चौधौँ शताब्दीमा जतिबेला विश्वको जनसंख्या ४५ करोड मात्र थियो, युरोप, अफ्रिका र एसियामा ‘ब्ल्याक डेथ’ भनिने ठूलो महामारी फैलियो । महामारीले करिब १५ करोड मानिसको ज्यान लिएको अनुमान गरिएको थियो । त्यसपछि स्वाइन फ्लु, हङकङ फ्लु, एसियन फ्लु, स्पेनिस फ्लु, एचआईभी एड्स, रसियन फ्लु र हैजा आदि महामारीका कारण पनि करोडौँ मानिसले ज्यान गुमाए । सन् २००३मा चीनबाट सुरु भएको सार्स नामको कोरोना भाइरसबाट २६ देश प्रभावित भएका थिए भने करिब आठ सयले ज्यान गुमाएका थिए । त्यसै गरी सन् २०१२ मा साउदी अरेबियामा देखिएको मर्स कोरोना भाइरसले पनि धेरैको ज्यान लिएको थियो । अहिले विश्वमा आतंक मच्चाइरहेको कोभिड–१९ लाई पनि कोरोना भाइरसकै एक नयाँ प्रजातिको रूपमा लिइएको छ । तर, यो भाइरस विगतका भन्दा बेग्लै र अलि कडा भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । डिसेम्बर २०१९ मा पहिलो पटक चीनको वुहाननजिकै पशुपंक्षी बजारमा फेला परेको यस भाइरसले करोडौँ मानिसलाई संक्रिमत बनाएको छ र लाखौँको ज्यान लिइसकेको छ ।
विश्वका अति शक्तिशाली मुलुकको अर्थतन्त्र डगमगाइरहेको सन्दर्भमा नेपालजस्तो देशको अर्थतन्त्रमाथि असर नपर्ने कुरै भएन । कोरोना भाइरसका कारण नेपालसहित दक्षिण एसियाका मुलुकको आर्थिक वृद्धिदर ४० वर्षयताकै सबैभन्दा कमजोर हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
कोरानासँग लड्न चीनलाई हम्मे–हम्मे परेको थियो । अमेरिका र स्पेनले यसलाई सामान्य रुघाखोकीका रूपमा लिँदा त्यसको परिणाम भोग्नुप¥यो । भाइरसबाट मुक्ति पाउन ती देश हायलकायल भएका छन् । स्वास्थ्य मापदण्ड पूरा नगरी नेपालमा भइरहेको चहलपहलले भोलिका दिनमा ठूलो दुर्घटना ननिम्त्याउला भन्न सकिन्न । हालै, बेलायतमा देखिएको नयाँ कोराना भाइरस यदि नेपालमा प्रवेश ग¥यो भने नेपालीको हालत के होला ? अमेरिकी सरकार थर्कमान भएको बेला नेपालको वर्तमान कार्यकारी सरकारले के सामथ्र्य राख्ला ? समयमै सबै पक्ष सजग हुन जरुरी छ ।
०००
भाइरस भनेको एक प्रकारको अपूर्ण र सूक्ष्म जीवाणु हो । कुनै पनि भाइरस जन्तु वा वनस्पतिको कोष बाहिर लामो समय जीवित रहन सक्दैन । प्रायः जनावरमा रहने भाइरस अपवादको रूपमा जन्तुबाट मानिसमा र मानिसबाट जन्तुमा सर्न सक्ने बताइएको छ । माइक्रोस्कोपबाट हेर्दा कोरोना भाइरसको बाहिरी सतह एक प्रकारको प्रोटिन ‘क्राउन’ (ल्याटिन भाषामा कोरोना भनिन्छ) जस्तै देखिने भएकाले वैज्ञानिकहरूले यस प्रकारका सबै भाइरसलाई कोरोना भाइरस नाम दिएका हुन् । सबै भाइरस प्रोटिन र बोसोजस्तो पदार्थ मिलेर बनेको सानो डल्लो आकारको, तर हाम्रो शरीरका कोषभन्दा सयौँ गुना साना हुन्छन् । यो सानो डल्लो वा कणभित्र आरएनए वा डीएनएजस्ता वंशाणु रहन्छन् । अहिले विश्वभरि आतंक मच्चाइरहेको कोरोना आरएनए वंशाणुअन्तर्गत पर्छ । सार्ससँग मिल्दोजुल्दो प्रकृतिको भएकोले यसको नाम पनि कोभिड रहेको हो । यो भाइरस सानो भएकाले मानव शरीरको कोषभित्र बिनारोकटोक सजिलै छिर्न सक्छ र हाम्रो कोषलाई नियन्त्रणमा लिई हाम्रै कोषको मद्दतले आफ्नो संख्या वृद्धि गर्दै जान्छ । त्यसपछि वरपरका कोषहरूमा छिर्दै पूरै शरीरमा फैलिन्छ । जसले गर्दा मानिसको मृत्युसमेत हुन सक्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो हुनेले कोरोनालाई जितेका छन् । तर, जसको प्रतिरक्षण क्षमता कमजोर रहेको छ, त्यस्ता बिरामीको मृत्यु हुने गरेको छ । मधुमेह, उच्च रक्तचाप, क्यान्सरका रोगी, मिर्गौला वा अरू अंग फेरेकाहरू कोरोनाको जोखिममा बढी परेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले खोप मृत्युदर नियन्त्रण गर्न र स्वास्थ्य प्रणालीलाई समेत प्रभावकारी बनाउने पहिलो अस्त्र भए पनि त्यसले महामारीलाई नियन्त्रण गर्न नसक्ने बताएका छन् । अनुगमन र परीक्षणको दायरा बढाउँदै बिरामीलाई अनिवार्य समुदायको सम्पर्कबाट टाढा राख्नुपर्ने उनको भनाइ छ । सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजर प्रयोग गरी यो भाइरस केही हदसम्म नियन्त्रण हुने पनि उनले बताएका छन् ।
०००
कोरोनाबाट जोगिन नेपालमा लसुन, कागती, गुर्जो र बेसारजस्ता खाद्यवस्तु खूब प्रयोग भए÷भइरहेका छन् । तिनमा पाइने तत्वले हाम्रो रोग प्रतिरक्षामा ठूलो प्रभाव पार्ने वैज्ञानिक प्रमाण भए पनि कोरोना निको हुने कुनै वैज्ञानिक आधार छैन । बरु, त्यसको अनुचित प्रयोगले अरू समस्या निम्तिन सक्ने चिकित्सकहरूले बताइरहँदा पनि प्रयोगमा कमी आएको छैन । परीक्षण दर घटेकाले संक्रिमतको संख्या कम देखिएको छ । यी वस्तुको सेवनले संक्रमण घटेको तर्क निराधार रहेको स्वास्थ्य मन्त्रालयले आफ्नो विज्ञप्तिमा जनाएको छ ।
विश्व स्वास्थ्य संगठनअनुसार विश्वका सयभन्दा बढी खोप उत्पादक कम्पनी प्री–क्लिनिकल चरणमा रहे पनि फाइजर एन्ड बायोएनटेक (रसिया), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) र साइनोभ्याक्स (चीन) लगायत कम्पनीको खोप अन्तिम चरणको परीक्षणमा प्रभावकारी देखिएको जनाइएको छ ।
०००
नेपालको स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका डा. झलक शर्मा गौतमका अनुसार सुरुमा खोप उत्पादक कम्पनीले खोप उत्पादन गर्ने मुलुकमा दर्ता गराइसकेपछि विश्व स्वास्थ्य संगठनमा दर्ता हुनुपर्ने र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा दर्ता गराएपछि मात्र खोप भित्रिन सक्ने बताएका छन् । अन्तिम परीक्षणमा रहेका पाँच खोपमध्ये अक्सफोर्ड एक्ट्राजेनिकाले उत्पादन गरेको खोप तुलनात्मक रूपमा सस्तो र दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिने भएकाले त्यसलाई ल्याउने तयारी भइरहेको पनि शर्माले बताएका छन् । खोपको प्रतिडोज १० डलर पर्न सक्ने शर्माको अनुमान छ । नेपालको कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई निःशुल्क खोप दिने योजना सरकारको छ । २ सय ५ जनसंख्यालाई पुग्ने खोपको भाक्स सुविधाअन्तर्गत आगामी मार्चभित्र ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) ले निःशुल्क खोप उपलब्ध गराउन सक्ने र त्यसका लागि आवश्यक पर्ने भण्डारणलगायत व्यवस्थापन गर्नसमेत सरकारलाई पूर्वजानकारी गराइसकेको शर्माको भनाइ छ । बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जीटूजी) सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउने पनि शर्माले बताएका छन् ।
कोरोना भाइरस विरुद्धको खोप व्यवस्थापन तयारी समितिले गाभीले अनुदान दिने खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रपंक्तिमा काम गर्नेलाई दिइने जनाएको छ । त्यसपछि वृद्धवृद्धा र दीर्घ रोगी अर्थात् संक्रमणको जोखिम बढी रहने समूहले पाउने पनि समितिले जनाएको छ । अन्यलाई खोप लगाउने योजना रहे पनि १५ वर्षमुनिका बालबालिकालाई हाल खोप दिने योजना समितिले बनाएको छैन ।
संक्रमण परीक्षण र उपचारमा सरकारी रवैया देख्दा खोप वितरण न्यायोचित होला भन्नेमा शंका गर्ने ठाउँ प्रशस्त छ । अहिलेको काम चलाउ सरकारले कोरोनाविरुद्ध कस्तो पाइला चाल्ला हेर्न बाँकी छ ।