अमेरिकालाई हराउँदै भारत विश्वकपको सुपर–८ मा प्रवेश 

राम्रो अनलाइन     ३१ जेठ २०८१, बिहिबार
अमेरिकालाई हराउँदै भारत विश्वकपको सुपर–८ मा प्रवेश 


काठमाडौं– अमेरिकाविरुद्ध सात विकेटको जित निकाल्दै भारत समूह चरणको अन्तिम खेलअगावै आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ ।बुधबार न्यूयोर्कमा भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको १११ रनको लक्ष्य भारतले १८।२ ओभरमा तीन विकेट गुमााएर पूरा गर्‍यो ।

भारतको जितमा सूर्यकुमार यादवले अविजित ५० रन बनाए । उनले ४९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा भारतीय ब्याटरले बनाएको यो पहिलो अर्धशतकसमेत हो । १५–२ को अवस्थामा ब्याटिङका लागि आएको सूर्यले शिवम दुवेसँग ६७ रनको अविजित साझेदारी गर्दै भारतलाई जितसम्म डोहोर्‍याएका हुन् । दुवे ३१ रनमा अविजित रहे । ऋषव पन्तले १८ रन थपे । भारतका कप्तान तीन रनमा आउट हुँदा विराट कोहली भने गोल्डेन डक भएका थिए ।

अमेरिकाका सौरभ नेत्रावाल्करले दुई र अली खानले एक विकेट लिए । नेत्रावाल्कर भारतीय र खान पाकिस्तानी मूलका अमेरिकी खेलाडी हुन् । त्यसअघि टस हारेर फिल्डिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११० रनको योगफल खडा गरेको थियो ।

अमेरिकाका नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टेभन टेलरले २४, कोरी एन्डरसनले १५, स्याडेली भान स्कलक्वकले ११ र हर्मित सिंहले १० रन थपे ।

अमेरिकालाई सस्तैमा समेट्न भारतका अर्शदीप सिंहले चार विकेट लिए । चार ओभर बलिङ गरेका अर्शदीपले नौ रनमात्र खर्चिए । हार्दिक पन्ड्याले दुई र अक्षर पटेलले एक विकेट हात पारे ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको भारतले सुपर–८ मा स्थान पक्का गरेको हो । यसअघि पहिलो खेलमा भारतले आयरल्यान्डविरुद्ध आठ विकेटको र पाकिस्तानविरुद्ध ६ रनको जित निकालेको थियो ।

समान खेलबाट चार अंक जोडेको अमेरिका तालिकाको दोस्रो स्थानमा यथावत् छ । अमेरिकाले पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको र दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।

प्रतिक्रिया