यु–१९महिला राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेश उपाधि नजिक

राम्रो अनलाइन     १० चैत २०७८, बिहिबार
यु–१९महिला राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेश उपाधि नजिक

 

धनगढी– गण्डकी प्रदेश धनगढीमा सञ्चालन भइरहेको ‘मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । बुधबार आफ्नो समूह चरणको अन्तिम खेलमा मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार पार्‍यो । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । मधेसकी एलिशा यादवले अवीजित ३१ र साना प्रवीणले २१ रन बनाए ।

बलिङतर्फ गण्डकीकी कुसुम गोदरले २ र ज्योत्स्नीका मरासिनी तथा आकृति तिवारीले समान १र१ विकेट लिए । त्यसअघि गण्डकीका लागि ज्योत्स्नीका मरासिनीले ३४ बलमा ८ चौकाको मद्दतले ४३ रनको पारी खेलिन् । यस्तै आङ्पेम्बलुम्बा शेर्पाले १७ रन बनाइन् ।

बलिङतर्फ मधेस प्रदेशकी प्रतिमा शाह, साना प्रवीण र विमला मगरले समान २र२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच ज्योत्स्नीका मरासिनी चुनिइन् ।

बुधबार भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको फाइनल यात्रामा अंकुश लगाएको छ । यो खेल जितेको खण्डमा आफ्नो समूह चरणको एक खेलअघि नै समूह विजेता बनेर कर्णाली प्रदेशलाई फाइनल प्रवेश गर्ने अवसर थियो । तर लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजित भएको कर्णालीले अब बिहीबारको खेल कुर्नुपर्ने भएको छ ।

टस जितेर ब्याटिङ थालेको कर्णालीले १९।४ ओभरमा सबै विकेट गुमाएर ७२ रन बनायो । ७३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लुम्बिनीले १४.३ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । लुम्बिनीका लागि रन्जु श्रेष्ठले २९ रनको योगदान दिइन् । बलिङतर्फ कर्णालीकी अञ्जली थापा र तिर्सना विश्वकर्माले समान २र२ विकेट लिए ।

त्यसअघि कर्णालीका लागि किरण कुमारी कुंवरले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ आष्मा पुलामीमगरले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भइन् ।

समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम र वाग्मती प्रतिस्पर्धा गर्नेछन् । १र१ जितमात्रै निकालेका यी दुई टोलीमध्ये विजेता टोलीले कर्णाली प्रदेशसँग अंक बराबरी गर्नेछन् । उक्त खेलपछि रन रेटका आधारमा गण्डकी प्रदेशसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने टोलीको टुंगो लाग्ने छ ।

प्रतिक्रिया