भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ। उनी भागरथीको छिमेकीसमेत हुन् ।
घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो। आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ। भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ।
‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन्। बुधबार उनलाई सार्वजनिक गर्दै छौँ,’ सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले भने ।
स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन्। अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो।
(नयाँ पत्रिकाबाट)