काठमाडौं– कलाकार स्वस्तिमा खड्का नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज कर्णाली याक्ससँग जोडिएकी छन् । बुधबार हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले स्वस्तिमालाई ‘फेस अफ कर्णाली याक्स’ को रूपमा सार्वजनिक गर्यो ।

स्वस्तिमाले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पुर्याउने योजना ल्याएको छ । त्यसैको प्रभावले टोलीसँग जोडिएकी हुँ ।’ कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्ललगायतको उपस्थिति थियो ।
प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद रहेको र यसले क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे । ‘कलाकारिता क्षेत्रको भएर पनि उहाँ (स्वस्तिमा) क्रिकेटमा जोडिनु भएको छ । हामी खेलाडी र फ्यानमात्रै हैन । कलाकार पनि क्रिकेटमा जोडिँदा यस क्षेत्रको विकासमा मद्दत पुग्नेछ,’ मल्लले भने।

कार्यक्रमै कर्णालीले आफ्नो गीत पनि सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको स्वर, संगित र शब्द छ । कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् ।




