आगजनीले खण्डहर बनेको सिंहदरबारबारे केही जानकारी

राम्रो अनलाइन     ०३ असोज २०८२, शुक्रबार
आगजनीले खण्डहर बनेको सिंहदरबारबारे केही जानकारी

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो । सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ ।

यो राणाकालीन ऐतिहासिक सम्पदा हो । जहाँनिया राणा शासनमा नेपालमा निर्माण भएका धेरै संरचना निर्माणमा राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर राणाको योगदान रहेको थियो। सिंहदरबारको निर्माण पनि उनै राणा शासक चन्द्रशमशेरकै पालामा भएको थियो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । 

देव शमशेरलाई षड्यन्त्र गरेर लखेटेपछि विक्रम संवत १९५८ असार १० गते बुधबारका दिन चन्द्रशमशेरले नेपाल राज्यको पाँचौँ राणा प्रधानमन्त्रीको रूपमा सत्ता सम्हालेका थिए । सत्तामा आउनासाथ उनले आफ्नो लागि एउटा भव्य दरबारको आवश्यकता महसुस गरे । थापाथली दरबारमा बस्ने चन्द्रशमशेरले त्यतै वरपर दरबार भएमा राजकाज चलाउन सजिलो हुने चाहना राखेका थिए । कतिपय लेखमा चन्द्रशमशेरले सत्तामा आउनासाथ सिंहदरबार बनाउन लगाएको पाइन्छ । तर पुरुषोत्तम शमशेरको पुस्तक ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ का अनुसार प्रधानमन्त्री भएपछि चन्द्रशमशेरले सुरूमा सेतो दरबार वा लालदरबार किन्न खोजेका रहेछन् ।

हिमाल खबर पत्रिकामा भैरव रिसालले ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ पुस्तकलाई उधृत गर्दै लेखेका छन् –  चन्द्रशमशेरले सेतो दरबार र लालदरबार किन्ने कुरा मिलाउने जिम्मा डिल्ली शमशेर थापा र माइला पण्डित काशीनाथ आचार्य दीक्षितलाई दिएका थिए । उनीहरूले सुरुमा लालदरबारका मालिक तेज शमशेरसँग कुरा गरे । तेज शमशेर आफ्नो दरबार बेच्न राजी भए । उनले भनेका थिए, ‘महाराजलाई टक्य्राउन तयार छु, तर मेरो मुमाज्यूलाई कहाँ राखूँ’ ? तेज शमशेरकी वृद्धा आमालाई दरबारबाट निकालेर दरबार किन्ने कुरा चन्द्रशमशेरलाई चित्त बुझेन ।

यस्तै, सेतो दरबारका मालिक गेहेन्द्र शमशेरले पनि आफू दरबार बेच्न तयार रहेको तर  ‘महाराज मैले मागेको मोल दिन सकिबक्सन्छ ? ’ भनेर सन्देश पठाएछन् । सेतो दरबारको भाऊ उनले १० लाख रुपैयाँ भन्दा धेरै तोकेका थिए ।

लालदरबार र सेतो दरबार किन्ने योजना सफल भएन । त्यसपछि चन्द्रर शमशेरको लागि अरु राम्रा र ठूला दरबार खोज्ने क्रम चलिरह्यो । अहिले शङ्कर होटल रहेको जित शमशेरको दरबार र रुद्र शमशेरको चारबुर्जा दरबार पनि किन्न कुरा चल्यो तर मोल मिलेन ।

दरबार खोज्दा खोज्दा वाक्क भएपछि इन्जिनियर कुमार नरसिंह र कर्णेल किशोर नरसिंह राणा लगायतले चन्द्रशमशेरलाई नयाँ दरबार बनाउने सल्लाह दिए । उनीहरूले भनेका थिए, ‘महाराज, यिनी सोझाहरूको चित्त किन दुखाइबक्सन्छ । हुकुम भए वर्ष दिनमै लायकको नयाँ दरबार तयार पार्छौं ।’

एक÷दुई वर्षमै भएभरका दरबार भन्दा भव्य र सुन्दर दरबार बनाउने इन्जिनियरको प्रस्ताव चन्द्रशमशेरलाई मन पर्‍यो । त्यसपछि सुरु भयो सिंहदरबार बनाउने प्रक्रिया । सिंहदरबार तयार नहुञ्जेलको लागि चन्द्रशमशेरले थापाथली दरबारमै बस्ने निर्णय गरे । अहिले नेपाल राष्ट्र बैंकको कार्यालय रहेको भवन नै त्यो बेलाको थापाथली दरबार थियो ।
०००
भव्य दरबारको रूपमा निर्माण कार्य वि.सं. १९५८ सालमा सुरु भएको थियो  । यो दरबार विदेशी र स्वदेशी दरबार भन्दा फरक र मौलिक हुनेगरी डिजाइन गर्न श्री ३ चन्द्रशमशेरको उर्दी थियो । त्यसैले मौलिक डिजाइन गरियो  ।  सिंहदरबार निर्माण गर्दा चन्द्रशमशेरले आफ्नै नामका इँटा र तिनमा निर्माण गर्दाको साल पनि उल्लेख गर्न लगाएका थिए । उनको नाम र साल अंकित इँटाहरू नै सम्पूर्ण दरबार बनाउँदा प्रयोग भएको प्रष्ट छ । ‘श्री ३ चन्द्र कि जै’, ‘श्री ३ चन्द्र’ अनि साल अंकित इँटाहरूद्वारा सिंहदरबार निर्माण भएको छ ।

दरबारको लागि चाहिने काठ गोकर्ण वरपरका जंगलबाट काटियो । काठमा श्री ३ चन्द्र शमशेरको एक पैसा पनि खर्च भएन। काठको काम गर्ने सिकर्मी, गारोको काम गर्ने डकर्मीदेखि कुल्ली इत्यादि सम्पूर्ण कार्य सैनिक, पुलिस, पिपा र कैदीबाट सित्तैमा लगाइएको थियो। बीच–बीचमा राँगो खानेहरूलाई राँगो र खसी खानेहरूलाई खसी काटेर भोज खुवाइन्थ्यो ।

जसलाई  ज्यालामा काम लगाइयो, उनीहरूलाई दैनिक चार पैसादेखि छ पैसा भन्दा धेरै ज्याला दिइएको थिएन । सिंहदरबार बनाउँदा चन्द्रशमशमशेरले किला, काँटा रेलिङ, पाइप, फलाम आदिमा मात्रै खर्च गरेका थिए । यी वस्तु नेपालमा नपाइने भएकाले सोझै भारतबाट किन्नुपर्थ्यो । त्यतिबेला  सिंहदरबार बन्न ५० लाख  रुपैयाँ पनि खर्च भएको थिएन भनिन्छ । किनकि, कामदारको व्यवस्था र निर्माणमा लागेका धेरैजसो सामग्री निःशुल्क जुटाइएको थियो ।

रातदिन नभनी सयौँ कामदारले काम गरेर सिंहदबारको काम दुई वर्ष नहुँदै पूरा भयो । सहरको बीचमा ठडिएको भव्य भवन बडो शानको देखिन्थ्यो । एउटा लेखका अनुसार,  सिंहदरबार बन्न शुरु गर्नुअघि श्री ३ चन्द्रशमशेरले प्राइम् मिनिष्टर बस्न लायकको ठिकैको दरबार बनाउनुपर्ला भनेका थिए । तर, बनाउँदा बनाउँदै त्यो दरबार भयङ्कर ठूलो बन्यो । दरबारमा ९ ठूला चोकहरू थिए । सबै गरेर एक हजार वटा जति कोठाहरू थिए । प्रधानमन्त्रीको निजी र सरकारी निवास थियो । कार्यालयहरू पनि यसै परिसरमा बनाइयो ।

०००
वि.सं. १९६० सालको माघमा सिंहदरबारको निर्माणसहित फिनिसिङको काम पनि सकियो । पुरश्चरण, कोटीहोम, रुद्री इत्यादि अनेक कर्मकाण्ड गराएर श्री ३ चन्द्र आफ्नो पुरानो थापाथली दरबार अर्थात् सिंहमहलबाट सिंहदरबार सरे । त्यो दिन नेपाल राज्यमा ठूलो हर्षबढाईं गरिएको थियो । चोक चोकमा राँगा काटेर भोज खुवाइएको  र नाँचगान गरेको कुरा पुस्तकहरूमा पढ्न पाइन्छ । चन्द्रशमशेरले वि.सं. १९६० सालदेखि १९८६ सम्म २६ वर्ष यसैमा बसेर शासन गरेका थिए ।

दरबारको नाम कसरी सिंहदरबार रहन गयो भन्नेबारेमा पनि रमाइलो कहानी छ । दरबार बनिसकेपछि एक दिन चन्द्रशमशेर जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीसँग दरबारको कौसीमा पुगेका थिए । चन्द्रशमशेरले कौसीबाट ‘बागदरबार’ देखेकाले औँल्याउँदै ‘ऊ बागदरबार’ भनी लोकभक्तलाई देखाए । लोकभक्त लक्ष्मीले ‘महाराज, त्यो बागदरबार हो भने यो दरबारलाई सिंहदरबार भन्न कसो होला ? भनेर प्रश्न गरिन् । चन्द्रशमशेरले मुसुक्क हाँस्दै  नयाँ दरबारको नाम ‘सिंहदरबार’ राखिदिए ।
०००

धेरै विकास निर्माण गरेर र राम्रा काम गरेर जनताको मन जितेका चन्द्रशमशेरले  सिंहदरबार  राज्यलाई बेचेर २ करोड रुपैयाँ खल्तीमा हालेपछि भने आलोचित बनेका थिए । सिंहदरबार बनाउँदा जम्मा ५० लाख रुपैयाँ खर्च भएको अनुमान थियो । तर उनले २ करोड रुपैयाँमा बेचेर राज्यको ढूकुटीमाथि धावा बोलेका थिए ।

दरबारमा सरेको केही दिनमै चन्द्रशमशेरले भारदारी सभा गठन गरी सभा समक्ष ‘अबदेखि जो श्री ३ महाराज हुन्छ ऊ यो सिंहदरबारमा बस्न पाउनेछ । तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजैदेखि बेचेँ’ भनेछन् । जङ्गबहादुर राणाले प्रकोप आदिका कारण देश सङ्कटमा परेमा काम लाग्छ भनेर सरकारी ढुकुटीमा ११ करोड रुपैयाँ राखेका रहेछन् । तर त्यही ढुकुटीबाट चन्द्रशमशेरले २ करोड रुपैयाँ झिकेर लगेका थिए ।

चन्द्रशमशेरले एकातिर सिंहदरबार सरकारलाई बेचेको घोषणा गरे र २ करोड रुपैयाँ कुम्लाए, अर्कातिर दरबारलाई प्रधानमन्त्री निवास बनाए । आफू त्यहीँ बसे। चन्द्र शमशेरको २९ वर्षे शासनकालमा २६ वर्ष सिंहदरबारमै बित्यो । वि.सं. १९८६ सालको मंसिरमा उनको मृत्यु सिंहदरबारमै भयो । त्यसपछि भीम शमशेर प्रधानमन्त्री भएर टंगालदरबारबाट सिंहदरबारमा सरे । त्यसपछिका प्रधानमन्त्री जुद्धशमशेर पनि प्रधानमन्त्री भएपछि सिंहदरबार नै सरे । 

प्रजातन्त्रको माग गर्ने  दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको मुद्दाको सुनुवाइका लागि सिंहदरबारमै विशेष अदालत गठन गरी उनीलाई मृत्युदण्डको फैसला भएको थियो। जुद्धशमशेरपछिका प्रधानमन्त्री पद्म शमशेर भने सिंहदरबारमा सरेनन्, आफ्नै विशालनगर दरबारमा बसे।
चन्द्र शमशेरले सिंहदरबार बिक्री गर्दा ‘जो श्री ३ महाराज हुन्छ, उ नै सिंहदरबारमा बस्छ’ भन्ने नियम बनाएका थिए । तर यो नियम उनैका छोरा मोहन शमशेरले तोडे । २००४ फागुन १८ गतेका दिन पद्मशमशेर औषधि उपचार गर्न भारततर्फ लागपछि, ‘मुख्तियारी’ को रुपमा मोहनशमशेर सिंहदरबारमा सरेका थिए ।  

महाराज तथा प्रधानमन्त्री नबन्दै सिंहदरबारमा सरेको भन्दै उनको आलोचना भएको थियो । नेपालमा प्रजातन्त्र बहालीपछि २००९ फागुन ७ गते सिंहदरबार तत्कालीन ‘श्री ५ को सरकार’को स्वामित्वमा आयो र मोहनशमशेरलाई सिंहदरबार छाड्नुपर्ने आदेश दिइयो। त्यसपछि मोहनशमशेर महाराजगञ्जको आफ्नै भवन लक्ष्मी निवासमा फिर्ता गए। त्यतिबेलादेखि सिंहदरबार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो र अहिले नेपाल सरकारको मुख्यालयका रुपमा रहिरहेको छ ।
०००
वि.सं. २०३० सालको असार २५ गते सिंहदरबारमा ठूलो विपत्ति आइलाग्यो । राति ९ बजेतिर सुरु भएको आगलागिले  नेपालको ऐतिहासिक सिंहदरबार लगभग ध्वस्त भयो। आगलागी हुँदा मानवीय क्षति नभए पनि निकै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए। आगलागी  नियन्त्रणमा आउन नसक्ने देखेपछि अगाडिको भागमात्रै भएपनि बचाउनका लागि तोप हानेर पछाडिको भाग भत्काइयो, अग्रभाग जोगाउन सेनाहरू सफल भए ।

नेपाल म्यागेजिनमा इश्वरी ज्ञवालीले पूर्व प्रधानमन्त्री स्व।कीर्तिनिधि विष्टसँग कुराकानी गरेर लेखेको संस्मरणमा भनिएको छ – ‘राती त्यस्तै १० बजेको हुँदो हो। एकाएक ‘विद्युत् सर्ट’ भएर आगलागी भएको मलाई बताइयो । म बालुवाटारबाट मोटर टिपेर हिँडिहालेँ। तत्कालीन नाचघर अर्थात् राष्ट्रिय पञ्चायत भवनमा पुगेर आगलागीको त्यो दृश्य हेररिहँदा मेरा आँखा थामिएनन् । सिंहदरबारमा लागेको त्यो आगोको राप पुतलीसडक, थापाथली, बानेश्वर, घट्टेकुलो र भद्रकालीसम्म पुगेको थियो।’ बिहान हुँदा नहुँदै राजा वीरेन्द्र रानी ऐश्वर्यका साथ त्यहाँ पुगेका थिए । नेपाली सेनाको बहादुरी र साहसकै कारण सिंहदरबारको अग्रभाग ध्वस्त हुनबाट जोगाउन सम्भव भएको थियो ।

कतिपयले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित धेरै महत्त्वपूर्ण कागजपत्र भएकाले षड्यन्त्र रचेर सिंहदरबारमा आगलागी गराइएको आरोप पनि लगाउँछन्। केहीले भने कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट निकाल्न त्यस्तो षड्यन्त्र रचिएको पनि भन्छन्।

वि.सं.२०७२ सालको भूकम्पले सिंहदरबारलाई फेरि धक्का दियो । भूकम्पले दरबार नढाले पनि पश्चिमी मोहडा नराम्रोसँग चर्कायो । सरकारले तीन वटा मोहडासहित मुख्य भवन प्रवलीकरण गरेको थियो। करोडौँ खर्च लगाएर प्रवलीकरण गरेको सिंदरबार पहिलेको जस्तै भव्य देखिएको थियो । प्रधानमन्त्री कार्यालय प्रवलीकरण गरिएको भवनबाट सञ्चालनमा भइरहेको थियो। आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार डढेलो लागेपछिको उराठलाग्दो जंगलजस्तो भएको छ । 

 

 

प्रतिक्रिया