विराटनगर– सुनसरीको चतरा धाममा आजबाट बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको सुरु हुँदैछ। वराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार स्थित धार्मिक स्थल चतरा धाममा आगामी वैशाख २८ गतेसम्म महाकुम्भ मेला सञ्चालन हुने भएको हो। महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले बिहान साढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका संयोजक बालसन्त मोहन शरण देवाचार्यले जानकारी दिए।
एक महिने मेलामा ४० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ। उनीहरूको व्यवस्थापन र सुरक्षाको तयारी समेत पुरा भएको मेला मूल आयोजक समितिले जनाएको छ। कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवक समेत गरी दुई हजार भन्दा बढी सुरक्षाकर्मीहरू खटाइएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।
मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नानस्थल निर्माण गरिएको छ। मेला स्थल वरिपरि सरसफाइ, स्नानस्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भन्डारा लगायत पार्किङको व्यवस्था गरिएको आयोजकले जनाएको छ। धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्त्वपूर्ण रहेको सो महाकुम्भ मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने मेला सहसंयोजक एवं वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए।
भारत बाहेक विभिन्न देशका साधु सन्त लगायत भक्तजनहरूको पनि सहभागिता रहने नगरप्रमुख कार्कीले बताए। वराहक्षेत्रको प्राचीन हरिद्वारा चतरा धाममा हरेक १२ वर्षमा एक महिने पूणर्महाकुम्भ मेला लाग्ने गरेको छ। यस्तै ६–६ वर्षमा अर्ध कुम्भ मेला समेत लाग्दै आएको छ।