वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस

राम्रो अनलाइन     ०७ असार २०८०, बिहिबार
वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस


काठमाडौँ–आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन ।  

 त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।  

ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए । 

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक÷एक विकेट लिए । नेपाललाई उक्त प्रतियोगिताको सुपर सिक्समा पुग्नका लागि वेस्ट इन्डिजविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । 

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ । 
 

प्रतिक्रिया