काठमाडौँ–बालसाहित्य समाजले श्रीपञ्चमीका अवसरमा वृहत् राष्ट्रिय बाल महोत्सव आयोजना गर्ने भएको छ ।
ललितपुुरको पाटन सङ्ग्रहालय परिसरमा आगामी माघ ९ देखि ११ गतेसम्म हुने महोत्सवमा काठमाडौँ उपत्यकाका निजी र सामुदायिक विद्यालयका एक हजार भन्दा बढी विद्यार्थी सहभागी हुने समाजका अध्यक्ष बिजयराज आचार्यले बताए।
ललितपुुर महानगरपालिका, पाटन सङ्ग्रहालय, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशज (प्याब्सन) र नेशनल प्याब्सनलगायतका संस्थाको सहआयोजना रहने महोत्सवमा पठन संस्कृति, सम्पदा र शिक्षा, पर्यटन र प्रविधिका साथै बालबालिकासम्बन्धी विभिन्न बहस हुनेछन् । साथै पुस्तक र चित्रकला प्रदर्शनीसमेत हुने अध्यक्ष आचार्यले जानकारी दिए। महोत्वस हुनु अगाडि उपत्यकाका ६० निजी र सामुदायिक विद्यालयका एक सय २० बालबालिकालाई बालकथा लेखन कार्यशालासमेत आयोजना गरिने उनले जनाए।
महोत्सव आयोजनाका लागि बालसाहित्य समाजका कोषाध्यक्ष यशोदा अधिकारीको संयोजकत्वमा ललितपुुर महानगरपालिको बालकल्याण शाखा प्रमुुख सरिता महर्जन, प्याब्सन, ललितपुरका अध्यक्ष अर्जुन महर्जन, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली, रातो बंगला किताबकी मनिता गुुरुङसम्मिलित समिति गठन गरिएको छ । यस्तै साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, समाजका अध्यक्ष आचार्य र वरिष्ठ बालसाहित्यकार प्रमोद प्रधानलगायत रहेको सल्लाहाकार समिति गठन गरिएको छ ।