काठमाडौँ–नेपाली चलचित्र ‘धागो’ को ‘ट्रेलर’ सार्वजनिक गरिएको छ । आज सार्वजनिक ट्रेलरमा मुख्यगरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ ।
यस्तै, सङ्घर्षका क्रममा सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छभने सन्तानको सपना र इच्छा पूरा गर्न गरिने हरेक मातापिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । विछोडको पीडालाई पनि ट्रेलरले समेटेको छ ।
गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिनका लागि केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ । उदीप राणा थापा निर्देशित यो चलचित्र नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ । यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिविम्बित गर्ने निर्देशकले बताए।
चलचित्रमा अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छभने उनीसँगै अभिनेत्री वर्षा राउत, कलाकारमा प्रभात थापा, शुरभी थापा, बुद्धि तामाङ, सुनील थापालगायतले अभियन गरेका छन्।
चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले गरेको हो । निर्माण टोलीमा उमा थापा, उत्तम थापा र उदीप थापा रहेका छन् । चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम घोघले गरेका छन्।
चलचित्र ‘धागो’ कात्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलमा एकसाथ ‘रिलिज’ हुने तयारीमा छ । नेपालमा यस फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।