नेपाली मोडल उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डको दौडमा

राम्रो अनलाइन     ०१ जेठ २०८३, शुक्रबार
नेपाली मोडल उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डको दौडमा

काठमाडौं–नेपाली अभिनेत्री तथा मोडल उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा जुटेकी छन् । एक समय नेपालमा ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित उरुषा अहिले अमेरिकामा अध्ययनसँगै अभिनय, निर्देशन र सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै विश्व कीर्तिमानतर्फ अग्रसर भएकी हुन् ।

हाल अमेरिकाको गोशेन कलेजमा फिल्म र थियटर विषयमा अध्ययनरत उरुषाले उत्कृष्ट शैक्षिक प्रदर्शन गर्दै ‘डिन्स लिस्ट’मा स्थान बनाएकी छन् । उनले ४.० जीपीए कायम राख्दै अध्ययन र कला दुवै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको बताइएको छ ।

नेपालबाट म्युजिक भिडियोमार्फत आफ्नो करियर सुरु गरेकी उरुषाले पछि मुम्बई पुगेर बलिउड मोडलिङ र विज्ञापन क्षेत्रमा काम गरेकी थिइन् । उनी नेपाल र भारतका विभिन्न चर्चित म्यागजिनहरूको आवरणमा समेत प्रकाशित भइसकेकी छन् । नेपालमा कान्तिपुरको ‘साप्ताहिक’ र नागरिकको ‘शुक्रवार’ मा स्थान बनाएकी उरुषा भारतका वुमन्स इरा, द निच, स्पटलस फेसन, डिजायर न्युज र दृष्टि प्रभा म्यागजिन जस्ता प्रकाशनहरूमा पनि प्रस्तुत भइसकेकी छन् ।

अमेरिकामा पनि उरुषाले आफ्नो अभिनय यात्रालाई निरन्तरता दिइरहेकी छन् । अर्कान्सास स्टेट युनिभर्सिटीमा अध्ययनका क्रममा उनले ‘ग्राउन्डेड’ नामक ९० मिनेट लामो एकल नाटकमा अभिनय गरेर प्रशंसा बटुलेकी थिइन् । ‘एस्टेट’ नाटकमा उनले ‘जुलिया’ पात्र निर्वाह गरेकी थिइन् ।

त्यसैगरी, विलियम सेक्सपियरको चर्चित नाटक ‘रोमियो एन्ड जुलियट’ मा ‘जुलियट’ को भूमिकाका लागि ५० प्रतिस्पर्धी अभिनेत्रीमध्येबाट छनोट हुन सफल भएकी थिइन् । हाल उनी गोशेन कलेजमै ‘पुअर क्लेयर’ नाटकमा ‘ओर्टोलाना’ पात्रको तयारीमा रहेको जनाइएको छ ।

उरुषा अभिनयमा मात्र सीमित छैनन् । उनले लेखन, निर्देशन र निर्माण क्षेत्रमा पनि सक्रियता बढाइरहेकी छन् । उनका ‘टु फेस्ड’, ‘प्राइस अफ सोलिच्युड’, ‘हू इज सी रु’ र ‘वेलकम होम’ जस्ता परियोजनाहरू चर्चामा छन् । ‘इरेज्ड स् द फाइनल ड्राफ्ट’ नामक नयाँ प्रोजेक्ट सन् २०२६ मा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

उरुषाले सन् २०२६ मे महिनादेखि ‘गिनिज वर्ल्ड रेकर्ड सिरिज’ अभियान सुरु गर्ने घोषणा गरेकी छन् । यसअन्तर्गत उनले २४ घण्टामा ३०० मोनोलग प्रस्तुत गर्ने, ‘कलाकार’ नामक एकल नाटकलाई लगातार धेरै दिनसम्म मञ्चन गर्ने, सबैभन्दा लामो भारतीय शैलीको नृत्य गर्ने तथा ‘सेल्फी च्यालेन्ज’मार्फत हालको रेकर्डधारी अक्षय कुमारलाई चुनौती दिने योजना बनाएकी छन् ।

उक्त अभियान सफल भएमा हलिउड अभिनेता डग जोन्सले आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । डग जोन्स ‘द सेप अफ वाटर’ र ‘प्यान्स ल्याबिरिन्थ’ जस्ता चर्चित हलिउड चलचित्रमा अभिनयका लागि परिचित छन् ।

उरुषाले आफू अमेरिकामा विद्यार्थी र कलाकारका रूपमा नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको बताएकी छन् । उनले नेपाली युवतीहरूले पनि विश्व मञ्चमा आफ्नो क्षमता प्रमाणित गर्न सक्ने सन्देश दिन चाहेको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया