मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङलाई

राम्रो अनलाइन     २८ फागुन २०७८, शनिबार
मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङलाई


कैलाली– धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौँ ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । 

धनगढी रङ्गशालामा आज भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो । मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो । उसले पहिलो संस्करणको पनि उपाधि जितेको थियो । मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक÷ एक गोल गरे । फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोइसले एक गोल फर्काए । खेलको २२औँ मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि १९औँ मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाएका थिए । ५१औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई एक÷एक गोलको बराबरीमा ल्याए । 

खेलको ७२औँ मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाएका थिए । खेलको ८६औँ मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिए । त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए । उपाधिसँगै मनाङले रु २१ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको फ्रेन्ड्सले रु १० लाख नगद प्राप्त गरेको छ ।

मनाङका शिशिर लेखी सर्वोत्कृष्ट खेलाडी भए । उनले रु एक लाख प्राप्त गरेका छन् । मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक, राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक, मौसा अवगाना उत्कृष्ट मिडफिल्डर भए । फेन्ड्सका सुरज विश्वकर्मा उत्कृष्ट रक्षक र फेन्ड्सकै जमोउल एन्थोनी फ्रान्कोइस सर्वाधिक गोलकर्ता भए । सुदूरपश्चिम ११ का फागुराम चौधरी उदयमान खेलाडी भए । उनीहरूले जनही रु २० हजार प्राप्त गरेका छन् । सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया