डेब्यू खेलमा नेपाल पाकिस्तानसँग पराजित

राम्रो अनलाइन     १३ भदौ २०८०, बुधबार
डेब्यू खेलमा नेपाल पाकिस्तानसँग पराजित

 

काठमाडौं– एसिसी एसिया कपको उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार ब्यहोरेको छ । मुल्तान अन्तर्राष्ट्रिय क्रिकेटर रंगशालामा ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमै समेटियो । 

नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशललाई पहिलो ओभरको पाँचौं बलमा शहिन शाह अफ्रिदीले व्यक्तिगत आठ रनमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याच गराए । कुशलले चार बलमा दुई चौका प्रहार गरे ।

लगत्तैको बलमा कप्तान रोहितकुमार पौडेल एलबिडब्लुको धरापमा परे । १.४ ओभरमा नेपालले अर्का ओपनर आसिफ शेखलाई गुमायो । आसिफलाई व्यक्तिगत पाँच रनमा नसिम शाह इफ्तिकर अहमेदबाट क्याच गराए । उनले पाँच बलमा एक चौका प्रहार गरे । १४.४ ओभरमा आरिफ शेखलाई हरिस रौफले व्यक्तिगत २६ रनमा बोल्ड गराए । ३८ बलको सामना गरेका आरिफले पाँच चौका प्रहार गरे ।

सोमपाल कामी १७ औं ओभरमा २८ रन बनाएर आउट भए । ४६ बलमा चार चौका प्रहार गरेका सोमपाललाई रौफले  विकेटकिपर मोहम्मद रिजवानबाट क्याच गराए । चौथो विकेटका लागि सोपाल र आरिफले ५९ रनको साझेदारी गरेका थिए ।

२०.५ ओभरमा दीपेन्द्रसिंह ऐरीलाई व्यक्तिगत तीन रनमा मोहम्मद नवाजले बोल्ड गराए । २१।३ ओभरमा गुल्सन झा १३ रन बनाएर आउट भए । २३ बलमा एक छक्का प्रहार गरेका गुल्सनलाई सदाब खानले फखर जमानको हातबाट क्याच गराए ।

२१.५ ओभरमा सादबले सन्दीप लामिछानेलाई खाता पनि खोल्न नपाई बोल्ड गराए । २३.२ ओभरमा चार बलको सामना गर्दै एक छक्काको मद्दतमा ६ रन बनाएका कुशल मल्ल आउट भए । उनलाई सादबले इफ्तिकर अहमेदबाट क्याच गराए । २३.४ ओभर सादबले ललितनाराण राजवंशीलाई बोल्ड गराए । करण केसी ६ बलमा एक चौकाको मद्दतले  सात रनमा अविजित रहे ।

पाकिस्तानका लागि सादब खानले चार, शहिन शाह अफ्रिदी र हरिस रौफले समान दुई तथा निसम शाह र मोहम्मद नवाजले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३ सय ४२ रनको योगफल तयार पारेको थियो

पाकिस्तानका लागि विश्व वरियताका नम्बर एक ब्याटर कप्तान बाबर आजमले १ सय ३१ बलमा १ सय ५१ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको १९औं शतक हो । बाबरलाई दुई बल बाँकी छँदा सोमपालले बलमा सन्दीप जोराबाट क्याच गराए ।

यसैगरी इफ्तिकर अहमेदले ७१ बलमा अविजित १ सय ९ रनको योगदान दिए । इफ्तिकरले करिअरकै उच्च रन बनाएका हुन् । यसअघि न्युजिल्यान्डविरुद्ध उनले ९४ रन बनाएका थिए । बाबर र इफ्तिकरले चौथो विकेटको लागि एक सय ३० बलमा  २ सय १४ रनको साझेदारी गरे।

नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले ५.३ ओभरमा विश्व नम्बर एक बरियताका ओपनर फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका हुन् । फखरले २० बलमा तीन चौकाको मद्दतान १४ रन बनाएका थिए ।

६.१ ओभरमा पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का ओपनर इमान उल हकलाई गुमायो । हक व्यक्तिगत पाँच रन बनाएर रन आउट भए । नेपालका कप्तान रोहितकुमार पौडेलले हकलाई सिधा रन आउट गराएका हुन् । फखर र इमामले पहिलो विकेटको लागि २१ रनको साझेदारी गरे । 

तेस्रो विकेटको रुपमा पाकिस्तानले अनुभवी मोहम्मद रिजवानलाई गुमायो । ५० बलमा ४४ रन बनाइरहेका रिजवानलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रन आउट गराए । 

रिजवान र बाबरले तेस्रो विकेटलको लागि एक सय ७ बलमा ८६ रनको साझेदारी गरेपछि पाकिस्तान बलियोस्थितिमा पुगेको थियो  । चौथो विकेट स्पिनर सन्दीप लामिछानेको नाममा रह्यो । सन्दीपले १४ बलमा पाँच रन बनाएर खेलिरहेका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच गराए । नेपालका सोमपालले दुइ तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

नेपालले यसै खेलमार्फत एसिया कपमा डेब्यू गरेको छ । नेपालले गत बैशाखमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कप खेलेको हो। नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानको सामना गरेको हो । पाकिस्तान हाल आइसिसी एकदिवसीय वरियाताको शीर्ष स्थानमा छ ।

सन् १९८४ बाट सुरु भएको एसिया कप खेल्ने नेपाल आठौं राष्ट्र हो । यसअघि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) ले एसिया कप खेलेका थिए । नेपालले दोस्रो खेलमा सोमबार भारतको सामना गर्नेछ । यो खेल श्रीलंकामा हुनेछ ।

प्रतिक्रिया