नेपालकी सबैभन्दा शक्तिशाली महिला !  बिर्सियौ ? तिम्रो हातमा पनि शक्ति छ ! 

विजयालक्ष्मी     ०२ फागुन २०७७, आइतबार
नेपालकी सबैभन्दा शक्तिशाली महिला !  बिर्सियौ ? तिम्रो हातमा पनि शक्ति छ ! 

राष्ट्रपतिज्यू ,
तिमीलाई नगुहारे कसलाई गुहारौँ खै ? देशका शीर्ष नेताबीच साँढे जुधाइ चलिरहेछ । कार्यकर्ता जति साँढेका सिङ चम्काउन र ‘आजचाहिँ यसले हान्छ’ भन्दै बाजी लगाउन व्यस्त छन् । गृह मन्त्रालय साँढेलाई अझ मताउँदै खेलको शोभा बढाइरहेछ । अनि, महिला आयोग पदाधिकारी नियुक्तिको अन्योलमा साँढे जुदाइको अन्त्य पर्खिन व्यस्त छ । 

तिमी त फुर्सद छ्यौ नि ? झन्डा फर्फराइरहेको कालो चिल्लो गाडीको कालै सिसापछाडि छ्यौ कि शीतलनिवासको कुनै कक्षमा झ्यालअगाडि बसी चिया पिउँदै छ्यौ ? झ्याल खोलेर यसो बाहिर चिह्याउँथ्यौ कि ? हामी दिदीबहिनी गुहार माग्न आएका छौँ । 
के रे ? मलाई मात्र देख्यौ ? बहिनीलाई देखिनौ रे ?

बिर्सियौ अस्ति बेलुका पीए साहेबले सुनाएको घटना ? मेरी बहिनीलाई त मारिसके । बलात्कार गरेर घाँटी थिच्दै मारे, उसलाई । 
उसको अनुहार त याद छ नि तिमीलाई ? केही महिनाअघि यसैगरी तिम्रोसामु गुहार माग्दै आएका थियौँ, ऊ र म, हाम्री कान्छी बहिनी सम्झनाका निम्ति न्याय माग्न । त्यो बेला आश्वासनस्वरूप दोषीलाई पक्रिएर एक–दुई नयाँ कानुन झोलामा हाल्दिएर पठाएथ्यौ । तिनै कागजका टुक्रा साथै लिएर आएकी छु । अहँ तिम्रा कागजका टुक्राले, तिम्रा कानुनले मेरी बहिनीलाई बचाउन सकेनन् । 

के रे ? कान्छीका लागि त कानुनले काम ग¥यो रे ? तिम्रो यो भनाइ पनि ठीकै हो । तर, मलाई आज अन्योल यो छ कि, कान्छीको मुद्दामा तारिखमाथि तारिख खेप्न जाऊँ कि माहिलीको मलामी जाऊँ । 

हुन त, चार बहिनी थियौँ, हामी । अनि तिमी र तिम्रो सरकारले साइँली निर्मलालाई एकादेशको कथा बनाइदियो । सुन्छु, मान्छेलाई निर्मलामाथिको अन्यायको घटना र द्रौपतीको चिरहरण उस्तै लाग्न थालिसक्यो । भन्छन्, ‘यो त पहिलाको घटना हो । आज के गर्न सकिन्छ र ?’ 
के रे ? मेरो हालतका लागि मनदेखि नै दुःख व्यक्त गर्न चाहन्छ्यौ रे तिमी ? भरेको सभामा पनि यो कुरा राख्छ्यौ रे ?  

ए ! एक मिनेट मौनधारण पनि गर्ने भरेको सभामा ? हुन्छ । यस्ता घटनामा तिम्रा मौन धारणका मिनेट जोड्दा कैयौँ घन्टा बन्लान् । ती घन्टाको चाङले तिमीले चियापान र भ्रमणमा खर्चेका समयलाई पनि उछिन्ला । अनि, गर्वसाथ भनौली,  ‘मैले जनताको सेवामा कैयौँ घन्टा खर्चें ।’ 
भयो आज आश्वासनले मात्र मेरो झोला नभर । महँगा सिल्कका सारीको पल्लु मिलाउने भन्दा धेरै काम गर्ने शक्ति छन्, तिम्रा हातमा । कति गुहारौँ , कति झक्झकाऔँ । बिर्सियौ ? तिमी राष्ट्रपति हौ, नेपालकी सबैभन्दा शक्तिशाली महिला । हेर त, समाजमा विद्यमान महिला हिंसा र अपराध महिसासुर बनी तिमीलाई ललकार्दै छ । 

के रे ? पहल हुँदै छ रे ? महिला उत्थान कार्यक्रम लागू हुँदै छ रे ? यो त २०७३ देखि नै सुन्दै आएका छौँ, हामी । २०७३ फागुन २४ गते कपिलवस्तुको तौलिहवामा तिमीले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ सुरु गर्दा हामी दिदीबहिनी सबै सामेल थियौँ ।  तिमीले लैंगिगक विभेद र हिंसा अन्त्यका लागि सामाजिक रुपान्तरणको अभियान र हिंसापीडितलाई राहत तथा पुनस्र्थापना गर्ने घोषणा गर्दा अग्रपंक्तिमा बसी थपडी मारेका थियौँ । 
तर देख्दै छ्यौ नि ? तिम्रो अभियानले मेरा बहिनीहरूलाई न्याय दिन सकेन । तिम्रो हिंसापीडितलाई राहत बाँड्ने कार्यक्रमलाई जति गुहार्दा पनि  सामूहिक बलात्कारमा परी अस्पतालमा अलपत्र रहेकी चेलीका लागि राहत आएन ।

अब तिमी भनौली, ‘कोसिस जारी छ, काम हँुदै छ ।’ तर, किन यति सुस्त गतिमा ? तिम्रो कार्यक्रमअन्तर्गतको एक उद्देश्य ‘सुरक्षित प्रसूति सेवा’का लागि १८ जिल्लामा हवाई सेवा सञ्चालन गर्दै छ्यौ । महिला उत्थान कार्यक्रम घोषणाको चार वर्षपछि  पनि विभिन्न उद्देश्यमध्ये यही एक मात्र कार्यान्वयनमा ल्याएकी छ्यौ– त्यो पनि आंशिक रूपमा । 

राष्ट्रपतिज्यू, झारा टार्ने काम बन्द गर्ने कि ?  साँच्चै यी समस्यासँग लड्ने आँट गरेर त हेर, हामी तिम्रो साथ छौँ । के बजेटको कमी हो ? कि जनशक्तिको ? यौनजन्य हिंसाविरुद्ध काम गर्न स्वयंसेवक आह्वान गरेर त हेर । सडकमा बहिनीहरूका लागि प्लेकार्ड बोकेर उत्रेका सबै हाजिर हुनेछौँ । 
कागजीभन्दा पनि व्यावहारिक कार्यक्रम ल्याऊ । सडकमा आन्दोलित हामीलाई धपाउने भन्दा पनि हाम्रा माग सुन, हाम्रा सुझाव सुन । यौनहिंसाका लागि विशेष हेल्पलाइन नम्बर अनि ‘आकस्मिक सहयोग  टिम’ सम्बन्धी व्यवस्था त लिएर आऊ । हरेक टोलमा हामी बनाउनेछौँ, त्यस्ता सुरक्षा टिम । हामी उठाउनेछौँ दिनरात नभनी सहयोग मागका फोन कलहरू । 

हाल सञ्चालनमा रहेकै अपराधपीडितका निम्ति खडा गरिएको कोषलाई विभागीय दबाब नै किन दिन नपरोस्, केही हजार मात्र भए पनि अस्पतालमा अलपत्र बलात्कारपीडितलाई राहत पु¥याइदेऊ । १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेटबाट केही हजार मात्रै छुटाएरै भए पनि बनाऊ ‘यौनहिंसापीडितका लागि आकस्मिक राहत कोष ।’ पीडितको उद्धारमा भ्रष्टाचाररहित संयन्त्र त बनाऊ, हामी गर्नेछौँ, एक–एक रुपैयाँ सहयोग । 

तिमीले कानुन बनाए पनि कार्यविधिगत समस्याले गर्दा न्याय नपाएको भनी बहाना नबनाऊ । तिमीले नगरे कसले गर्ने यसको समाधान ? सम्पूर्ण  कर्मचारीतन्त्रलाई हेर्न नसके पनि हालका लागि ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यौनजन्य हिंसाका मुद्दाको कार्यविधि चेकजाँच गर्ने प्रावधान बनाऊ । महिला आयोगलाई ब्यँुताऊ । यसलाई नीति निर्माणको परम्परागत कामबाट कार्यान्वयन तथा व्यावहारिकतातर्फ धकेल । 
ठूला तारे होटलमा होइन, टोल–टोलमा गर तिम्रा कार्यक्रम । विभिन्न स्वदेशी तथा विदेशी वरिष्ठहरूलाई, आइएनजीओका पदाधिकारीलाई घुमाऊ निर्मला र भागीरथीका गाउँहरू । सुनाइदेऊ समस्या । हात फैलाएर सहयोग माग्ने नै त हो । फाटेको सारी देखाउन केको लाज ? 

सुन्यौ ? अब त अति नै भइसक्यो । आज बहिनीहरूका निम्ति न्याय माग्दा मेरा ओठ सुक्दै छन् । सोच्छु, सुरक्षित त म पनि छैन । भोलि मलाई केही भइहाले मेरा लागि कसले न्याय माग्ला ? त्यसैले आज न्याय मात्र होइन, तिम्रो साथ माग्दै छु । राष्ट्रपतिज्यू, यौनजन्य हिंसा अन्त्यका लागि व्यावहारिक र ठोस कार्यक्रम ल्याउनु छ । कार्यविधिगत अनियमिततालाई सुधार्नु छ  । चाहे दिन होस् या रात, चाहे बस्ती होस् या जंगल । महिला सुरक्षाको प्रतिबद्धता गर्नु छ । हाम्रा बहिनीहरूले भोगेका समस्या हाम्रा छोरीहरूको पालासम्म निर्मूल पार्नु छ । राष्ट्रपतिज्यू , के हाम्रो साथ दिने फुर्सद छ ?      
–    विजयालक्ष्मी
 

 

प्रतिक्रिया