पूर्व सचिव डा. मानबहादुर बिकेको पुस्तक ‘राज्य समावेशीता र विषम यात्रा’ विमोचन

राम्रो अनलाइन     ३१ जेठ २०८३, आइतबार
पूर्व सचिव डा. मानबहादुर बिकेको पुस्तक ‘राज्य समावेशीता र विषम यात्रा’ विमोचन

​काठमाडौं–नेपाल सरकारका पूर्व सचिव डा. मानबहादुर बिकेद्वारा लिखित ‘राज्य समावेशीता र विषम यात्रा’ नामक पुस्तकको शनिबार राजधानीमा एक विशेष समारोहका बीच विमोचन गरिएको छ। राष्ट्रिय दलित कर्मचारी समाज नेपालले आयोजना गरेको विमोचन कार्यक्रममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सचेतक प्रकाशचन्द्र परियारले पुस्तकको विमोचन गरेका हुन।

​कृतिका लेखक डा. बिके दलित समुदायबाट नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) बन्ने पहिलो व्यक्ति हुन। प्रशासनिक क्षेत्रमा लामो र गरिमामय अनुभव सँगालेका पूर्व सचिव बिकेले यस पुस्तकमार्फत राज्य व्यवस्थामा समावेशीताको वास्तविक अवस्था, यसका चुनौती र आफ्नो सेवाकालीन ‘विषम यात्रा’ का भोगाइहरूलाई समेटेका छन।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं रास्वपा सचेतक परियारले नेपालको निजामती सेवामा समावेशीता र आरक्षणको महत्त्वमाथि विशेष जोड दिए।

‘यदि राज्यले अहिले व्यवस्था गरेको आरक्षण प्रणालीलाई हटाउने हो भने नेपालको कर्मचारीतन्त्रमा दलित समुदायको उपस्थिति सवा प्रतिशत पनि पुग्न सक्दैन,’ सचेतक परियारले भने। उनले राज्यका हरेक अंगलाई वास्तविक रूपमा समावेशी र समतामूलक बनाउन अझै धेरै काम गर्न बाँकी रहेको र वर्तमान उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने धारणा राखे।

​कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका बुद्धिजीवी, राष्ट्रिय दलित कर्मचारी समाजका प्रतिनिधि तथा अधिकारकर्मीहरूले डा. बिकेको यो पुस्तकले नेपालको प्रशासनिक र सामाजिक रूपान्तरणको इतिहासलाई बुझ्न तथा आगामी दिनमा नीति निर्माण गर्न महत्त्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा काम गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया