२०३७ सालमा कब्जियतले सताउनु नै मेरा लागि आध्यात्मिक मार्ग खोल्ने घटना बन्न पुग्यो। डाक्टरको उपचारले कब्जियत ठीक नभएका कारण म योग गर्न पुगेँ। यस सिलसिलाले योग र ध्यान दैनिक अभ्यासका रूपमा मेरो जीवनमा जोडिन आइपुगे। जनकपुरस्थित नराह भन्ने गाउँमा ध्यान गर्दा सविकल्प समाधि घटित भएपछि मेरो जीवन पूर्ण रूपमा बदलियो।
गहिराइमै योग सिक्नुपर्छ भन्ने बोध भए पनि त्यतिबेला नेपालमा योग सिक्ने अवस्था थिएन। योग पढ्न वा सिक्नका लागि भारत, बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा षड्दर्शनको विद्यार्थीका रूपमा भर्ना भएँ। त्यहाँ पनि तीन वर्षको दौरान दर्शनका रूपमा योग पढियो तर अभ्यास (योगासन) गर्न पाइएन।
योगासन सिक्ने हुटहुटीकै बीच संस्कृत विश्वविद्यालयको तीनवर्षे डिप्लोमा कोर्स सकेर बौद्ध भिक्षुका रूपमा बनारसबाट निक्लिएँ र ऋषिकेश गएँ। विश्वगुरुको आश्रममा काम गरेर योगका केही आसन सिकेँ। मैले विभिन्न ठाउँ चहार्दै र हण्डर झेल्दै योग, रेकी, ‘सुपर लर्निङ’ र ‘माइन्ड टेक्नोलोजी’ सिकेको हुँ। यसरी सिक्नु अत्यन्तै जोखिमपूर्ण पनि हुन्थ्यो भने कतिपय ठाउँमा अद्भूत सिकाइ र अनुभव पनि हासिल हुन्थे।
पञ्जाबी परिवार
सन् १०८० को दशकको पूर्वाद्र्धमै मैले कृष्णमूर्तिलाई भेटेको थिएँ। बनारसस्थित राजघाटमा उहाँको आश्रम थियो। कृष्णमूर्तिका ‘फलोअर’हरूसँग राम्रो चिनजान भयो। त्यतिबेला कृष्णममूर्तिको तीनदिने शिविर प्रचलनमा थियो। म पनि कृष्णमूर्तिका शिष्यहरूसँग त्यस्ता शिविरमा जाने गर्थें।
दिल्लीमा शिविर भएको बेलामा पञ्जाबी दम्पतीसँग भेट भयो। म त्यसबेला बौद्ध भिक्षु थिएँ। बौद्ध भिक्षु भएका कारण बस्न र हिँड्न कठिन हुँदैनथ्यो। दिल्लीको शिविरमा भेट भएको पञ्जाबी जोडीले मलाई उनीहरूको घरमा बस्नका लागि आमन्त्रण गरे। मैले सहर्ष स्विकारेँ।
श्रीमान्–श्रीमती नै रिटायर्ड प्रोफेसर थिए। घर पूर्ण सम्पन्न थियो। उनीहरूको छोराछोरी कहाँ थिए भन्ने अहिले मलाई याद हुन सकेन। घरमा दुई जना मात्र बस्थे। पति–पत्नी नै अध्यात्मसँग जोडिएका थिए। श्रीमान् अध्यात्मको शिखरमा पुगेको प्रतीत हुन्थ्यो भने श्रीमती शिखरको फेदीमै रहेझैँ लाग्थ्यो।
श्रीमान्–श्रीमती दुवैले बौद्ध भिक्षुका रूपमा मलाई खुबै सत्कार गरे। बसाइ, खानपान र दिल्ली घुमघाम लगायतमा उनीहरूले सकेसम्म सेवा गरे।
श्रीमतीसँग जीवनप्रति गुनासैगुनासो थियो। अझ आध्यात्मिक क्षेत्रमा आफ्नो कुनै पनि परिवर्तन नभएको भन्नेमा उनी अति असन्तुष्ट थिइन्। खास गरी असल गुरु भेट्टाउन नसकेकै कारण आफ्नो आध्यात्मिक उन्नति नभएको उनको ठम्याइ थियो। उनी योगानन्दको ‘अटोबायोग्राफी अफ ए योगी’ पुस्तकको बारबार चर्चा गरिरहन्थिन्। भनेका जस्ता गुरुहरूहरूको दीक्षा र सत्संग पाएकाले नै योगानन्दको आध्यात्मिक रूपान्तरण हुनसकेको उनको बुझाइ थियो। आफूले पनि त्यस्ता गुरु पाएको भए आफू पनि आध्यात्मिक क्षेत्रमा धेरै अगाडि पुगिसक्ने कचकच गरिरहन्थिन्।
उनले धेरै गुरु फेरिसकेकी थिइन्। त्यही फेर्ने क्रममा उनी कृष्णमूर्तिसम्म पुगेकी थिइन्। अध्यात्म भनेको शान्ति र आनन्द हो भन्ने उनले सुनेकी थिइन्। तर, त्यसको अनूभूति गर्न पाएकी थिइनन्। त्यही अनुभूति गर्न नपाउनुले नै उनलाई छटपटी भइरहेको थियो।
श्रीमान् असाध्यै कम बोल्थे। जे बोल्थे, त्यो आफैँमा अद्भूत प्रतीत हुन्थ्यो। उनको अनुहारमा सधैँ हाँसो टाँगिइरहेझैँ लाग्थ्यो। सधैँ शान्त र मस्त रहन्थे। साठी वर्ष आसपास पुगिसकेका उनी सधैँ तरोताजा देखिन्थे। सामान्यतः पञ्जाबीहरू (शिख) को दाह्री, कपाल र पगडीको भेष देखिन्थ्यो। तर, उनी सधैँ सफाचट हुन्थे। दाह्री–कपाल पालेका थिएनन्। कपाल नभएपछि पगडी नहुनु स्वाभाविक नै हो। एक दिन ‘मर्निङ वाक’का क्रममा मैले यस विषयमा जिज्ञासा राखेँ।
उनले आफूले पहिला दाह्री–कपाल पाल्ने गरेको बताए। तर, कृष्णमूर्ति पढेपछि दिलमा आगो लागेको र उक्त आगोले दाह्री सल्किएको भन्दै उनले ठट्टा गरे। परम्परा र संस्कृतिका रूपमा मान्दै आएका धर्म, वर्ण र वर्गलगायत सम्पूर्ण मान्यतालाई आफूले छाडेको उनले सुनाए। उक्त सम्पूर्ण मान्यताहरूको त्याग गरेपछि जीवन बडो आनन्दमय बनेको उनको बुझाइ थियो।
एकै घरमा बस्ने श्रीमान् टुंगोमा थिए, श्रीमती अझै भताभुंग थिइन्। दुवैको बीचमा बडो प्रेम र सामञ्जस्य देखिन्थ्यो। यिनीहरू कसरी मिल्न सकेका होलान् ? एउटाको चेतना र अर्काेको चेतनाको बीचमा यति ठूलो दूरी हुँदा पनि यत्रो मेलमिलाप कसरी ? म तीनछक परेको थिएँ।
करिब डेढ हप्ता बसेपछि मैले उक्त घरबाट बिदा लिने सोच बनाएँ। घरबाट निक्लने बेलामा उक्त परिवारले आफूलाई गरेको सेवाको विषयमा आभार व्यक्त गरेँ र श्रीमान्लाई भनेँ, ‘सर म भिक्षु भेषमा छु। तपाईं गृहस्थमा हुनुहुन्छ। तर, मैलेभन्दा बढी अध्यात्मको स्वाद तपार्इंले चाखिसक्नुभएको छ। यो छोटो बसाइमा तपाईंभित्रको रूपान्तरणलाई राम्रो गरी अनुभूत गर्न पाएँ। तपाईंले प्राप्त गरेको अध्यात्मको आनन्द वा ज्ञानको आवश्यकता सबैभन्दा पहिला म्याडमलाई नै छ। आफूले पाएको ज्ञानबाट म्याडमलाई सहयोग गर्नुस्।’
मेरो कुरा सुनेर उनले भने, ‘हेनुसर्् भन्तेजी, मभित्र थोरबहुत आध्यात्मिक चेत खुलेपछि मेरा लागि संसारको सबैभन्दा ठूलो बेइमान मै हुँ भनेर बुझेँ। आध्यात्मिक उज्यालो भित्र छिरिसकेपछि मभित्रको बदमास सुध्रिसकेको छ। यो सुध्रिएपछि मेरा लागि संसारमा सुधार्नुपर्ने कोही पनि बाँकी छैन। मेरी श्रीमती जस्ती छिन्, मलाई त्यसले कतै घोचेको छैन। उनी ठीक छिन् भने मैले उनलाई केका लागि सुधार्ने ?’
उनको कुरा सुनेपछि मेरो आँखाबाट आँशु झर्यो। हामी संसारमा अक्सर अरूलाई सुधार्ने कोसिस गर्दछौँ। हाम्रो जीवनको अधिकांश समय अरूप्रतिको गुनासो र अरू सुध्रने अपेक्षामै बित्छ। तर, ती पञ्जाबी श्रीमान्ले जे भने त्यो आफैँमा अकल्पनीय थियो। उनको यही असाधारण समझका कारण उनीहरूको परिवार आनन्दमय बनेको थियो।
त्यो पञ्जाबी परिवारसँगको बसाइ मेरा लागि कुनै आध्यात्मिक आश्रमभन्दा कम थिएन। मेरो हृदयमा ती पञ्जावी पुरुष गुरुकै रूपमा प्रतिस्थापित भए।
बज्रौली सिक्दा बालबाल बचेँ
विभिन्न यत्न र प्रयत्न झेल्दै भारतमा योग सिकेपछि म नेपाल फर्किएँ र योग सिकाउन थालेँ। नेपालमा आएर योग सिकाउनुसँगै योगमा आफूले फड्को मारेको अनुभूति हुन्थ्यो। तर, योगतन्त्रमा धेरै सिक्न बाँकी रहेको हुटहुटी सधैँ रहन्थ्यो। एक पटक हँडिया बाबाको एउटा पुस्तक हात पर्यो। उक्त पुस्तकमा बज्रौली मुद्राको चर्चा गर्दै हँडिया बाबा बज्रौली मुद्राको सिद्ध रहेको बताइएको थियो। भारतमा लामो समय बस्दा पनि बज्रौली सिद्धहरू भेटेको थिइनँ। बज्रौली मुद्रा सिद्धिपछि सेक्स ज्ञान (समाधि) मा रूपान्तरण हुन्छ भन्ने धेरै पढेको र सुनेको थिएँ। हँडिया बाबालाई भेट्ने तीव्र इच्छा भयो र भारततिर हिँडेँ।
बाबा खासै चर्चित हुनुहुँदो रहनेछ। निकै कष्टपूर्ण खोजाइपश्चात् इलाहाबाद नजिकै रहेको झुसी भन्ने स्थानमा उहाँको आश्रम भएको पत्ता लाग्यो। सोध्दैखोज्दै उहाँको आश्रममा पुगेँ। तर, बाबाको मृत्यु भइसकेको रहेछ।
बाबाकै एक जना शिष्यसँग भेट भयो। मैले बाबाको शिष्यसँग बज्रौली मुद्रा सिक्न आफू नेपालबाट आएको निवेदन गरेँ। उहाँले ‘आज कुन महिनाको कुन तारिख ?’ भनेर सोध्नुभयो। मैले ‘अक्टोबर १६’ भनेँ। उहाँले ‘अर्काे वर्षको अक्टोबर १६ मा आउनू’ भन्नुभयो।
मलाई फसाद पर्यो। मैले अनुनय गरेँ। तर, उहाँ टसको मस हुनुभएन।
मूल गुरुले नसिकाए पनि उनका शिष्यसँग दोस्ती गरेर सिक्छु भन्ने सोच आयो। त्यो रात त्यही आश्रममा बसेँ। म त्यसबेला राति खाना खान्नथेँ। दिउँसो कुराकानीका क्रममा उक्त कुरा गुरुलाई पनि बताएको थिएँ। राति बस्ने क्रममा आश्रमका शिष्यहरूले खाना खानका लागि मरिहत्ते गरे। खान मन थिएन।
तर, तिनै शिष्यसँग दोस्ती गरेर बज्रौली जो सिक्नु थियो। खाना नखाने व्रत भंग गर्न तयार भएँ। गुरुले मैले खाना खाएको थाहा पाएछन्। आफूलाई साधक बताउने मानिसले झुट बोलेको भनेर उहाँले उल्कै गाली गर्दै राति नै आश्रमबाट निकालिदिनुभयो।
हँडिया बाबाको अर्काे आश्रम पनि रहेको मैले जानकारी पाएको थिएँ। त्यही आश्रममा गएर मैले शिष्यहरूमार्फत बज्रौली मुद्रासम्बन्धी निर्देश प्राप्त गरेँ तर अभ्यास गर्न पाइनँ। उनीहरूले दिएको निर्देशअनुसार नेपाल फर्किएपछि मातातीर्थ आश्रममा अभ्यास गर्न सुरु गरेँ। जसअनुसार लिंगमा क्याथेटर छिराउनुपथ्र्यो र १२ इन्चको क्याथेटर लिंगमा छिराउन थालेँ।
क्याथेटर छिराउने विधिबारे मलाई पूरै जानकारी नहुनु स्वाभाविकै थियो। जसले गर्दा लिंगमा संक्रमण हुन पुग्यो। पीप नै आउन थाल्यो। पिसाब पोलेर पिसाब फेर्न असमर्थ जस्तो भएँ। मरिन्छ कि क्या हो जस्तो अनुभूतिसम्म भयो। बिरामी भएँ। तीन महिना थलिएँ। ‘न्याचुरोप्याथी’को प्रयोग गरेर तीन महिनामा निको भएँ।