कांग्रेस नेता डुण्डीराज शास्त्रीको निधन

राम्रो अनलाइन     ०२ असार २०८२, सोमबार
कांग्रेस नेता डुण्डीराज शास्त्रीको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामङ्गलका उपचारको क्रममा उनको बिहान ५ बजे निधन भएको जानकारी उनका भतिजा दुर्गाप्रसाद पौडेलले गोरखापत्र अनलाइनलाई दिए । 

शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । शास्त्री अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । समाजवादी चिन्तकको रुपमा परिचित शास्त्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य, अर्घाखाँची कांग्रेसको जिल्ला सभापतिसमेत भएका थिए । 

उनका तीनवटी श्रीमतीमध्ये जेठी श्रीमती रमा पौडेलको ८६ वर्षको उमेरमा २० दिनअघि निधन भएको थियो । माहिली लता पौडेल र कान्छी श्रीमती माया पौडेल हुन् । कान्छी श्रीमती उनकै साथमा थिए भने माहिली श्रीमती देवघाटमा बस्दै आएकी छिन् । शास्त्रीको निधनको खबर पाएपछि उनी काठमाडौं आएका छन् । 

तर शास्त्रीका दुई छोरा नवीन पौडेल जर्मनी र ऋषव पौडेल जापानमा रहेकाले आउने क्रममा छन् । मङ्गलबार उनीहरू आएपछि स्वर्गीय शास्त्रीको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुर सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी पनि पारिवारिक स्रोतले दिएको छ । शास्त्रीका तीन छोरी छन् । 

प्रतिक्रिया