काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका क्रियाकलाप र प्रगती विवरण सहितको रिपोर्ट कार्ड सार्वजनिक भएको छ।
रिपोर्ट कार्डअनुसार, संसदको दोस्रो अधिवेशनमा सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक जवाफदेहितासँग सम्बन्धित विषयमा सदनको ध्यानाकर्षण गराएको उल्लेख छ। साथै, विधायिकी प्रक्रियामा सहभागिता जनाउँदै सत्तारुढ दलको संघीय संसदीय दलको सचेतकका रूपमा भूमिका निर्वाह गरेको विवरणमा उल्लेख छ।
जनसरोकारका मुद्दामा सदनको ध्यानाकर्षण
परियारको रिपोर्ट कार्डमा सामाजिक न्याय र नागरिक अधिकारसँग सम्बन्धित विभिन्न मुद्दालाई प्राथमिकताका साथ उठाइएको उल्लेख छ। उहाँले सामाजिक न्याय र जनजीविकाका सवाल, सहकारी क्षेत्रका समस्या, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था तथा नागरिकको अधिकारसँग जोडिएका विषयमा सदनमा आवाज उठाएको विवरणमा जनाइएको छ।
त्यस्तै, आत्महत्या रोकथाम, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, पूर्ण प्रेस स्वतन्त्रता र सामाजिक रूपान्तरणका विषयलाई पनि परियारले प्राथमिकतामा राखेको उल्लेख छ। जलवायु न्याय, आकाश तथा सवारीसाधनबाट हुने ध्वनि प्रदूषण, कृत्रिम अभाव र कालोबजारी नियन्त्रणजस्ता विषयमा समेत सरकारको ध्यानाकर्षण गराइएको रिपोर्ट कार्डमा उल्लेख छ।
दलित समुदायमाथिको ऐतिहासिक विभेद, उनीहरूको अधिकार तथा सामाजिक न्यायका सवालमा नीतिगत सुधारको आवश्यकता औँल्याउँदै उनले सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको अवस्था सुधार गर्नुपर्ने विषयलाई पनि महत्त्व दिएको विवरणमा उल्लेख गरिएको छ।
विधेयक संशोधन र संसदीय टिप्पणीमा सहभागिता
संसद्मा विधेयक निर्माण तथा संशोधन प्रक्रियामा सहभागिता पनि परियारको कार्यप्रगति विवरणको अर्को महत्त्वपूर्ण पक्ष हो। रिपोर्ट कार्डअनुसार, उहाँले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि संशोधन तथा टिप्पणी गरेका छन्।।
त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन विधेयक, नेपाल विशेष सेवा विधेयक, फौजदारी कसुरसँग सम्बन्धित विधेयक तथा प्रतिनिधिसभा नियमावलीसम्बन्धी विषयमा समर्थन, संशोधन वा टिप्पणी प्रस्तुत गरेको विवरणमा उल्लेख छ।
आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको धारणासमेत उहाँले सदनमा राख्नुभएको थियो, यी गतिविधिले विधेयक तथा नीतिगत प्रस्तावमाथि संसदीय बहसमा परियारको उल्लेखनीय सहभागिता जनाएको देखाउँछन्।।
सचेतकका रूपमा संसदीय समन्वय
संसदीय दलको सचेतकका रूपमा परियारले सदनमा पार्टीको भूमिका प्रभावकारी बनाउने, सांसदहरूलाई संसदीय गतिविधिमा सक्रिय गराउने तथा दलको नीति र धारणाअनुसार समन्वय गर्ने जिम्मेवारीलाई प्राथमिकता दिएको रिपोर्ट कार्डमा उल्लेख छ।
संसदीय दलको बैठकमा नियमित उपस्थिति, विधायिकी कार्यव्यवस्थामा परामर्श, सांसदहरूबीच समन्वय तथा संसदीय मर्यादा र प्रक्रियाको निरन्तरतामा जोड दिइएको विवरणमा जनाइएको छ।
संसदीय समितिमा सक्रियता
रिपोर्ट कार्डमा संसदीय समितिका बैठक तथा छलफलमा सहभागितालाई पनि स्थान दिइएको छ। कानुन निर्माण, न्याय तथा मानव अधिकारसँग सम्बन्धित विषयमा समितिगत छलफल र बैठकमा सहभागिता जनाएको विवरण प्रस्तुत गरिएको छ।
समितिगत काममार्फत विधेयकको अध्ययन, कानुनी व्यवस्थामाथिको छलफल र नीतिगत विषयमा योगदान पुर्याउने भूमिका संसदीय कार्यको महत्त्वपूर्ण पक्षका रूपमा देखाइएको छ।
सामाजिक रूपान्तरण र सार्वजनिक बहसमा सहभागिता
परियारको रिपोर्ट कार्डअनुसार, उनले सामाजिक रूपान्तरण, साहित्यिक बहस, सार्वजनिक उपन्यास विमोचन, शैक्षिक परामर्श तथा राजनीतिक दलहरूसँग सम्बन्धित छलफलमा पनि सहभागिता जनाउनु भएको छ।
राष्ट्रिय दलित आयोगको अध्यक्षसँगको भेटवार्ता, नेपालमा प्रारम्भिक बालविकासका लागि सञ्चालित संस्थासँगको सहकार्य, दलित समुदायको थर सूचीकरण सम्बन्धी छलफल तथा दलित अधिकारका विषयमा विद्यार्थीहरूसँगको संवादलाई पनि परियारको रिपोर्ट कार्डमा उल्लेख गरिएको छ। यसका अतिरिक्त, राष्ट्रिय तथा स्थानीय तहमा आयोजना गरिएका विभिन्न कार्यक्रम, राजनीतिक संवाद र नागरिक सरोकारका गतिविधिमा सहभागिता जनाएको विवरणमा उल्लेख छ।
रिपोर्ट कार्डले दोस्रो अधिवेशनमा प्रकाशचन्द्र परियारको भूमिका सदनमा जनसरोकारका मुद्दा उठाउने, विधेयक तथा संशोधन प्रक्रियामा सहभागी हुने, संसदीय दलभित्र समन्वय गर्ने र सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न रहने विषयमा केन्द्रित रहेको देखाएको छ।