चरित्र निर्माणमा नयाँ पुस्ताको मेहनत

राम्रो अनलाइन     २० साउन २०८०, शनिबार
चरित्र निर्माणमा नयाँ पुस्ताको मेहनत


काठमाडौँ–कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कालाकारले गरिरहेको मेहनतको चर्चा हुन् थालेको छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाच्न थालेका छन् । ‘डिजिटल प्लेटफर्म’ हरुको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने, अध्ययन गर्ने शैली अधिकांश नयाँ पिँढीका कलाकारमा देखिन थालेको छ ।

प्रायः चलचित्रमा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’ को आरोप खेपिरहेका नयाँपुस्ताका कलाकार भने मेहनती देखिने गरेका छन् । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा देखिनुभएका कलाकार सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, प्रमोद अग्रहरीलगायतले आफ्नो चरित्र निर्माणमा गरेको मेहनत नयाँ पुस्तामा समेत देखिएको छ । 

यद्यपि उल्लेखित नामलाई बढी व्यावसायिक बनिरहेको आरोप पनि लाग्ने गरेको छ । गत वर्ष प्रदर्शन भएका चलचित्र ‘छड्के २’ मा अभिनेता अनमोल केसी ग्याङगस्टर, ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्का जुम्लाको गाउँले भूमिकामा देखिए । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक खोजिने दुई युवापुस्ताका अभिनेताले आफ्नो भूमिकामार्फत देखाउनु भएको परिवर्तनको राम्रै चर्चा भयो । यद्यपि व्यावसायिक सफलता भने प्राप्त हुन् सकेन । 

आफूलाई स्टारडमको छायाँबाट बाहिर आएर जुम्ली युवक बनेपछि पात्रको विविधतासँग परिचित भएको महसुश अभिनेता खड्कालाई छ । उनी सोही चलचित्रमार्फत उत्कृष्ट अभिनेताको अवार्डसमेत जित्न सफल भए । ‘नयाँ भूमिका खोज्दा प्रकाश पाएँ, चरित्रमा देखिन मैले सक्दो प्रयास गरेको थिएँ, यस्ता चलचित्रमा बारम्बार काम गर्ने मौका मिल्दैन, सदुपयोग गरेको हुँ’, अभिनेता खड्काले भने । 

गत वर्ष नै प्रदर्शन भएको चलचित्र ‘झिँगेदाउ’ मा अभिनेत्री आँचल शर्माले गाउँले युवतीको भूमिका, ‘बाबरी’ मा अभिनेता धीरज मगरले पूर्वेली युवक, ‘कृष्ण लीला’ मा अभिनेता पुष्प खड्काले अटिजम पीडित युवाको भूमिका निर्वाह निर्वाह गरेका थिए । 

नयाँ पुस्ताले चरित्र निर्माण गरिरहेको मेहनत सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताए । ‘स्टारलाई हेर्न दर्शक हलसम्म आउनुहुन्छ, उनीहरुले चरित्रमा गर्ने मेहनतले लामो समयसम्म जोगाउँछ’, निर्देशक भट्टराईले भने ।

प्रदर्शनरत चलचित्र ‘बगान’ मार्फत अभिनयको सुरुआत गर्नुभएकी अभिनेत्री प्रमिला कार्कीले आफूलाई प्रमाणित गरेकी छिन् । चलचित्रको आयोजित प्रदर्शनीमा हेर्न पुग्नुभएका विशिष्ट व्यक्तिले समेत उनको अभिनय प्रशंसा गरेका छन् । ‘आफूभन्दा अग्रज कलाकारसँग अभिनय गर्दा उनको अनुभवले मलाई चरित्रमा रहन मदत गरेको थियो, पर्दामा आफ्नो काम हेर्दा खुसी भए नै साथै प्राप्त प्रतिक्रियाले मलाई आगामी यात्रा तय गर्न सहज भएको छ’, अभिनेत्री कार्कीले भनिन्। 
 

प्रतिक्रिया