मुलुकको समृद्धिका लागि एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान

राम्रो अनलाइन     ११ चैत २०८२, बुधबार
मुलुकको समृद्धिका लागि एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गरेका छन् ।

निर्वाचन आयोग नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा पौडेलले सो कुरा बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सो कामका सबैले ध्यान दिने बेला आएको बताए ।

निर्वाचनमा प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको पनि उनको भनाइ छ । राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व जनप्रतिनिधिहरूको काँधमा आएको बताए । राष्ट्र निर्माणको साझा लक्ष्यमा सबैको एउटै मत हुने उनको विश्वास छ ।

यस्तो छ राष्ट्रपति पौडेलको भनाइ?

लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान उत्सवमा नेपाली  नागरिकले देखाउनुभएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनर्पुष्टि गरेको छ । र, संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ । मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ । निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिहरूको काँधमा आएको छ । लोकतन्त्रमा मत फरक हुन सक्छन् । तर, राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु । संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न म यस अवसरमा सबैमा हार्दिक आह्वान पनि गर्दछु ।

प्रतिक्रिया