एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

राम्रो अनलाइन     २७ चैत २०८२, शुक्रबार
एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार (चैत २७) एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्ने भएको हो । नयाँ सरकार बनेको दुई साता बित्न लाग्दा समेत बजारमा अधिक तरलता कायमै छ । अधिक तरलतालाई कम गर्न राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।

लामो समयदेखि आर्थिक गतिविधि शिथिल भएका बेला जेनजी आन्दोलन भएपछि बैंकहरूबाट कर्जा प्रवाह बढ्न सकेको छैन । तत्काल कर्जा प्रवाह वृद्धि नहुने आकलन गर्दै निक्षेप वृद्धिमा रुचि नदेखाएका बैंकहरूले ब्याजदर घटाउँदै मुद्दती निक्षेपलाई निरुत्साहित गरिरहेका छन् ।

अहिले कुल निक्षेप ७८ खर्बभन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । 

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । 

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

प्रतिक्रिया