५५० पत्रकारलाई संक्रमण, सातको निधन

राम्रो अनलाइन     २० वैशाख २०७८, सोमबार
५५० पत्रकारलाई संक्रमण, सातको निधन

काठमाडौँ, २० वैशाख : कोभिड—१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ ।  नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको  दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए । 

सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गरेका छन् ।  

 विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ । 
“कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ । यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ ।”
यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसंँग माग गरेको छ ।


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९)  को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या३ लाख ४३ हजार ४१८  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

प्रतिक्रिया