मान्छेको श्रेष्ठ सम्पत्ति इमानदारी हो

एजेन्सी     १९ माघ २०७७, सोमबार
मान्छेको श्रेष्ठ सम्पत्ति  इमानदारी हो

दास प्रथा उन्मूलन गर्ने अमेरिकाका सोह्रौँ राष्ट्रपति अब्राहम लिंकनको बाल्यकाल अत्यन्त दुःखमय थियो । उनी साधारण परिवारमा जन्मेका थिए । उनको परिवार डुंगा चलाएर र दाउरा बेचेर जीविका चलाउँथ्यो । बालक लिंकनको अध्ययनमा गहिरो अभिरुचि थियो । महापुरुषहरूको जीवनी पढ्न भनेपछि भुतुक्कै हुन्थे । तर, किताब किन्नलाई उनीसँग पैसा हुँदैनथ्यो । 

उनी अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको जीवनबाट साह्रै प्रभावित थिए । १६ वर्षे किशोर लिंकनले एक जना छिमेकीसँग वासिङ्टनको जीवनीको किताब भएको थाहा पाए । उनले त्यो किताब अनुनय–विनय गरेर मागे । छिमेकीले चाँडै फर्काउनुपर्ने शर्तमा किताब दिए । लिंकन अत्यन्त खुशी भए । 

उनी किताबमा डुब्दै थिए । पूरै पढ्न भ्याइसकेका थिएनन् । आधाउधी मात्र के पढिभ्याएका थिए, एक दिन अचानक घनघोर वर्षा भयो । लिंकन छाप्रोमा बस्थे । त्यसको छानोबाट पानी चुहिन्थ्यो । छिमेकीले दिएको किताब पानीमा भिजेर खराब भयो । लिंकनलाई बडो चिन्ता भयो । उनले सोचे, ‘अरूको सामानको हिफाजत गर्न नजान्ने मैले किन सापटी मागेर ल्याएँ होला ?’ 

भोलिपल्ट उनले छिमेकीलाई भेटेर भने, ‘मबाट ठूलो अपराध भयो । तपाईंको किताब पानीले भिजेर खराब भयो । मैले जोगाउन सकिनँ ।’ 
छिमेकी लिंकनको इमानदारी, सरलता र निष्कपटता देखेर असाध्यै प्रसन्न भए । 

‘म तपाईंलाई नयाँ किताब किनेर दिन्छु,’ लिंकनले भने । 
‘तिमीसँग फुटेको कौडी छैन, कसरी किन्छौ ?’ छिमेकीले भने, ‘भैगो छोडिदेऊ ।’ 

लिंकनले आत्मविश्वासपूर्वक भने, ‘मसँग पैसा नभए पनि श्रम गर्ने शक्ति छ । मान्छेको श्रेष्ठ सम्पत्ति इमानदारी हो । मसँग इमानदारी छ । म तपाईंको खेतमा काम गर्नेछु । किताबको मूल्यभन्दा दोब्बर मूल्यको श्रम गरेर तपाईंको ऋण चुक्ता गर्नेछु ।’ 

उनले आफूले भनेबमोजिम छिमेकीको खेतमा काम गरेर किताबको मूल्य चुकाइदिए । लिंकनको इमानदारी देखेर छिमेकी दंग परे । किशोर लिंकनप्रति उनको मनमा सम्मान जाग्यो । 
 


 

प्रतिक्रिया