जनकपुर बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

राम्रो अनलाइन     २७ मंसिर २०८१, बिहिबार
जनकपुर बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

 

काठमाडौं–  जनकपुर बोल्ड्स नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुगेको छ। बिहीबार काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो। 

जितसँगै जनकपुरले ६ खेलबाट १० अंक पुर्‍यायो। जनकपुरले अब शनिबार लिगचरणको अन्तिम खेलमा चितवन राइनोजसँग खेल्नेछ। 

जनकपुरले विराटनगर किङ्स र कर्णाली याक्सलाई समान आठ विकेटले पराजित गरेको थियो। पोखरा एभेन्जर्सलाई सात विकेट र लुम्बिनी लायन्सलाई एक रनले हराउँदै चार खेलसम्म अपराजित यात्रा कायम राख्यो। तर, सुदूरपश्चिम रोयल्ससँग ७२ रनको फराकिलो हार बेहोर्‍यो।

काठमाडौंको भने लिगमा यो तेस्रो हार हो। दुई खेलबाट चार अंक पुर्‍याएको काठमाडौंले चितवनसँग पाँच विकेट र सुदूरपश्चिमसँग ७३ रनको हार बेहोरेको थियो। लुम्बिनीलाई १८ रन र कर्णाली याक्सलाई तीन विकेटले हराएको काठमाडौंको प्लेअफ पुग्ने सम्भावना यथावत नै छ।

 

प्रतिक्रिया