राजनीतिज्ञको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का

राम्रो अनलाइन     ३२ साउन २०८०, बिहिबार
राजनीतिज्ञको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का

 

राजनीतिक पृष्ठभूमिको कथा रहेको चलचित्र ‘ऐँचो पैँचो’ मा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको छ । उनी चलचित्रमा राजनीतिज्ञको भूमिकामा प्रस्तुत हुनुभएको छ । खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् । उनले भनिन्, ‘एउटा आमनागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ ।’ उनले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताइन्।

सामाजिक विषयको चलचित्रमा देखिँदै आउनुभएकी अभिनेत्री खड्काले आफू अभिनित चलचित्र ‘ऐँचो पैँचो’ पूर्ण रूपमा व्यावसायिक रहेको दाबी गरिन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएकाले यस पटक दर्शकले फरक रूपमा पाउने उनको भनाइ थियो । उनले भनिन्, ‘मैले कलात्मकता चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्ण रूपमा व्यावसायिक हो । त्यसैले यो मेरा लागि महत्वपूर्ण छ ।’

निर्देशक कृषा चौलागाईंले आफ्नो लगावका कारण चलचित्र निर्देशन यात्रा सुरु गरेको बताइन् । उनले भनिन्, ‘म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिएँ । त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।’ केपी फिल्म्स्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् । अभिमन्यू निरवीको कथा, पुरुषोत्तम प्रधानको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत, रेनिश फागोको रङ संयोजन, विपिन मल्ल र चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 

प्रतिक्रिया