भलिबलकी अरुणा र फुटबलका विराज सर्वोत्कृष्ट खेलाडी

राम्रो अनलाइन     १८ फागुन २०७८, बुधबार
भलिबलकी अरुणा र फुटबलका विराज सर्वोत्कृष्ट खेलाडी

 

काठमाडौँ– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड पाएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार गोदावरीमा आयोजना गरको १६औँ एनएनआइपिए स्पोर्ट्स अवार्डमा अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । अवार्ड सहित दुवैले जनही एक लाख रुपियाँ पुरस्कार पाए ।

अवार्डमा नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध २७ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो । सम्बन्धित संघको सिफारिसको आधारमा उत्कृष्ट खेलाडी र सोहीमध्येबाट दुई जनालाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो ।

उत्कृष्ट खेडालीहरुमा आर्चरीकी ज्ञानु अवाले, एथलेटिक्सका किरणसिंह बोगटी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बक्सिङकी सुस्मा तामाङ, बास्केटबलकी सदिना श्रेष्ठ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की, गल्फका करिष्मा शाह, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अन्जना चन्द, जिम्न्यास्टिकका रोशन बुढाथोकी, करातेका विप्लभ श्रेष्ठ र राफ्टीङ एन्ड क्यानोइङका सुमन तामाङ छन् ।

यसैगरी जुडोकी सुमित्रा राई, स्कीका सफलराम श्रेष्ठ, पौडीका अनुभव सुब्बा, सुटिङका कृष्ण थापा, कवड्डीका नागेश्वर थारु, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, ट्राइथोलनका हिमाल टमाटा, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका विराज महर्जन, भलिबलकी अरुणा शाही, भारोत्तोलनकी कमला श्रेष्ठ, उसुकी निमा घर्तीमगर र कुस्तीका सुरेश चुनारा उत्कृष्ट खेलाडी चुनिनु भयो । उत्कृष्ट सबैले जनही १० हजार रुपियाँ पुरस्कार पाए ।

हिमेशलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार

संघले खेलपत्रकार हिमेशरत्न बज्राचार्यलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार प्रदान गरेको छ । बज्राचार्यलाई कदरपत्र सहित २५ हजार रुपियाँबाट सम्मान गरिएको हो । यसैगरी संघले एथलेटिक्सका पूर्व प्रशिक्षक ओलम्पियन पुष्पराज ओझालाई गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित गरेको छ । पुष्पराजलाई अवार्ड सहित ३५ हजार रुपियाँ प्रदान गरियो । तेक्वान्दोकी पार्वती गुरुङ र ट्राइथोलनका हिमाल टमाटा एनएआइपिए प्रतिभाशाली खेलाडी घोषित हुनुभयो । दुवैलाई अवार्ड सहित जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

ब्याडमिन्टनको जुनियरतर्फका नम्बर एक खेलाडी प्रिन्स दाहाल र दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता निमा घर्तीमगर एनएनआइपिए उदियमान खेलाडी घोषित भए । उनीहरुले पनि जनही ५० हजार रुपैयाँ  पाए । पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन उत्कृष्ट पारा खेलाडी घोषित हुनुभयो । ओलम्पियन पलेसाले १० हजार रुपियाँ पुरस्कार पाए ।

संघले एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई एनएनआइपिए विशेष सम्मान प्रदान गरिएको छ । विजेतालाई युव तथा खेलकुद मन्त्री महेश्वरजंग गहजराज लगायतले पुरस्कार प्रदान गरेका थिए ।

 

प्रतिक्रिया