मुलुकभरका ६७ जिल्लामा निषेधाज्ञा, १० जिल्लामात्र खुला

अब निषेधाज्ञा जारी गर्न सोलुखुम्बु, मनाङ, मुस्ताङ, रसुवा, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्वमात्रै बाँकी छन् ।
राम्रो अनलाइन     २६ वैशाख २०७८, आइतबार
मुलुकभरका ६७ जिल्लामा निषेधाज्ञा, १० जिल्लामात्र खुला

काठमाडौँ । तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प भएको छ ।  सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ ।

अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ । सरकारले सङ्क्रमणको साङ्लो तोड्ने प्रयास जारी राखेको भए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै सर्वसाधारणको हेल्चेक्र्याइँसमेत देखिएको जनस्वास्थ्यविद् औँल्याउँछन् ।  

अब १० जिल्लाले मात्रै निषेधाज्ञा जारी गर्न बाँकी छ । झण्डै २० दिनको अवधिमा मुलुकका ६७ जिल्लामा निषेधाज्ञा जारी गरी सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ ।

त्यस्ता जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ । त्यसमध्ये नौ जिल्लामा आंशिक निषेधाज्ञा छ । खुला रहेकामध्ये अधिकांश हिमाली जिल्ला छन् ।

देशका अधिकांश भाग ठप्प हुँदा आदेश जारी गर्न बाँकी रहेका ती जिल्लाका गतिविधिसमेत चलायमान हुन सकेको छैन । खुला रहेका १० जिल्लाले आदेश जारी गर्न बाँकी भए पनि मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको निर्णयलाई आधार मानेर उच्च सावधानी अपनाउने तथा स्वास्थ्यका मापदण्ड पूर्ण कार्यान्वयनका लागि विभिन्न निर्णय गर्दै कोरोना फैलिन नदिन उच्च सावधानी अपनाउँदै आएको छ । केही जिल्ला भने निषेधाज्ञा जारी गर्ने तयारीमा पुगेका जनाइएको छ ।

अब निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, रसुवा, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । यद्यपि लमजुङ भने केही वडामा सीमित गतिविधि रोक लगाएर नियन्त्रण प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए । उनका अनुसार लमजुङमा अहिलेसम्म ९२ जना सङ्क्रमित भेटिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोही अनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताए ।

मुलुकमा पछिल्ला केही दिनमा नौ हजारको हाराहारीमा दैनिक सङ्क्रमित फेला पर्दै आएका छन् भने दैनिक ५० भन्दा माथि मानिसको मृत्यु हुँदै आएको छ । 
 

प्रतिक्रिया