काठमाडौं– यही भदौ १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ऐँचो पैँचो’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक समारोहमा फिल्मको साढे दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनीतिक अस्थिरतालाई फिल्मले उठान गरेकाले आफ्नो मन छोएको बताए । फिल्मको ट्रेलर हेर्दा ‘ऐँचो पैँचो’ उत्कृष्ट बनेको महसुस गरेको आलेको भनाइ छ ।

नेपालमा राजनीतिक विषयवस्तुमा अझै धेरै फिल्म निर्माण हुन अनिवार्य भएको भन्दै नेता आलेले फिल्म निर्माण अगाडि फिल्मको कथामा आफूलाई पनि समावेश गरेको भएको थुप्रै नयाँ कुरा फिल्ममा आउन सक्ने बताए । ‘तर पनि फिल्ममा जति विषय आएका छन्, यी कुरा मात्रै पनि दर्शकलाई हलसम्म ल्याउन पर्याप्त छन्, उनको भनाई छ । आलेले भदौ १४ गते आफू परिवारसहित सिनेमा हलमा गएर यो फिल्म हेर्ने घोषणासमेत गरे ।
फिल्मको ट्रेलरमा राजनीतिले देश र समाजमा पारेको प्रभावलाई नजिकबाट देखाउने प्रयास गरेको बुझ्न सकिन्छ । ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ । फिल्मका केही संवादले दर्शकको ध्यान खिच्न सक्ने देखिन्छ । फिल्मका यसअघि सार्वजनिक टीजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईको छ ।
पूर्वी नेपालमा रमणीय स्थानमा खिचिएको फिल्ममा मुकुन भुसाल, स्वस्तिमा खड्का, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईँ सह–निर्माताको रुपमा रहेका छन् ।
यो फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी ९प्रनव० प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।