सिटिजन्स बैंक इन्टरनेशनलले बुटवलमा मुख्य कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेसँगै शनिबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुवै बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी उक्त कार्यक्रममा सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबार सुरु भएको घोषणा गरेका हुन् ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिब १२७ अर्ब, ऋण लगानी करिब ११३ अर्ब रुपैयाँ पुग्नेछ भने कुल १६६ शाखा हुनेछन् । सहमतिअनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् ।
सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रहेकामा प्राप्तिपछिको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।
सिटिजन्स बैंक इन्टरनेशनलका सञ्चालक समिति अध्यक्ष भण्डारीले प्राप्तिपछि संस्थाको वित्तीय सूचकांक, मानव स्रोत, प्राविधिकलगायत क्षमता वृद्धि हुने बताए ।
साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंकका सञ्चालक समिति अध्यक्ष जीवनप्रसाद वझाले तिनाउका ग्राहक, कर्मचारी र लगानीकर्ताको हित र भविष्य सिटिजन्स बैंकमा अझ बढी सुरक्षित हुने विश्वास व्यक्त गरे ।
सिटिजन्स बैंकका सञ्चालक एवं मर्जर तथा प्राप्ति समिति संयोजक प्रबलजंग पाण्डेले प्राप्तिपछि बैंकको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि भई ग्राहकलाई आधुनिक एवं भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने बताए ।
सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्जरपछि कर्मचारी व्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
यसअघि सिटिजन्स बैंकले पिपल्स फाइनान्स, नेपाल हाउसिङ एन्ड मर्चेन्ट फाइनान्स र प्रिमियर फाइनान्सलाई प्राप्ति गरिसकेको छ । यस्तै, जनकपुरमा मुख्य कार्यालय रहेको सहयोगी विकास बैंक र विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।