कर्णाली, ३० जेठ : अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपना पुरा भएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ ।
यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबिबिएस कार्यक्रम शुरुआत गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो ।
आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम शुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिए । “कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि यही शैक्षिक सत्रमा एमबिबिएस कार्यक्रम सञ्चालन हुन्छ”, उनले भने, “हाललाई एमबिबिएस सञ्चालन गर्न प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ ।”
यद्यपि भएका निर्णय आधिकारिकरूपमा एक÷दुई दिनभित्रै सार्वजनिक गरिने उनको भनाइ थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाले घरआगनमा डाक्टर बन्ने कर्णालीमा मेघावी छात्रछात्राको सपना पुरा भएको बताए । उनले भने “ कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न कोशेढुङ्गाको काम हुनेछ । ”
प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्यापन शुरु भइसकेको छ । अहिले पाँच चिकित्सकले निःशुल्क पढ्न थालिसकेका छन् ।
शिक्षाध्यक्ष प्राडा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबिबिएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलई धन्यवाद दिए । “स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो”, उनले भने, “अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ । ”
चिकित्सा शिक्षा आयोगले सिट दिएसँगै प्रतिष्ठान जुम्लामा स्नातोकत्तर तहको विशेषज्ञ डाक्टरी पढ्न कर्णाली पुगेका भक्तपुरका डा रहिस कोजु, काठमाडौँ निवासी डा प्रशंसा ताम्राकार र कपिलवस्तुका डा वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत रहेको उनले बताए ।
शिक्षाध्यक्ष डा थापाका दार्चुला (हाल धनगढी) निवासी डा ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका मुन्ना केशरी पेडियाट्रिक्समा स्नाकोत्तर तहको चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन् । एमबिबिएस कार्यक्रम शुरु हुने भएपछि ‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’ भन्ने कर्णालीवासीको सपना अब पुरा हुने निश्चित भएको प्रतिष्ठान पहल समितिका संयोजक तथा कर्णाली प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।
“अब कर्णालीले मुलुकमा स्वास्थ्य सेवा पुर्याउने गरी डाक्टर जनशक्ति उत्पादन गर्दछ”, मन्त्री भण्डारीले भने, “विगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकहरूसमक्ष सेवापुर्याउने मर्मलाई आत्मसात् गर्दै आफ्नो गन्तव्य तय गर्छ ।”
हिजो सिटामोलको चक्की नपाउने कर्णाली आज विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण हुँदा इच्छाशक्तिका अगाडि असंभव ठानिएका हरेक कुरा असत्य साबित हुँदा रहेछन् भन्ने चरितार्थ दुर्गम कर्णाली प्रदेशको जुम्लामा भइरहेको स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पठनपाठन र चालु आवभित्रै शुरु हुने एमबिबिएस कार्यक्रमले गरेको छ ।