अभिनेत्री सुष्मा कार्की सधैं चर्चामा हुन्छिन् । कहिले फिल्म र कहिले सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिले उनलाई चर्चामा ल्याएका हुन्छन् । जे जसरी भएपनि फिल्ममा लागेदेखि सुष्मा गुमनाम हुनुपरेको छैन । यो मेसोमा उनको विदेश दौडाहा पनि चलिरहेको छ । यतिबेला उनी अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा यतिबेला गर्मीयाम छ । तीन साताअघि सिड्नी टेकेकी सुष्माले त्यहाँ आफूले पाएको माया, साथ र सम्मानका लागि अष्ट्रेलियाली डायस्पोराका नेपालीप्रति नतमस्तक छिन् । सिड्नीमा यतिबेला उनी साथीभाइ र आफन्तहरूको भेटमा व्यस्त छिन् । सिड्नी आएको समयमा सुष्माले कतै यतै घरजम गर्ने विचार त गरेकी छैनन् ? सिड्नीमा चलेको चर्चाको बारेमा उनले यसो भनिन्, ‘त्यो सोच र उद्देश्यले म यहाँ आएको होइन । तर त्यसो भन्दैमा मेरो मनले खाएको पुरूष यहाँ नहोला पनि भन्न सकिन्न । त्यो पुरूष नेपालमा, सिड्नीमा वा अन्य देश जहाँ पनि हुनसक्छ । उड्दै जाँदा परिपक्व र बलियो गुँड जहाँ पाइन्छ, त्यहीं बास बस्न सक्छु ।’