पछिल्ला केही महिनालाई हेर्ने हो भने नेपालको सेयर बजारमा निकै उछाल देखिएको छ । लामो समयदेखि ११÷१२ सयको नजिक रहेको सेयर बजार केही महिनामै २७ सयको नजिक पुगिसकेको छ । सेयर बजारमा किन उछाल आयो ? यसका विभिन्न कारण होलान् । तर, के सेयर बजारमा आएको उछालले देशको अर्थतन्त्रलाई फाइदा पु¥याउँछ ? के साँच्चिकै यसमा गरिएको लागानीले उत्पादन क्षेत्रलाई प्रभाव पार्छ ? यो अहिलेको ठूलो प्रश्न हुन सक्छ ।
लामो समय लकडाउन झेलेको देशले अन्य लगानीका क्षेत्र सुरक्षित गर्न नसक्दा सेयर बजारमा लगानी बढेको सहजै अनुमान लगाउन सकिन्छ । तर, यस्तो अवस्था आइसक्यो कि मानिसहरू सेयर बजारमा निकै हौसिन थालेका छन् । ठूलो मात्रामा यसमा लगानी गर्न थालेका छन् । यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारे पनि आर्थिक समृद्धिको पहिलो विकल्प भने कदापि नभएको आर्थिक विश्लेषक केशव आचार्य बताउँछन् ।
सेयर बजारमा उठेको पैसाको राम्रो प्रतिस्थापन हुने र उत्पादनमूलक क्षेत्रमा लगानी हुने हो भने त्यसले फाइदा पु¥याउने भए पनि दोस्रो बजारमा लगानी गरेको सबै पैसा पुँजी बजारमा मात्रै सीमित भयो भने सोचेको प्रतिफल नआउने उनको बुझाइ छ । ‘सेयरमा लगानी गरेको सबै पैसा पुँजी बजारमा मात्र घुमफिर भयो भने केही फाइदा त होला तर सोचेको आर्थिक उचाइ हासिल गर्न सकिँदैन,’ उनी भन्छन्, ‘त्यसबाट उच्चतम फाइदा लिनु छ भने त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ।’
त्यस्तै, सेयर मार्केटमा गरिने लगानीले आयातसमेत बढाउने गरेको उनी बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाहरूले सेयर उठाउँछन्,’ उनी भन्छन्, ‘त्यहाँबाट कुनै व्यक्ति वा संस्थाले ऋण लिन्छ । त्यो पैसा घुम्दै–फिर्दै बाहिर जान्छ । बाहिरबाट सामान आयात हुँदा सरकारले राजस्व त उठाउँला तर त्यो आर्थिक समृद्धिको पहिलो विकल्प होइन ।’
त्यस्तै, कुन क्षेत्रको सेयरमा कति लगानी बढेको छ, त्यसले पनि अर्थतन्त्रमा ठूलो असर पार्ने आचार्यको भनाइ छ । उनका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकजस्ता विकास र समृद्धिका क्षेत्रमा लगानी गर्ने कम्पनीको सेयरमा लगानी गर्दा देशले प्रतिफल पाउँछ । ‘अहिले निफ्राको सेयरमा धेरै लगानी बढेको छ,’ उनी भन्छन्, ‘निफ्रा ‘रिस्रोर्सफुल’ भयो भने त्यसको ‘लेन्डिङ क्यापासिटी’ बढ्छ । एउटा राम्रो कम्पनीले बैंकबाट वा पुँजी बजारबाट सहजै पैसा उठाउन सक्छ । त्यो राम्रो कुरा हो । तर, हामीलाई चाहिएको उद्योगधन्दा हो ।’
सेयर बजारमा उछाल आउँदा पनि लाखौँ मानिस विदेश गइरहेका छन् । कारण हो, सेयरको भ्यालु बढे पनि रोजगारीका अवसर बढेका छैनन् । सेयर आज ह्वात्तै बढेको छ भने भोलि ह्वात्तै घट्न पनि सक्छ । सेयर बजार सधैँ उचाइमै रहन्छ भन्ने नरहेको अर्का अर्थविद् गोविन्द नेपाल बताउँछन् ।
‘सेयरमा अहिलेको जस्तो अवस्था सधैँ रहीरहन्छ भन्ने होइन,’ नेपाल भन्छन्, ‘सेयर लगानीलाई नै पेसा बनाउने कम हुन्छन् । आम लगानीकर्ताको मुख्य पेसा यो होइन र बन्न पनि सक्दैन ।’
अब दीर्घकालीन रूपमा यसलाई पेसा बनाउन नसकिने हुँदा रोजगारी बढाउन उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने अर्थविद् आचार्य बताउँछन् ।
नेपालमा तेल, चालमलगायत दैनिक उपभोग्य सामानदेखि कच्चा पदार्थसम्म विदेशबाट आयात गरिन्छ । त्यस्तै, लाखौँका मोटरसाइकलदेखि महँगा कारसमेत विदेशबाटै आयात भइरहेका छन् । यदि ती वस्तु नेपालमै उत्पादन हुने हो भने नेपालको अर्थतन्त्रलाई ठूलो टेवा पुग्ने आचार्य बताउँछन् । उनका अनुसार सेयरमा लगानी गर्नु बेठीक होइन तर उत्पादकमूलक कम्पनीमा लगानी गर्दा देशलाई ठूलो फाइदा पुग्छ ।
उत्पादनमूलक कम्पनी सेयर बजारमा आउन सकेनन् । अर्थविद् आचार्यका अनुसार उत्पादनमूलक कम्पनीहरू नेप्सेमा सूचीकृत हुनै चाहँदैनन् ।
‘बैंक तथा बिमा कम्पनीहरूमा मानिसको लगानी धेरै छ,’ उनी भन्छन्, ‘त्यसैले उनीहरू सहजै नेप्सेमा सूचीकृत हुन्छन् । तर, कुनै पनि उत्पादक कम्पनीहरू नेप्सेमा आउन चाहिरहेका छैनन् । उनीहरूले पारदर्शिता नखोजेका हुन् वा विश्वास नभएको हो । वास्तवमा त्यस्ता कम्पनीको सेयरमा लगानी बढ्ने हो भने देशलाई बढी फाइदा हुन्थ्यो ।’
आचार्यका अनुसार कुनै पनि कम्पनी नेप्सेमा दर्ता हुन्छ भने करमा १० प्रतिशत छुट पाउँछ । त्यति हुँदाहुँदै पनि उत्पादन क्षेत्रमा काम गर्ने कम्पनीहरू सेयर बजारमा आउन नसक्नु आश्चर्य भएको उनी बताउँछन् ।
कम्पनी खोल्ने पुँजी नहुँदा सेयरमा लगानी
अहिले सेयरमा लगानी गर्न निकै सहज छ । मानिसले घरमै बसीबसी ठूलो मात्रामा सेयरमा लगानी गर्न सक्छन् । यसले सहज पैसा कमाउन सकिन्छ भन्ने भ्रम पर्न सक्ने एउटा सम्भावना हुँदाहुँदै पनि एउटा साधारण व्यक्तिसँग कम्पनी खोल्ने करोडौँ रुपैयाँ नहुने आचार्य सुनाउँछन् । उनका अनुसार मानिससँग २÷४ लाख रुपैयाँ हुन्छ तर त्यसले कम्पनी खोल्न सकिँदैन । त्यसैले सेयर बढिरहेको सुनेपछि उनीहरूले बैंकमा राखेको पैसा निकालेर लगानी गर्छन् ।
पहिले जलविद्युत्लगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेको संख्या निकै कम थियो । तर, हिजोआज मानिसहरू जलविद्युत्देखि अन्य कलकारखानामा पनि लगानी गर्न थालेका छन्, जुन राम्रो संकेत भएको आचार्य बताउँछन् । ‘शिवम् सिमेन्टले आईपिओ जारी ग¥यो । त्यसमा मानिसहरू झुम्मिए,’ उनी भन्छन्, ‘यस्ता कम्पनीको सेयरमा लगानी बढ्छ भने अवश्य पनि फाइदा पु¥याउँछ ।’
‘सेयर बजारको लगानीले दास्रो÷तेस्रो चरणमा मात्र प्रतिफल दिन्छ’
अर्थविद् नेपाल पनि सेयर बजारमा लगानी बढ्दा त्यसको प्रतिफल छिट्टै प्राप्त नहुने बताउँछन् । ‘रियल सेक्टरमा लगानी गर्दा पहिलो चरणमा नै त्यसले रोजगारी सिर्जना गर्छ, उत्पादन दिन्छ,’ उनी भन्छन्, ‘तर, पुँजी बजारमा हुने लगानीले पहिलो चरणमा नतिजा दिन सक्दैन । त्यसका लागि दोस्रो वा तेस्रो चरण कुर्नुपर्ने हुन्छ ।’
अन्यथा सेयर मार्केटमा लगानी बढ्दा त्यस्तो बेफाइदा भने नहुने नेपालको बुझाइ छ । ‘सेयर बजारमा हुने ‘ट्रान्जिक्सन’ बाट सरकारले विभिन्न माध्यमबाट राजस्व उठाउँछ,’ उनी भन्छन्, ‘दोस्रो, जब सेयरको भ्यालु बढ्छ, जति पनि कम्पनीहरूले कमाउँछन् । भोलि गएर त्यसले पुनः लगानीको वातावरण सिर्जना गर्छ । लगानी गर्ने अवस्था हुन्छ ।’
तर, लगानीकर्ताको हिसाबले हेर्दा सेयर मार्केटमा लगानी गर्ने सबैले नाफा कमाउन नसक्ने उनी बताउँछन् । उनका अनुसार कसैले कमाउँछ भने अर्कोले गुमाउन पनि सक्छ ।