सक्रिय र निष्क्रिय अल्छी

राम्रो अनलाइन     ०८ माघ २०७७, बिहिबार
सक्रिय र निष्क्रिय अल्छी

ठूलो उद्देश्य र संकल्पबिना, सिर्जनात्मक रूपमा हरेक दिन नयाँ गर्छु वा गर्नुपर्छ भन्ने अठोटबिना काम गर्ने र काम गर्दै नगर्नैबीच तात्विकक भिन्नता हुँदैन। नयाँ काम नगर्नु र काममा आनन्द प्राप्त नगर्नु पनि अल्छी नै हुनु हो। यस्ता मान्छेलाई सक्रिय अल्छी भन्न सकिन्छ। 


आलस्यबारे संसारका सम्पूर्ण मानिस जानकार छन्। प्रायः सबैले कुनै न कुनै समयमा अल्छीपनाको महसुस गरेकै हुन्छन्। अल्छी मानिसप्रति परिवार र समाज प्रायः सहिष्णु हुँदैन। ‘वरको सिन्को पर नसार्ने’ भन्ने सामाजिक उक्ति अल्छी मानिसकै लागि निर्माण गरिएको हो। अल्छी मानिस वा प्रवृत्तिलाई लिएर धेरै उखानटुक्का प्रचलित छन्।

परिवारका सदस्यको अल्छ्याइँले हैरान भएका आफन्त हामीले देखेकै छौँ। पढ्न अल्छी गर्ने छोराछोरीको अल्छ्याइँले विकल्पविहीन देखिएका अभिभावक, घरको काममा नसघाउने छोरीबुहारीका कारण लखतरान भएका आमा वा सासुहरू हाम्रो समाजमा प्रशस्त छन्। घरको कुनै पनि श्रमजन्य कार्यमा सहभागी नहुने श्रीमान्का कारण दिक्क भएका श्रीमती हजारौँ छन्। यस्ता उदाहरण प्रशस्त छन्। 

घर वा कार्यालयको नगरी नहुने काम गर्न मन नलागेर ठूलो मानसिक कष्ट झेल्दै जबर्जस्ती काम गर्नुपरेको उदाहरण प्रायः हामी सबैसँग छ। हामी धेरै योजना बनाउँछौँ। योजनाले ल्याउने सकारात्मक प्रभावबारे पनि हामीलाई जानकारी हुन्छ। उक्त योजना कार्यान्वयन गर्नका लागि हामीलाई कुनै पनि बाधा हुन्न।

उदाहरणका लागि, कुनै कविलाई कविता फुरिरहेको हुन सक्छ। कुनै पत्रकार टिप्पणी वा समाचारबारे स्पष्ट भइसकेको हुन सक्छ। कुनै किसानलाई ‘मैले यो खेती लगाएँ भने यति फाइदा हुन्छ’ भन्ने थाहा भइसकेको हुन सक्छ। तर, कविले ‘कविता लेख्छु’ भन्दाभन्दै महिनौँ गुजार्छ। पत्रकारले ‘टिप्पणी लेख्छु’ भन्दाभन्दै समय, काल र परिस्थति पुरानो हुन पुग्छ। किसानले ‘बाली लगाउन सुरु गर्छु’ भन्दाभन्दै धेरै समय गुजार्न पुग्छ। 

माथि उल्लिखित पात्रलाई काम गर्दा प्राप्त हुने सुखद परिणामबारे राम्रो जानकारी छ। ‘मैले उक्त कार्य गर्दा यो–यो फाइदा हुन्छ’ भन्ने गणितमा उनीहरू स्पष्ट छन्। तर, उनीहरू काम गर्दैनन्। काम नगर्नुको पछाडि उनीहरूलाई उक्त काम गर्न ‘मुड’ चल्दैन वा अल्छी लाग्छ।  

अल्छी भन्नेबित्तिकै हामी कुनै पनि श्रमजन्य काममा सहभागी नहुने मानिस भन्ने बुझ्छौँ। काम नगर्ने वा आफ्ना सामान्य आवश्यकता पनि अरूबाट पूरा गराउने मानिस नै अल्छी हो। सामान्यतः अल्छी मानिसबाट कुनै पनि प्रगति सम्भव हुँदैन भन्ने हाम्रो लोकबुझाइ छ। कतिसम्म भने हामी नेपाली आफ्नो गाउँठाउँ वा देशमा काम गर्न अल्छी भएका कारण हाम्रो देश नबनेको भन्ने चर्चा र छलफल यत्रतत्र सुनिन्छ।

खाडी मुलुकदेखि अन्य विदेशी मुलुकमा गएर जे–जस्तो कार्य गर्न पनि तयार रहने नेपाली नेपालमा काम गर्न अल्छी गर्छन् भन्ने चर्चा जहीँतहीँ चलिरहेको हुन्छ। 

अल्छी वा अल्छ्याइँको विषयमा हाम्रो समाजले वैज्ञानिक धारणा बनाउन सकेको छैन। श्रम नगर्ने मानिस ‘अल्छी हो’ भन्ने सपाट धारणाबाट हामी दीक्षित छौँ। मेरो विचारमा अल्छी वा अल्छ्याइँ दुई प्रकारका हुन्छन्, सक्रिय र निष्क्रिय। 

निष्क्रिय अल्छीलाई हामीले ठम्याएका छौँ। निष्क्रिय अल्छीलाई मात्र हामी अल्छी मानिरहेका छौँ। तर, हाम्रो समाज वा देश माथि उठ्न नसक्नुमा सक्रिय अल्छीहरूको नै महŒवपूर्ण भूमिका छ। सक्रिय अल्छ्याइँले नै हामीलाई बर्बाद गरिरहेको छ। 

सक्रिय अल्छी र अल्छ्याइँ
सक्रिय अल्छ्याइँलाई आलस्य भनेर ठम्याउन नसक्नु नै हाम्रो मूल समस्या हो।  परिवार होस् वा देश, यी दुवैको प्रगतिका लागि निष्क्रिय अल्छीभन्दा सक्रिय अल्छीहरू मुख्य बाधा हुन्। सक्रिय अल्छी मान्छे बिहानदेखि बेलुकासम्म खटेकै देखिन्छ। उसले काम गरेको छैन भन्ने अवस्था नै रहँदैन। उसको दौडादौड साह्रै टीठलाग्दो हुन्छ। कतिपय अवस्थामा त ऊ खाँदै नखाई र सुत्दै नसुती खटिरहेको हुन्छ।

उदाहरणका लागि, हाम्रा आमा, दिदीबहिनीहरू घरमा बिहानदेखि बेलुकासम्म अहोरात्र काम गरिरहकै हुन्छन्। बिहान सबेरै उठेर राति सबैभन्दा ढिलो सुत्ने उनीहरू नै हुन्छन्। तर, हाम्रा आमा वा दिदीबहिनीको यो सक्रियताले कुनै पनि उत्पादनशील काम गर्न सकेन। यसको अर्थ महिलाले गरेको घरायसी कामको कुनै पनि महŒव छैन भन्न खोजिएको होइन। मात्र उक्त खटाइको परिणाम के ? त्यसले के सिर्जना ग¥यो ?

यस्तो रातदिनको खटाइले हिजोभन्दा आज र आजभन्दा भोलि के कस्ता सकारात्मक सुधार ल्यायो भन्न खोजेको हो। यस्तो कामले उत्पादनशीलताभन्दा पनि उही एउटै  सिलसिला दोहो¥याइरहने क्रम मात्र स्थापित ग¥यो। हरेक दिनको कार्यमा नयाँपन, नयाँ सोच र संकल्पले कहिल्यै स्थान पाएन। 

यो कथा महिलाको मात्र होइन, आम मान्छेको कथा हो। कार्यालयमा काम गर्ने अधिकांश कर्मचारी यस्तै सक्रिय अल्छ्याइँमा आफ्नो अमूल्य जीवन बर्बाद गरिरहेका हुन्छन्। उनीहरूसँग आफूले गरेको काममा आनन्द हुँदैन। न त आफ्नो कामप्रति गर्व नै गर्न सक्छन्। उही ‘बिरालो बाँधेको कथा’ जस्तो रातदिन उही र उस्तै काममा आफूलाई व्यस्त राख्नु उनीहरूको नियति हुन्छ।

अर्काेतर्फ सक्रिय अल्छ्याइँपूर्वक काम गर्ने मानिसले कहिल्यै पनि जस पाउँदैन। जस पाउनका लागि हरेक कार्य सिर्जनात्मक र नवीन हुनुपर्छ। रातदिन उही र उस्तै कार्य गर्नेलाई कसैले जस दिँदैन। यसरी हेर्दा सक्रिय अल्छीको कर्म अर्थहीन बनिरहेको हुन्छ। 

ठूलो उद्देश्य र संकल्पबिना, सिर्जनात्मक रूपमा हरेक दिन नयाँ गर्छु वा गर्नुपर्छ भन्ने अठोटबिना काम गर्ने र काम गर्दै नगर्नैबीच तात्विकक भिन्नता हुन्न। एउटाले काम गरेको देखिन्छ भने अर्काेले नगरेको। तर, यी दुवैबाट आउने परिणाममा भने ठूलो अन्तर हुँदैन।

त्यसैले काम नगर्नु मात्र होइन, नयाँ काम नगर्नु, काममा आनन्द प्राप्त नगर्नु र हरेक दिन आफ्नो काममा परिष्कार नखोज्नु पनि अल्छी नै हुनु हो। जसलाई हामी सक्रिय अल्छी भन्न सक्छौँ। 

जीवनको मूल्य 
हामी अधिकांशले जीवनको मूल्य नै बुझ्न सकेका छैनौँ। वैज्ञानिक र अनुसन्धानकर्ताका अनुसार मानव शरीरजस्तो रोबोट बनाउन चार अर्ब अमेरिकी डलर खर्च हुन्छ। अर्थात्, हाम्रो भौतिक शरीरको मूल्य नै चार खर्ब रुपैयाँभन्दा बढी छ। चार खर्ब रुपैयाँको सामथ्र्य भएको शरीर बोकेर हामी केही रुपैयाँका लागि तड्पिरहेका छौँ। आफ्नो सामथ्र्य र महŒवबारे थोरै पनि मनन नगरेकै कारण हाम्रो जीवन सक्रिय अल्छी भएर नै बितिरहेको छ। 

एक जना धुल–नुन अल–मिस्री नामक सुफी सन्त थिए। एक दिन उनको शिष्यले उनलाई समाजले हेर्ने दृष्टिकोणबारे प्रश्न सोधे। उनले आफ्ना गुरुलाई समाजले किन पागल भनेको भनेर गुनासो गरे। धुल–नुनले सोधे, ‘तिमीलाई चाहिँ म पागल लाग्छ कि लाग्दैन ?’ शिष्यले आफूलाई त नलाग्ने तर मानिसहरूले किन भनेको भनेर पुनः सोधे।

त्यसपछि सन्तले एउटा ढुंगा गोजीबाट निकालेर दिँदै शिष्यलाई भने, ‘तरकारी बजारमा लगेर यो ढुंगाको मूल्य लगाऊ, अधिकतम कतिसम्ममा मानिसहरू किन्न तयार हुन्छन्, पत्ता लगाऊ। तर, ढुंगा चाहिँ नबेच।’ शिष्य तरकारी बजारमा पुगेर ढुंगाको मूल्य लगाउन थाले। त्यहाँका मानिस दश रुपैयाँबाट सुरु गरेर सय रुपयाँसम्म दिन तयार भए।

त्यो कुरा शिष्यले धुल–नुनलाई सुनाए। त्यसपछि गुरुले शिष्यलाई त्यही ढुंगासहित सुन बजारमा पठाए। सुन बजारमा ढुंगाको मूल्य हजारबाट सुरु भयो। एक जना स्वर्णकार त एक लाख रुपयाँ दिन तयार भए। त्यसपछि शिष्यलाई गुरुले हिरा व्यापारीहरूकहाँ पठाए। हिरा बजारमा उक्त ढुंगाको मूल्य दश लाखबाट सुरु भएर करोडमा गएर टुंगियो। आश्चर्यमा परेका शिष्यलाई सुफी सन्तले भने, ‘मैले दिएको ढुंगा हिरा थियो।

त्यसको मूल्य जौहरीले थाहा पायो र करोड दिन तयार भयो। त्यसै गरी, जसले मलाई ठम्याउन सक्छ, उसले महात्मा देख्ला। ठम्याउन नसक्नेले पागल भन्ला।’ 

यो कथा हामी सबैको नियति हो। हामी आफ्नो जीवनको मूल्य बुझ्न नसकेर सानोतिनो जागिरमा जीवन बिताउँछौँ। हरेक दिन मेसिनजसरी काम गर्छाैं। थोरै जोखिम लिने र नयाँ गर्ने आँट गर्दैनौँ। परमात्मा वा प्रकृतिले हामीलाई विशाल काम गर्न सक्ने क्षमता र वातावरण दिएका हुन्छन्। तर, हामी स–साना कुरामै जीवन सिध्याउँछौँ। 

निष्क्रिय अल्छी र अल्छ्याइँ 
आधुनिक युगमा सबैभन्दा लामो समय संसारको धनी मानिस बनेका बिल गेट्सले आफूले कम्पनीका लागि लिइने ‘जब इन्टरभ्यू’मा अल्छी मानिसलाई बढी प्राथमिकता दिने गरेको बताएका थिए। उनका अनुसार अल्छी मानिसले नै सबैभन्दा गाह्रो कामलाई सबैभन्दा सजिलोबाट कसरी गर्ने भन्ने पत्ता लगाउँछ। 

उनको भनाइ र हामीले अल्छ्याइँको विषयमा बनाएको अवधारणामा आकाश–जमिनको फरक छ। हामी ‘अल्छीलाई कुनै पनि जिम्मेवारी दिनु हुँदैन’ भन्छौँ। तर, उनी अल्छीलाई नै सबैभन्दा गाह्रो काम दिनुपर्छ भनिरहेका छन्। सायद यस्तै फरक सोच र कार्यकुशलताले नै सामान्य अमेरिकी नागरिक संसारका सबैभन्दा धनी मानिस बनेका होलान्।  

शारीरिक श्रम नगर्ने निष्क्रिय अल्छीहरूको मस्तिष्क शक्तिशाली हुन्छ भन्ने तथ्यलाई पछिल्ला अनुसन्धानले उद्घाटित गरिरहेका छन्। बुद्धिमान मानिसको सानोतिनो काममा आकर्षण नै हुँदैन। ऊ महान् कामको पर्खाइमा हुन्छ। ‘कसो गरी ठूलो धमाका दिऊँ’ भन्ने खोज उसको मस्तिष्कले गरिरहेको हुन्छ। मानिसले सधँैभरि पैदल हिँड्न जाँगर चलाएको भए यो संसारमा गाडी र हवाईजहाज नबन्न पनि सक्थे। हिँड्न अल्छी गर्ने वा हिँड्नु बाहेकका विकल्प छन् कि भनेर सोच्ने मानिसका कारण नै सवारीसाधन निर्माण भएका हुन्। 

बेला–बेलामा आलस्य हुनुु वा काम गर्न जीउ असमर्थ भइरहेको जस्तो लाग्ने अवस्थाको अल्छ्याइँ चाहिँ उचित भोजन, आवश्यक निन्द्रा र व्यायामका अभावले भएका हुन सक्छन्। 

माक्र्सवादमा बुर्जुवा वर्गको विषयमा ठूलो चर्चा पाइन्छ। उनीहरूलाई माथि उक्लन पनि नसक्ने र तल ओलर्न पनि तयार नहुने वर्गका रूपमा माक्र्सवादले व्याख्या गरेको छ। यस्ता वर्ग वा मानिसलाई सक्रिय अल्छी पनि भन्न सकिन्छ। जसको कर्मले समाज रूपान्तरणमा खासै भूमिका निर्वाह गर्दैन। तसर्थ निष्क्रिय अल्छ्याइँभन्दा पनि सक्रिय अल्छ्याइँ आजको मुख्य चुनौती हो।  

प्रतिक्रिया