अनावश्यक कमेन्ट र मेसेज गर्नेविरुद्ध सनिशाले कानूनी उपचार खोज्ने

राम्रो अनलाइन     २२ भदौ २०८३, सोमबार
अनावश्यक कमेन्ट र मेसेज गर्नेविरुद्ध सनिशाले कानूनी उपचार खोज्ने

काठमाडौं–अभिनेत्री सनिशा भट्टराईले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी भइरहेको भनिएका अनावश्यक कमेन्ट, म्यासेज तथा आपत्तिजनक गतिविधि तत्काल रोक्न आग्रह गरेकी छन् ।

अन्यथा कानुनी प्रक्रिया अघि बढाउने उनको चेतावनी छ ।

सामाजिक सञ्जालमार्फत अपिल गर्दै भट्टराईले पछिल्लो केही महिनादेखि एक व्यक्तिबाट यस्ता गतिविधि निरन्तर भइरहेको उल्लेख गरेकी छन् । आफ्ना व्यक्तिगत अकाउन्टबाट ब्लक गरेपछि पनि पटक–पटक नयाँ अकाउन्ट बनाएर सम्पर्क र कमेन्ट गर्ने तथा आफूसँग सम्बन्धित समाचार, पोस्ट र अन्य सार्वजनिक सामग्रीमा समेत उस्तै प्रकृतिका टिप्पणी गर्ने गरिएको उनको भनाइ छ ।

विभिन्न अकाउन्ट एउटै व्यक्तिसँग सम्बन्धित हुनसक्ने देखिए पनि त्यसको वास्तविकता सम्बन्धित निकायको अनुसन्धानबाट मात्रै पुष्टि हुन सक्ने उनले स्पष्ट पारेकी छन् ।

भट्टराईले सम्बन्धित व्यक्तिलाई यस्ता गतिविधि तत्काल बन्द गर्न आग्रह गर्दै पुनः दोहोरिएमा कमेन्ट, म्यासेज, अकाउन्टलगायत डिजिटल प्रमाण सुरक्षित राखेर साइबर अपराध अनुसन्धान निकाय तथा कानुनी प्रक्रियामार्फत आवश्यक कारबाही अघि बढाउने बताएकी छन् ।

गतिविधि रोकिए विषय यहीँ समाप्त हुने, अन्यथा आफ्नो अधिकार र सुरक्षाका लागि कानुनी बाटो रोज्ने उनको भनाइ छ ।

प्रतिक्रिया