गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक

राम्रो अनलाइन     २६ चैत २०८०, सोमबार
गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक

 

काठमाडौँ– पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। सोमबार काठमाडौंमा गायिका खुसी थुलुङ्ग राईको गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले गीतसङ्गीतका माध्यमले सर्जकले दिने सन्देश सिधै समाजमा पुग्ने बताए।

‘गीतसङ्गीतलाई मनोरञ्जनकै रुपमा मात्र लिनुहुँदैन, यसले समाज रुपान्तरणमा भूमिका निर्वाह गर्ने भएकाले म सर्जकलाई सोहीअनुसार कला र संस्कृतिलाई प्रयोग गर्न आग्रह गर्छु, यद्यपि गीतको आफ्नै शैली हुन्छ, यो अहिले सामान्य सुनियता पनि कालान्तरमा यसको महत्व दर्सिन्छ’, पूर्वमन्त्री राईले भने।

उनले गीतिसङ्ग्रहमा समावेश आठ गीतमध्ये श्रव्यदृश्य तयार पारिएको पहिलो गीत ‘प्रेमको अर्थ’ हेरेपछि अभिनय गर्ने मोडल रुकमान लिम्बू र करिश्मा श्रेष्ठको प्रसंशा गरे। उनले भने, ‘कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, गायिकाले सुमधुर स्वरमार्फत सजिलै मोहित गर्न सक्नुहुन्छ, म उहाँहरूलाई गीतसङ्गीतलाई निरन्तरता दिन आग्रह गर्दछु।’

गायिका राईले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गरेको बताइन्। ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु, म नयाँ भए तापनि यस क्षेत्रलाई नियाल्दै अगाडि बढिरहेको सङ्गीतको विद्यार्थी हुँ, प्राप्त प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ”, गायिका राईले भनिन्।

सार्वजनिक गीत ‘प्रेमको अर्थ’ मा क्रान्ति सुब्बाले शब्द रचना र हरी लम्सालले सङ्गीत दिएका छन्। गीतको श्रव्यदृश्यमा देखिएकी मोडल लिम्बूले एक प्रेमिल जोडीको जीवनलाई श्रव्यदृश्यमा देखाइएको बताइन्। ‘गीतमा श्रीमतीलाई माया गर्ने श्रीमान्को कथालाई देखाइएको छ, उसको निःस्वार्थ भाव र प्रेमले श्रीमतीलाई आकर्षित गर्ने पक्षलाई हामीले श्रव्यदृश्यमा समेटेका छौँ, यो गीतको श्रव्यदृश्यले प्रेमलाई परिणामको आशा नगरी व्यक्त गर्न प्रेरित गर्छ’, मोडल लिम्बूले भनिन्। गीतको श्रव्यदृश्यलाई राजेश पुमा राईले निर्देशन गरेका हुन्। 

प्रतिक्रिया