स्पा सञ्चालन र यसका मापदण्ड 

विनोद श्रेष्ठ     २४ माघ २०८०, बुधबार
स्पा सञ्चालन र यसका मापदण्ड 

के हो स्पा ?
‘स्पा’ ल्याटिन शब्द हो । जसको अर्थ ‘ट्रिटमेन्ट थु्र वाटर’ अर्थात् पानीको माध्यमद्वारा गरिने उपचार भन्ने हुन्छ । स्पा अन्तर्गत शिरोधारा, विभिन्न किसिमका थेरापी, स्टिम, साउना, फेसियल, बडी स्क्रब, हट स्टोन थेरापी, डिप टिस्यु थेरापी, मेनिक्योर, पेडिक्योर,  अकुपञ्चर, अकुप्रेसर, फुट बाथलगायत पर्छन् । तिनका आ–आफ्नै महत्व छन् । नेपालमा साउना स्टिम तथा बडी मसाज अधिक प्रयोगमा छन् । स्पा थेरापी सफा एवं प्राकृतिक वातावरणमा मीठो धुन बजाउँदै सुगन्धित वातारवरणमा गर्ने गरिन्छ ।

विगतमा युरोपेली देशहरूले जमेको पानी तथा झरनामार्फत् उपचार गर्थे जसलाई ‘स्पा’ भन्ने गरिन्थ्यो । खासगरी खनिज तत्व मिसिएको पानीमा स्नान् गर्दा विभिन्न रोग निको हुने भएकाले रोमन सभ्यतादेखि नै जल चिकित्सा प्रचलनमा रहँदै आएको हो । विश्व स्पा एसोसिएसनले ‘प्राकृतिक थेरापी तथा उपचार पद्धतिद्वारा मानिसको मस्तिष्क, शरीर र आत्मालाई आराम दिलाउनु’लाई स्पाका रूपमा व्याख्या गरेको छ ।

स्पा पहिले उपचार पद्धति थियो । बदलिँदो जीवनशैलीसँगै अब यो आराम, पुर्नजाग्रित र पुर्नआनन्दको माध्यम पनि भएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्पालाई विभिन्न प्रकारमा विभाजन गरिएको छ । त्यसमा दिवा स्पा, डेस्टिनेसन स्पा, रिसोर्ट तथा होटल स्पा, क्लब स्पा, नेचुरल स्प्रिङ स्पा, क्रुज स्पालगायत पर्छन् ।

स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द दिन्छ । यसले शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गरिदिन्छ । स्पा ‘डिप क्लिजिङ’ पनि हो, जसले शरीरका टक्सिनहरू निकालेर प्रतिरोध क्षमता बढाइदिन्छ र रक्त सञ्चारलाई स्फुर्त राख्छ । स्पाले तनाव हटाउँछ साथै शरीरका सबै अवयव र पाँचै इन्द्रीयलाई एकसाथ आराम र आनन्दित तुल्याउँछ । 

भारतलगायत विभिन्न देशमा डेस्टिनेसन तथा क्रुज स्पा प्रचलनमा रहे पनि नेपालमा डे स्पा, हेल्थ क्लब स्पा तथा होटल स्पा बढी प्रचलनमा छन् । नेपालमा नेचुरल स्प्रिङ स्पाहरूमा म्याग्दी र सिन्धुपाल्चोकका तातोपानी हुन् जहाँ पर्यटक डुबुल्की मारिरहेका हुन्छन् । यद्यपि, यिनलाई अझै व्यवस्थित रूपमा सञ्चालन र प्रवद्र्धन गर्न सकिएको छैन ।

स्पाका लागि मापदण्ड

विश्व स्पा एसोसिएसनका अनुसार स्पाका लागि पाँच इन्द्रीयको सन्तुष्टिलाई मुख्य आधार मानेको छ । स्पामा सुमधुर संगीतमय, शान्त, प्राकृतिक सुगन्धयुक्त तथा सकारात्मक भाव जगाउने वातावरण हुनुपर्छ ।

यसैगरी, स्पा भन्नासाथ पानीको प्रयोगलाई महत्व दिइएकै हुन्छ । नेपालमा यससम्बन्धि कुनै मापदण्ड तोकिएको छैन । सोही कारण साउना र स्टिम बाथलाई पनि स्पा भन्ने चलन छ । स्वास्थ्य मन्त्रालयको आयुर्वेद विभागका अनुसार नेपालमा स्पाकै लागि अहिलेसम्म कुनै मापदण्ड तोकिएको छैन । 

स्पा संघ नेपालले ‘स्पा सञ्चालन आचारसंहिता, २०८० तयार गरेको छ । स्पा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले नेपाल सरकारका निकायहरूमा दर्ता तथा इजाजत प्राप्त गरी स्पा संघ नेपालमा समेत दर्ता गर्नुपर्ने, मूल्यसूची र आफूले उपलब्ध गराउने सेवाका बारेमा स्पष्टसँग उल्लेख गर्नुपर्ने, ग्राहक दर्ता फारम भरी सम्पूर्ण ग्राहकको विवरण सुरक्षित एवं गोप्यरूपमा राख्नुपर्ने, नेपाल सरकार, स्थानीय सरकार तथा स्पा संघले जारी गरेका स्पा सञ्चालन सम्बन्धि नीति, नियमहरूको पूर्णरूपमा पालना हुनुपर्ने, दक्ष, अनुभवी, योग्यताको प्रमाणपत्र प्राप्त गरेका १८ वर्ष उमेर पुगको स्पा थेरापिष्टहरू राख्नुपर्ने, मापदण्ड बनाएर सञ्चालन अवधि तोकिनु पर्ने, नेपाल सरकार, स्थानीय सरकारद्वारा जारी गरिएका कानुन विपरितका कार्यहरू पूर्णरूपमा निषेध गरिनुपर्ने आदि आचारसंहितामा प्रस्ताव गरिएको छ । 

मसाज मात्र होइन स्पा

स्पा भन्नासाथ धेरैले मसाज बुझ्छन् । कसै–कसैले त मसाज भन्नासाथ विकृतिका रूपमा लिने गर्छन् । स्पा भनेको मसाज मात्र होइन र विकृत मसाज त हुँदै होइन । स्पा आनन्द, आराम र उपचारको एउटा समग्र प्याकेज हो । मसाज त्यसको एउटा हाँगो मात्र हो ।

नेपालमा पछिल्लो समयमा स्पाको उपयोग र व्यवसायमा समेत चासो बढेको छ । केही वर्ष पहिलेसम्म हुनेखाने वर्ग र विदेशीहरूको मात्रै पहुँच रहेको स्पा अहिले मध्यम वर्गका मानिसहरूको पहुँचमा समेत आइसकेको छ । पाँचतारे होटलमा मात्रै खुल्ने स्पा अहिले सामान्य घरमा समेत खुल्न थालेका छन् । केही वर्षअघिसम्म विदेशीहरूलाई मात्रै लक्षित गरेर स्पा खोलिन्थ्यो भने अहिले नेपालीलाई लक्षित गरेर ठाउँठाउँमा स्पा खुलेका छन् । विदेशी ग्राहक भनेका अस्थायी हुने र नेपाली ग्राहक स्थायी हुने भएपछि नेपालीलाई प्राथमिकतामा राखेर स्पाहरू खुल्न थालेका हुन् । अहिले नेपालका प्रायः सबै मुख्य शहरमा ‘स्पा’ सेन्टर खुल्ने क्रम ह्वातै बढेको छ । यसलाई हेर्ने आम मानिसको दृष्टिकोणमा पनि क्रमशः परिवर्तन हुँदै आएको छ । स्पा थेरापी पारखीहरूको जीवनशैलीको हिस्सा हुँदै गएको छ ।

दिनभरको कामको धपेडीबाट उन्मुक्ति लिन स्पा लिनेहरूको संख्या बढ्दो छ । यसमा धनाढ्य मात्र होइन, निम्न मध्यम वर्गीयको पनि आकर्षण बढ्न थालेको छ । कतिले यसलाई फेसनकारूपमा समेत आत्मसात गर्न थालेका छन् । त्यसबाहेक, स्वास्थ्यसम्बन्धि विभिन्न समस्या लिएर आउनेको जमात पनि उल्लेख्यमात्रमा बढीरहेको छ । स्पा थेरापी गर्न जानेभन्दा लजाउने तथा धक मान्नेहरू अहिले गर्वका साथ स्पाको आनन्द लिन थालेका छन् । 

बढ्दो विकृतिले स्पा बदनाम हुने त्रास 

स्पा विश्वस्तरमा नै राम्रो व्यवसायकोरूपमा स्थापित भएपनि नेपालमा भने केही मसाज सेन्टरका कारण आम मानिसले गलत रूपमा बुझ्ने गरेका छन् । पछिल्लो समयमा त प्रायः सबै मसाज सेन्टरले आफ्नो बोर्डमा स्पा शब्द जोड्न थालेका छन् । यसबाट मसाज सेन्टर र स्पाको फरक छुट्याउन नसकिने भएको छ । जसले गर्दा व्यवसायमा नकारात्मक प्रभाव परिरहेको छ । मसाज सेन्टरमा हुने क्रियाकलापका बारेमा बेलाबेलामा नकारात्मक समाचार आउने गरेका कारण मसाज सेन्टर र स्पाको बारेमा फरक थाहा नपाउनेहरूले दुबैलाई एउटै नजरले हेर्ने गरेको पाइन्छ । 

मसाज तथा स्पा सेन्टरहरूको नियामक निकायद्वारा प्रभावकारी अनुगमन गरिनुपर्छ । स्पा संघ नेपाल सरोकारवाला निकायहरूसँग परामर्श गरेर प्रभावकारी आचारसंहिता र मापदण्ड बनाएर लागू गर्न तयार छ । स्पालाई पर्यटन अन्तर्गत वेलनेस क्याटागोरीमा राखिनुपर्छ । यो अहिले मनोरञ्जनतात्मक व्यवसायमा राखिएको छ । स्पा पर्यटन र स्वास्थ्यसँग सम्बन्धित भएकाले यसलाई नियमन गर्ने सरकारी निकाय पनि यीनै क्षेत्र हेर्ने हुनुपर्छ । 

स्पाका लागि समय

स्पा सेन्टरको स्तर, त्यहाँ उपलब्ध सेवा, स्पाको प्रकार र समयका आधारमा शुल्क निर्धारण हुने गर्छ । कुनै पनि सेन्टरमा गएर स्पा गर्न कम्तीमा एक घण्टा समय खर्चिनु जरुरी हुन्छ । त्यसमध्ये शिरोधारा गर्न ४५ मिनटदेखि एक घण्टा लाग्छ । यस्तै, साउनामा एक घण्टा लाग्छ । 

स्पा लिने सही तरीका

कुनै पनि व्यक्तिले स्पा गर्नुअघि आफ्नो आवश्यताबारे ध्यान दिनु जरुरी छ । आफू के कारणले स्पा जान लागेको हो तथा शरीरको आवश्यकता के हो भन्नेबारे स्पष्ट हुनुपर्छ । कसैलाई पसिनाको माध्यमद्वारा शरीरका विषादी बाहिर फाल्नुछ भने उसका लागि साउना स्टिम उपयुक्त मानिन्छ ।

शरीरलाई तन्काउने, आराम दिलाउने र शरीरका विषादी बाहिर फाल्ने हो भने बडी मसाज आवश्यक हुन्छ । तनाव तथा अनिन्द्रा छ र त्यसलाई कम गर्न शिरोधारा उपयुक्त मानिन्छ ।
चिसोका कारण जीउ दुख्छ र शरीरका मांसपेशीमा पीडा महशुस हुन्छ भने हट स्टोन थेरापी उपयुक्त मानिन्छ । जाडोमा स्टोन तथा विभिन्न प्रकारका थेरापी उत्तम मानिन्छ । हट स्टोन

मसाजमा तातो ढुंगाको प्रयोग गरिन्छ ।

नेपालमा पहिले पनि तातो ढुंगाले सेक्ने प्रचलन थियो । कसैलाई भित्रसम्मै चिसो गडेको छ भने त्यसलाई बाहिर निकाल्न हट स्टोन थेरापी उपयुक्त मानिन्छ । जाडो याममा हट स्टोन थेरापी गर्दा जोनी दुख्ने र मांसपेशीको दुखाई कम हुन्छ । जसले गर्दा नशा च्यापिएको, ढाड दुखेको, चिसो लागेकोलगायत समस्यामा राहत मिल्छ । (श्रेष्ठ स्पा संघ नेपालका उपाध्यक्ष हुन्) 

प्रतिक्रिया