जनकपुर – आज देशभर राम–सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज विवाह पञ्चमी मनाउन लागिएको हो।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
मिथिलावासीहरूले प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ। विशेष गरि जनकपुरमा आजको दिन ठुलै उत्सव लाग्छ, सागरहरू छेउमा आरती गरिन्छ, राम जानकी मन्दिर धूमधामले सजाइन्छ अनि साँझमा आरतीहरू मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनहरूको कीर्तिको गुणगान गाइन्छ। महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ।
त्यसैगरी, यो विवाह महोत्सव अपराह्नको समयमा गरिन्छ तर बिहानैदेखि राम जानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरूमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ। उत्सवमा बाजागाजा, झाँकी, भजन कीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको भक्तजनको घुइँचो लाग्ने गर्दछ। राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरूलाई बाजागाजा सहितको र्यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ।
आजको दिन कसैले विवाह गर्ने योजना बनाएको छ भने साइत देखाउन पर्दैन किनभने आज पौराणिक रूपमा विवाहमैत्री दिन हो।
विवाहपञ्चमी मनाउनका लागि आज मधेस प्रदेस सरकारले सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम सार्वजनिक बिदा उल्लेख गरेको छ ।
विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचनाको प्रकाशन गरिएको मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी पत्रमा उल्लेख छ।