चरणमा सेक्स टोय पुरुषका लागि बनाइन्थे भन्ने तर्क ‘बजः द स्टिमुलेटिङ हिस्ट्री अफ द सेक्स टोय’ पुस्तककी लेखक हली लिबरम्यानको छ। किनभने, त्यसबेलाका चिकित्सकहरूको प्राथमिकतामा महिला होइन, पुरुषको आनन्द पर्ने गथ्र्यो। 

सेक्स टोयलाई कतिपय पुरुषले खतराका रूपमा हेर्ने गरेको पाइन्छ। महिलाका लागि सेक्स टोयको विज्ञापनमा ‘यसले पतिलाई विस्थापित गर्दैन’ भन्ने वाक्यांश लेखिएको उदाहरण दिँदै महिला आनन्दमा आत्मनिर्भर भए पुरुषसत्ता धरापमा पर्ने डर उनीहरूको मनमा हुने गरेको आरोप कट्टर नारीवादीहरूले लगाउने गरेका छन्।

यौनका विषयमा रहेका साँघुरा सोच तोडिँदै छन्, मान्यताहरू भत्किँदै छन्। सेक्स पार्टनर खोज्न पनि सजिलो भएको छ। सँगसँगै थुप्रै जटिलता पनि थपिएका छन्। यौन सम्बन्धबाट असन्तुष्ट हुने पुरुष र खास गरी महिलाहरूको संख्या बढिरहेको छ। पितृसत्तामा यसै पनि महिलाको आनन्द प्राथमिकतामा पर्दैन। सामान्यतः पुरुष र महिलाको चरमानन्द प्राप्तिको विन्दु र मात्रा पनि फरक पर्छ।

जसले गर्दा यौन सम्पर्कमा पुरुषले त चरमानन्द प्राप्त गर्छन्, महिलाले गर्दैनन्। डिप्रेसन नियन्त्रण गर्ने औषधि, परिवार नियोजनका औषधि लगायतले पनि कामेच्छा घटाउने काम गरिरहेका छन्।

आजभोलि आम सञ्चारमा व्यक्तिको यौनिक झुकाव तथा सेक्स टोयको प्रयोगजस्ता विषयलाई सकारात्मक रूपमा लिइन्छ। अमेजनले सेक्स टोय बेच्छ। तर, केही दशकअघिसम्म अवस्था बिलकुल फरक थियो। पछिल्लो परिवर्तन हुनुमा नारीवादीहरूको मुख्य भूमिका रहेको लेखक लिन कोमेला आफ्नो पुस्तक ‘भाइब्रेटर नेसनः हाउ फेमिनिस्ट सेक्स टोय स्टोरिज चेन्ज्ड द बिजनेस अफ प्लेजर’ मा बताउँछिन्।

सन् १९७० को दशकमा अमेरिकामा नारीवादी महिलाहरूको सानो समूहले महिलाका लागि मात्र भाइब्रेटर बेच्न पसल खोलेका थिए। यसले महिलाका लागि सेक्स टोयलाई मूलधारको व्यापारमा ल्याउन सहयोग गर्‍यो। ‘फिमेल सेक्सुआलिटी’लाई स्विकार्ने कदमले पनि यसलाई अघि बढायो। 

यसले एकातर्फ कट्टर नारीवादीहरूलाई आत्मनिर्भर बन्न सघाउने पितृसत्ताबाट मुक्तिको प्रतीक बनेको छ भने अर्कोतर्फ यो परम्परागत लैंगिक तथा यौन भूमिकाको प्रतीक पनि हो। 

‘सेक्स टोय उत्पीडनबाट मुक्तिसम्मको यात्रा होला भन्ने लागेको थियो, तर त्यस्तो रहेनछ,’ हली लिबरम्यान भन्छिन्, ‘सन् १८०० को अन्त्य र १९०० को सुरुमा सेक्स टोयबारे जहाँसुकै विज्ञापन हुन्थ्यो। त्यसलाई अन्य विज्ञापनजस्तो गरी देखाइन्थ्यो।

तर, सन् १९६० को दशकमा जब घरघरमा सेक्स टोय हुन थाल्यो, त्यसलाई खतरनाक औजारका रूपमा हेर्न थालियो। फिल्म ‘फिफ्टी सेड्स अफ ग्रे’ मा सेक्स टोयको भरमार प्रयोग गरिएको छ। तर, त्यसले दिन सन्देश पश्चगामी छ। एक महिला पुरुषसँग आत्मसमर्पण गर्छे र पुरुषले उसमाथि सेक्स टोय प्रयोग गर्छ।’ 

‘ह्वाई विमिन ह्याभ बेटर सेक्स अन्डर सोसलिजम’ नामक पुस्तकमा क्रिस्टेन गोड्सी पुँजीवादका कारण महिला यौनिक रूपमा असन्तुष्ट रहनुपरेको बताउँछिन््।  ‘पुँजीवादमा सबैभन्दा बढी शोषण महिलाको हुन्छ,’ उनी भन्छिन्, ‘यसले उनीहरूको यौन जीवनलाई असर पार्छ।

किनभने, महिलाको श्रमलाई कम मूल्य दिइन्छ।’  त्यसैले महिला जीवित रहनका लागि पुरुषमा निर्भर बन्न बाध्य हुन्छन्  र पुँजीवादमा महिलाको यौनिकता किनबेचको वस्तु बन्न पुग्छ। ‘यस्तो अवस्था सिर्जना गरिएको छ, जहाँ महिला आफ्नो यौनिकतासम्म पहुँचका लागि पुरुषसँग आर्थिक तथा भावनात्मक सहयोगको माग राख्न सक्छन्,’ गोड्सी थप्छिन्, ‘सामान्यतः यो लेनेदन विवाह र एकपतित्वको व्यवस्थाभित्र हुने गर्छ।’

त्यसैले पुरुष सत्ता, पुँजीवाद र यौन असन्तुष्टि दुवैको साङ्लो तोड्न सेक्स टोय उपयोगी हुने मत एकथरी नारीवादीहरूको छ।

ध्यान दिनुपर्ने पक्ष

आफ्नो सेक्स टोयबारे पर्याप्त जानकारी हुनुपर्छ। कुन सेक्स टोय आफूलाई आवश्यक छ भन्ने जानकारी लिएर मात्रै पैसा खर्च गर्नु बुद्धिमानी हुन्छ। त्यस्तै केबाट बनेको टोय सुरक्षित र भरपर्दो छ, त्यो पनि ख्याल गर्न आवश्यक छ। कतिपय टोयमा रासायनिक पदार्थ प्रयोग गरिएका हुन्छन्। त्यसले स्वास्थ्यमा असर पुर्‍याउन सक्छ। 

सेक्स टोय नरम, नभाँचिने, नफुट्ने, हानिकारक रासायनिक पदार्थ प्रयोग नगरिएको हुनुपर्छ। जुन प्रयोजनका लागि किन्न खोजिएको, त्यस्तै डिजाइन भएको टोय रोज्नुपर्छ। अन्यथा सन्तुष्टि पाइँदैन। 

राम्रो कम्पनीको टोय मात्र किन्नुपर्छ। यसबारे कुनै नियम लागू गरिएको छैन। त्यसैले सस्ता र कमसल टोय बजारमा छ्याप्छ्याप्ती पाइन्छन्। अझ अनलाइनबाट किनिने सामग्रीको गुणस्तर मापन गर्न गाह्रो हुन्छ। गुणस्तरका लागि विश्वसनीय कम्पनीको सामग्री प्रयोग गर्नुपर्छ। 

सेक्स टोय आफूले मात्र प्रयोग गर्न किनिँदैन। कतिपय अवस्थामा जोडीले नै प्रयोग गरिरहेका हुन्छन्, कतिपय अवस्थामा निकटस्थहरूलाई प्रयोग गर्न दिने चलन पनि हुन्छ। तर, यसरी सेक्स टोयको संयुक्त प्रयोगमा भने ध्यान पुर्‍याउनैपर्छ। अन्यथा रोग सर्ने सम्भावना हुन्छ। त्यसैले प्रत्येक पटकको प्रयोगपछि सेक्स टोयलाई साबुनपानीले राम्ररी धुनुपर्छ। 

सरसफाइबाहेक ध्यान दिनुपर्ने पक्ष के हो भने यदि जोडीले नै सेक्स टोय प्रयोग गर्दै छ भने एकअर्काको चाहना र भावनालाई बुझ्न सक्नुपर्छ। जोडीबीच सेक्स टोय प्रयोगको उद्देश्य उनीहरूको सम्बन्धमा उत्साह र उत्तेजना थपोस् भन्ने हो, त्यसले उनीहरूबीच दूरी पैदा गरोस् भन्ने होइन। 

एजेन्सीको सहयोगमा कवि आचार्य 
 

प्रतिक्रिया