गीति नाटकमार्फत् फिल्म  ‘परदेशी २’ को प्रचार

राम्रो अनलाइन     १३ असोज २०८०, शनिबार
गीति नाटकमार्फत् फिल्म  ‘परदेशी २’ को प्रचार


गण्डकी–परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ । 

फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए । विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनको भनाइ छ ।

फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गराएको थियो । फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि फिल्म प्रवद्र्धनमा सक्रिय छन् । सपूत अध्ययनका लागि विदेशिएको युवाको भूमिका फिल्ममा देखिँदै छन्। 

नारायणगढ, नेपालगञ्ज र बुटवलमा प्रचारात्मक कार्यक्रम भइसकेको निर्देशक रायमाझीले बताए । पोखरापछि पूर्वी नेपालका विभिन्न सहरमा फिल्मको टिम पुग्ने जनाइएको छ । बडादसैँको छेकोमा प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ सपूत अभिनित पहिलो फिल्म हो । 

गायन करिअरको शिखरमा रहेकै बेला सपूत ‘परदेशी २’बाट नायकका रुपमा उदाउँदै छन् । अभिनेत्री अधिकारीको अभिनय यात्रामा भने यो ३३ औँ फिल्म हो । पहिलोपल्ट ‘हिरो’ का रुपमा ठूलो पर्दामा आउँदा दङ्ग र उत्साहित रहेको सपूतले बताए।

‘नायकका रुपमा यो मेरो परीक्षा हो, सुरुमै ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेलमा अभिनय गर्न पाउनु आफैमा सुखद् कुरा हो’, उनले भने, ‘अहिले फिल्मको प्रचारका क्रममा दर्शकहरु भेटिरहेका छौँ, राम्रो प्रतिक्रिया आइरहेको छ ।’

विद्यालय र कलेज केन्द्रित प्रवद्र्धनको कार्यक्रमले नयाँ पुस्तालाई फिल्मप्रति अभिरुचि जगाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । नायिका केकी अधिकारीले मौलिक कथामा राम्रो फिल्म बनेको बताउनुभयो । आफ्नो फिल्म करिअरमा ‘परेदशी २’ले विशेष अर्थ राख्ने उनले उल्लेख गरे । 

‘परदेशी २ नेपाली परिवेश र जनजीवनको कथा हो, फिल्म राम्रो बनेको छ, दर्शकको साथ पाउनेमा हामी ढुक्क छौँ’, उनले भने । शुक्रबार नायक सपूतको गृहजिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर शोसमेत राखिएको थियो । जिल्लावासीले बाजागाजासहित उहाँलगायत फिल्मका कलाकारलाई विशेष स्वागत गरेका थिए । 

उनले ‘परदेशी २’ को प्रर्दशनपछि मात्र फिल्म निर्देशन र अभिनयमा विषयमा थप निर्णय लिने बताए । सपूतले यसअघि आफ्नै कथा र निर्देशनमा फिल्म बनाउने सङ्केत गर्नुभएको थियो । उनका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’लगायत गीत चर्चित छन् । 

गायकका रुपमा ख्याती आर्जन गर्नुभएका सपूतलाई फिल्म फाप्छ या फाप्दैन त्यो त हेर्न बाँकी नै छ । रायमाझीको निर्माण तथा निर्देशनमा यसअघि बनेको फिल्म ‘परदेशी’ व्यावसायिकरुपमा सफल भएको थियो । सोही फिल्मको सिक्वेलका रुपमा ‘परदेशी २’ निर्माण गरिएको हो । 

फिल्ममा सपूत र अधिकारीसँगै वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायत कलाकारको अभिनय रहेको छ । नारायण रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्मका नेपालसहित भारत र अमेरिकामा छायाँकन गरिएको जनाइएको छ । 

प्रतिक्रिया