अनुप के बराल
बिहान हातमा चियाको गिलास बोकेर बरन्डामा निस्केको मात्र थिएँ, पल्लो घरकी बहिनी छतबाट कराइन्– ‘ह्याप्पी भ्यालेन्टाइन्स डे, दाइ।’ प्रत्युत्तरमा मुस्कुराइदिएँ। उनले फेरि सोधिन्– ‘दाइ के छ त आज स्पेसल ?’ म ‘कन्फ्युज्ड’ भएँ, ‘के रैछ स्पेसल गर्नुपर्ने ?’ यत्तिकैमा मेरी श्रीमती पनि आइपुगिन्। अब उनी मेरी श्रीमतीतिर सल्किन्, ‘भाउजू, ह्याप्पी भ्यालेन्टाइन्स डे। आज दाइ–भाउजुको त स्पेसल होला नि ?’ उनको उदारपन मलाई अलिक असहज लाग्यो। गाउँले संस्कारमा हुर्केकाले होला, शहरिया उदारता अलिक कस्तो–कस्तो लाग्छ। लामो समय शहरमा बिताए पनि शहरिया बन्न सकिनँ। गुलाबी रङको लिपस्टिक, आँखामा मोटो गाजल लगाएकी थिइन्, उनले। ‘अनि दाइ, भाउजूलाई रोज दिनुभयो त ?’ उनको कुरा सुनेर मेरी श्रीमती मुस्कुराइन्। बिस्तारै ‘नक्कली’ भन्दै भित्र पसिन्। म पनि उनकै पछि लागे।
‘उत्ताउली छिन्, तिनीसँग धेरै नबोल्नू,’ भित्र गएपछि श्रीमतीले भनिन्। ‘उत्ताउली होइन, फ्रयांक छिन्,’ मैले श्रीमतीलाई भनेँ। विद्युत प्राधिकरणको इन्जिनियर भएकाले इलेक्ट्रिसिटी पावर म्यानेजमेन्ट डिभिजनमा बिहानै ड्युटी पर्छ। अफिसका लागि घरबाट निस्किँदै गर्दा उनीसँग फेरि भेट भयो। आफ्नी सानी छोरीलाई चिटिक्क पारेर स्कुल लगिरहेकी थिइन्। ‘दाइ, अस्ति सरस्वती पूजामा यसलाई स्कुल भर्ना गरिदिएँ,’ उनले भनिन्, ‘आज भ्यालेन्टाइन ड्रेस लाइदेको कस्तो छ ?’
‘पुतलीजस्ती देखिएकी छे छोरी,’ मैले जवाफ फर्काएँ। यत्तिकैमा उनका श्रीमान् हातमा सितारको ब्याग बोकेर बाहिर निस्किए। सञ्चाबिसञ्चो सोधेपछि आज स्कुलमा प्रोग्राम रहेको उनले बताए। ‘आज पुराना गायकहरुसँग लाइभ रेकर्डिङ छ, टिमसँग प्य्राक्टिस गर्नुछ,’ उनले भने। उनी सितारवादक हुन्। उनको घर दार्जिलिङ हो।
‘राम्रो सितार बजाएर मात्र के गर्नु ? अरू त त्यस्तै हो,’ ती बहिनीको स्वर सुनियो। ‘भ्यालेन्टाइन्स डेमा पनि रेकर्डिङ ?’ मैले सोधेँ। ‘सितार भए भइहाल्यो नि श्रीमती किन चाहियो ?’ बहिनी प्याच्च बोलिन्। ‘गाँसबास नै रोकिन्छ काम नगरी के गर्ने त ?’ उनी हिँडिन्, उनका श्रीमान् हिँडे, म पनि हिँडेँ।
अफिसमा काम गर्दै थिएँ, मोबाइलमा घण्टी बज्यो। बाल्यकालको साथीले फोन गरेको थियो। ऊ पनि इन्जिनियर नै हो तर पीआर लिएर क्यानाडामा बसेको छ। अहिले नेपाल आएको थियो। साँझ ४ बजे भेट्ने तय भयो।
रत्नपार्कबाट हिँड्दै दरबारमार्गमा रहेको होटेल अन्नपूर्णभित्र छिरेँ। त्यहीँ भेट्ने हाम्रो सल्लाह भएको थियो। साथीलाई फोन गरिरहँदा मेरा आँखाले तिनै छिमेकी बहिनीलाई देख्यो। उनी कसैलाई अँगालो मार्दै थिइन्, गालामा किस गर्दै थिइन्। देखे नदेखेझैँ गरेँ। तर, टाढाबाट उनलाई नै हेरिरहेँ। उनको हातमा उपहार थियो।
उनले बिहान भनेका शब्द सम्झिएँ, ‘२ बजेदेखि साथीहरूसँग गेट टुगेदर छ।’ यही रहेछ उनको गेट टुगेदर भन्ने लाग्यो। ४ बजेतिर उनी गइन्। उनी गएपछि अलिक सहज महसुस गरेँ। साथीले होटलको स्विमिङ पुलछेउमा भेट्न बोलायो। मलाई देख्नासाथ उसले गर्लम्म अँगालो हाल्यो। म उसलाई हेरिरहँे। असहज मान्दै उसले सोध्यो ‘आर यू ओके ?’ ‘कहिल्यै नसुध्रिने भइस्,’ मैले भनेँ, ‘पहिला त्यो गालामा लागेको पिंक लिपस्टिकको दाग मेटा।’ उसले लजाउँदै टेबलमा भएको नेपकिनले दाग पुछ्दै भन्यो, ‘के गर्नु, दुई वर्षमा एक पटक आइन्छ, कोही न कोही त पाल्नैपर्यो नि साथी।’ साथीको कुरा सुनेर मन चसक्क भयो। सोचेँ, ‘उता भाउजूले पनि कसैलाई पालिन् भने के यसले स्वीकार गर्ला ?’
कफी खाएर हामी छुट्टियौँ। ऊसँग छुट्टिएपछि बाटोभरि म डिस्टर्ब भइराखँे। ‘आखिर कुन सभ्यतामा मिसिँदै छौँ हामी ? समय, विश्वास, प्रेमको अभाव वा देखासिकी कुन कारणले यस्तो भइरहेको छ ?’ घर पुग्दा राति भइसकेको थियो। म ढोकैमा पुग्दा छिमेकी भाइ सितार बोकेर आइपुगे। मैले सोधेँ, ‘कस्तो भयो भाइ रेकर्डिङ ?’
‘रेकर्डिङ राम्रो भयो दाइ तर अन्तिम गीतमा चाहिँ सितारको तार चुँडिएर पूरा नै हुन पाएन,’ उनले उत्तर फर्काए। ‘सितारको तार न हो, फेर्न मिल्छ नि !’ मैले भनेँ।
‘सिम्पेथेटिक तार हो दाइ, पाउन अलिक गाह्रो हुन्छ,’ उनले भने, ‘यो नहुँदा कहिलेकाहीँ हातमा आएको काम पनि फुत्किन्छ।’ उनी निराश देखिन्थे। त्यही बेला झ्याप्प बत्ती गयो। बाइकको उज्यालोमा उनलाई ढाडस दिएँ, ‘जिन्दगीको तार नचुँडिए हुन्थ्यो भाइ सितारको तार त पाइहालिन्छ नि !’
‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै घरभित्र पसेँ।