विश्वले भोगेका ठूला महामारी

एजेन्सी     ०४ माघ २०७७, आइतबार
विश्वले भोगेका ठूला महामारी

१४ औँ शताब्दीको मध्यमा युरोप, अफ्रिका र एसियामा एउटा महामारी फैलिएको थियो। ब्ल्याक डेथ भनिने यस महामारीले त्यसबेला विश्वको एकतिहाइ जनसंख्याको ज्यान लिएको थियो। त्यतिबेला विश्वको जनसंख्या ४५ करोड थियो। यस महामारीले साढे सात करोड मान्छेको ज्यान लिएको थियो। 


विश्वभर २० लाख १० हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरणअनुसार २० लाख १० हजार ७ सय संक्रमितको मृत्यु भएको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या न्यून हुँदै गएपनि खास नियन्त्रण भने हुन सकेको छैन । 

सबभन्दा बढी कोरोना संक्रमित रहेका अमेरिकामा हालसम्म २ करोड ३५ लाख ३२ हजार बढी मानिस संक्रमित भइसकेका छन् । जसमध्ये ३ लाख ९२ हजार १२८ को ज्यान गइसकेको छ ।

संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा १ करोड ५ लाख ४२ हजार बढी संक्रमित रहेका छन् । जसमध्ये १ लाख ५२ हजार ९३ जनाले ज्यान गुमाएका छन् । अहिले भारतमा प्रत्येक दिन संक्रमित संख्या न्यून हुँदै गइरहेको छ । 

संक्रमित संख्याको आधारमा तेस्रो स्थानमा रहेको ब्राजिल मृतक संख्याको आधारमा भने दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा ८३ लाख ९३ हजार मानिस संक्रमित हुँदा २ लाख ८ हजार २४६ को मृत्यु भइसकेको छ ।

यसैगरी बेलायतमा ८७ हजार ४४८ को मृत्यु भएको छ भने रुसमा ६४ हजार १३४ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पछिल्लो समय नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि संक्रमण तीव्र रूपमा फैलिरहेको छ । जसलाई नियन्त्रण गर्न लकडाउन जारी गरिएको छ ।

सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट फैलिन सुरु भएको भाइरसविरुद्ध विभिन्न देशहरूले खोप विकास गरिसकेका छन् । हाल थुप्रै मुलुकले यसविरुद्धको खोप अभियान चलाइरहेका छन् ।

मानव इतिहासमा यस्ता भाइरसको महामारी फैलिएको यो एक्लो घटना होइन। यहाँ विचार पुर्‍याउनुपर्ने पक्ष के हो भने महामारी शब्दको अर्थ सापेक्ष हुन्छ। अहिलेको समयमा स्वाइन फ्लू, सार्स, नोवल कोरोना भाइरसजस्ता केही सयको ज्यान लिने भाइरसको प्रकोपलाई पनि महामारी भन्ने गरिन्छ। यद्यपि, मानव इतिहासमा करोडौँको ज्यान लिने महामारी पनि फैलिएका थिए। जसले १२ हजार वर्षको इतिहासमा कुनै देश वा क्षेत्रको सीमा नाघेर करिब ५० करोड मानिसको ज्यान लिएको अनुमान गरिन्छ। 

मानव इतिहासका केही यस्ता महामारीबारे यहाँ चर्चा गरिन्छ। 

स्वाइन फ्लू

सन् २००९ मा अमेरिकामा नयाँ खालको इन्फ्लुएन्जा ए ९एच वान एन वान० भाइरस पत्ता लाग्यो। यो तुरुन्तै अमेरिकाका अनेकौँ राज्य र विश्वभर फैलियो। अघिल्ला यस्ता भाइरसभन्दा निकै फरक यो भाइरसबाट कति मानिसको ज्यान गयो, त्यो अझै बहसको विषय बनिरहेको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार २००९ देखि २०१० सम्ममा अमेरिकामा छ करोड मानिस यो भाइरसबाट प्रभावित भएका थिए। जसमध्ये २ लाख ७४ हजार जना अस्पताल भर्ना हुनुपरेको थियो। यसबाट अमेरिकामा मात्र १२ हजार ४ सय ६९ जनाको ज्यान गएको थियो। हालसम्म विश्वभर १४ हजारको ज्यान गएको बताइएको छ। 

तर, सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले मारिने मानिसको संख्या योभन्दा धेरै गुणा बढी रहेको दाबी गरेको छ। उसका अनुसार यो भाइरसले दुई लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो। विश्व स्वास्थ्य संगठनले सन् २०१० को अगस्टमा स्वाइन फ्लूको महामारी समाप्त भएको घोषणा गरेको थियो। तथापि हरेक वर्ष स्वाइन फ्लूबाट हजारौँ मानिस बिरामी हुने, अस्पताल भर्ना हुने र मृत्युको मुखमा पुग्ने गरेका छन्।

सार्स

सन् २००२ को नोभेम्बरमा चीनको ग्वाङ्दोङ प्रान्तबाट सुरु भएको सिभियर एक्युट रेस्पाइरेटरी सिन्ड्रोम ९सार्स० बाट नौ महिनामा विश्वभर ८ हजार ९६ जना प्रभावित भएका थिए। जसमध्ये ७ सय ७४ जनाले ज्यान गुमाएका थिए। सार्सको मृत्युदर पनि उच्च थियो। संक्रमितमध्ये ९।६ प्रतिशत मानिसको ज्यान गएको थियो। यो कोरोना भाइरसकै एक अलग प्रजाति थियो। 

यो २६ मुलुकमा फैलिएको थियो। खास गरी, चीन, ताइवान, सिंगापुर, क्यानडा सबैभन्दा बढी प्रभावित भएका थिए। पहिले जनावरबाट मानिसमा सरेको यो भाइरस मानिसबाट मानिसमा फैलिन थालेको थियो। संक्रमितलाई ज्वरो आउने,  टाउको दुख्ने, पखाला लाग्ने, कम्प छुट्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएका थिए। महामारी रोकिएपछि पनि सार्स चार पटक देखापरेको छ। तर, त्यो प्रयोगशालाको लापरबाहीका कारण भएको जनाइएको छ। 

एचआईभी एड्स

सन् १९७६ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक पहिचान भएको एचआईभी एड्स वास्तवमै भयानक महामारी थियो। जससँग हामी अझै जुधिरहेका छौँ। सन् १९८१ यता यो रोगबाट ३ करोड ६० लाख मानिसले ज्यान गुमाइसकेका छन्। अहिले पनि विश्वका करिब साढे तीन करोड मानिस यो रोगबाट संक्रमित छन्। जसको सबैभन्दा ठूलो मार सहारा मरुभूमिको दक्षिणतिर अवस्थित मुलुकमा परेको छ। त्यहाँको करिब पाँच प्रतिशत जनसंख्या यो भाइरसबाट संक्रमित भएको अनुमान छ। 

एड्स निको पार्ने औषधि अहिलेसम्म आविष्कार भइसकेको छैन। यद्यपि, यसको असर रोकथाम गरेर मानिसको आयु बढाउने प्रयास सफल हुन थालेका छन्। सन् २००५ देखि २०१२ सम्ममा एड्सबाट हुने मृत्युदर २२ लाख प्रतिवर्षबाट १६ लाख प्रतिवर्षमा झरेको छ। तर, यसको सफल उपचारका लागि अझै कयौँ वर्ष पर्खिनुपर्ने हुन सक्छ।

हङकङ फ्लू

सन् १९६८ मा पहिलो पटक हङकङमा देखिएको यो भाइरस १७ दिनभित्रै अनेकौँ मुलुकमा पुगिसकेको थियो। यो इन्फ्लुएन्जा ए भाइरसको एक प्रजाति थियो। सिंगापुर, भियतनाम हुँदै यो भाइरस तीन महिनामा फिलिपिन्स, भारत, अस्ट्रेलिया, युरोप र अमेरिकासम्म पुग्यो। मृत्युदर अत्यन्त कम ९०।५ प्रतिशत० भईकन पनि यो भाइरसबाट १० लाखभन्दा बढी मानिसको ज्यान गएको थियो। त्यतिबेला हङकङमा मात्र यसले पाँच लाख मानिसको ज्यान लिएको थियो। जुन हङकङको जनसंख्याको १५ प्रतिशत हिस्सा थियो। 

एसियन फ्लू

सन् १९५६ बाट सुरु भएको एसियन फ्लूले करिब २० लाखको ज्यान लिएको थियो। यो इन्फ्लुएन्जा चीनको गुइझाउ प्रान्तमा सर्वप्रथम फेला परेको थियो। दुई वर्षभित्र यो सिंगापुर, हङकङ र अमेरिकासम्म पुगेको छ। अमेरिकामा मात्रै यसबाट झण्डै ७० हजारको ज्यान गएको थियो। 

स्पेनिस फ्लु 

सन् १९१८ देखि १९२० को बीचमा स्पेनिस फ्लू भनिने इन्फ्लुएन्जाको भयानक महामारी विश्वभर फैलिएको थियो। यद्यपि, यो स्पेनबाट आएको थिएन। यो भाइरसबाट विश्वको एकतिहाइ जनसंख्या संक्रमित भएको थियो। करिब ५ करोडभन्दा बढीको ज्यान गएको अनुमान गरिन्छ। यसको मृत्युदर पनि २० प्रतिशतभन्दा बढी थियो। 

अमेरिकामा सबैभन्दा पहिले कान्सासमा यो भाइरस देखापरेको थियो। पहिलो विश्वयुद्धका सैनिकहरु एकै ठाउँ बसिरहेकाले यो भाइरस अझ छिटो फैलिएको थियो। यसको विस्तार कति भयंकर थियो भने अढाई करोड मानिसको ज्यान त भाइरस फैलिएको २५ हप्ताभित्रै गइसकेको थियो। 

स्पेनिस फ्लूको संक्रमण हुनुअघिसम्म इन्फ्लुएन्जाले बालबालिका, रोगी र वृद्धवृद्धालाई मात्र मार्ने विश्वास गरिन्थ्यो। तर, यसले स्वस्थ युवाको ठूलो संख्यालाई ध्वस्त बनाइदियो। 

हैजाको महामारी

सन् १९१० र ११ मा हैजाबाट विश्वभर लाखौँ मानिसको ज्यान गयो। भारतको कलकत्तामा सुरु भएको यो महमारीले त्यसबेला भारतमा कम्तीमा आठ लाखको ज्यान लिएको थियो। पछि यो मध्यपूर्व, उत्तरी अफ्रिका, पूर्वी युरोप र अमेरिकासम्म पुगेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ३० देखि ५० लाख हैजाका नयाँ बिरामी देखापर्ने गर्छन्। जसबाट एक लाखभन्दा बढीको ज्यान बर्सेनि जाने गर्छ। 

रसियन फ्लू

सन् १८८९ मा यो महामारीले ३ लाख ६० हजारको ज्यान लिएको थियो। यो महामारी साइबेरियामा सुरु भएको थियो। त्यसपछि मस्को हुँदै कजाकस्तान, फिनल्यान्ड र पोल्यान्डसम्म पुगेको थियो। त्यसबाट पूरै युरोप, अफ्रिका र अमेरिकासम्म फैलिएको थियो। 

ब्ल्याक डेथ

१४ औँ शताब्दीको मध्यमा युरोप, अफ्रिका र एसियामा एउटा महामारी फैलिएको थियो। हालसम्मकै ठूलो महामारीका रूपमा परिचित ब्ल्याक डेथ भनिने यस महामारीले त्यसबेला विश्वको एकतिहाइ जनसंख्याको ज्यान लिएको थियो। त्यसबेला विश्वको जनसंख्या ४५ करोड रहेको अनुमान गरिएको थियो। तर, यो रोगले मात्रै कम्तीमा साढे सात करोड र बढीमा २० करोडको ज्यान लिएको अनुमान गरिन्छ। 

मुसाको शरीरमा बस्ने उपियाँले सारेको कीटाणुबाट यो रोग फैलिएको अनुमान गरिन्छ। त्यसबेला समुद्री किनारामा अवस्थित अनेकौँ बन्दरगाह र शहर महामारीबाट सबैभन्दा बढी प्रभावित भएका थिए। कतिपय शहरमा लाशको सद्गत गर्न सकिने अवस्था पनि थिएन। जसका कारण महिनौँसम्म लाश सडकमै सडिरहेका हुन्थे। 

यो महामारीका बेला बेलायत र फ्रान्स युद्धमा थिए। तर, महामारीबाट जनसंख्या नै कम हुन थालेपछि उनीहरुले युद्धविराम गरे। महामारीको फलस्वरूप बेलायतको सामन्ती व्यवस्था नै ध्वस्त भयो र त्यहाँका आर्थिक सम्बन्धमा निकै ठूलो परिवर्तन आयो। 

एजेन्सीको सहयोगमा कवि आचार्य 

प्रतिक्रिया