हेटौँडामा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो निष्क्रिय

राम्रो अनलाइन     ०५ फागुन २०८२, मङ्गलबार
हेटौँडामा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो निष्क्रिय

हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६,चिसापानीस्थित धरान–चतरा सडकखण्डमा मंगलबार (फागुन ५) बिहान देखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।

बिहान करिब सवा ५ बजे प्रहरीको गस्ती टोलीले सडकको बीचभागमा सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखेको थियो । त्यसपछि उक्त क्षेत्र घेराबन्दी गरी आवतजावत रोकिएको थियो ।

सेनाको टोलीसँग समन्वय गरी बिहान सवा ८ बजेतिर उक्त शंकास्पद वस्तु ‘डिस्पोज’ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डिस्पोजपछि अवस्था सामान्य भएको र हाल त्यहाँ सवारीसाधन नियमित सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु फेला परेसँगै हेटौँडासहित जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । उक्त वस्तु कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया