साताको पहिलो दिन नेप्से परिसूचक ३३ अंकले घट्यो

राम्रो अनलाइन     ०२ फागुन २०७७, आइतबार

साताको पहिलो एवं महिनाको समेत पहिलो दिन सेयर बजारमा पहिरो गएको छ । राताम्मे बनेको बजार आइतबार खस्किएको हो । यससँगै नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेको छ ।

केही समय लगातार रेकर्ड ब्रेक गरेको परिसूचक केही दिन यता लगातार खस्किएको हो । आइतबार नेप्से २ हजार ४९३ अंकमा झरेको छ । यस्तै केही दिन अघि लगातार १० अर्ब नाघेको कारोबार रकम आइतबार ७ अर्ब पनि पुग्न सकेन ।

दिनभर भएका भएका ५८ हजार ३ सय ९ कारोबारबाट २०२ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ भन्दा बढी भएको छ ।

आइतबार धेरै गुमाउनेमा लघुवित्त कम्पनीहरु धेरै देखिएका छन् । यो समूहको सब इन्डेक् १ दशमलव ८३ अंकले ओरालो लागेको छ । धेरै गुमाउनेको पहिलो नम्बरमा सपोर्ट माइक्रोफाइनान्स देखिएको छ । जसको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ । दोस्रोमा स्वाभिमान लघुवित्तको सेयर मूल्य धेरै घटेको छ ।

त्यस्तै सबभन्दा बढी कमाउनेमा आजबाट कारोबार सुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । बैंकको सेयर कारोबार ३४० मा खुलेर ३७४ मा बन्द भएको छ ।

 

प्रतिक्रिया