सोमरस रक्सी होइन

योगी विकासानन्द     ०३ फागुन २०७७, सोमबार
सोमरस रक्सी होइन

सोमरस के हो ? सोमरसलाई हाम्रा शास्त्रहरूले किन यति धेरै महत्त्व दिए भन्ने विषयमा खासै चर्चा हुने गरेको छैन। रक्सी खानु ठीक हो भन्ने सिद्ध गर्नका लागि सोमरसको चर्चा हुने गरेको छ।
 


सोमरस पिएपछि अमरत्व

रक्सीको कुलतमा फसेको मानिसले निजात्मक स्वास्थ्य र प्रतिष्ठा सँगसँगै परिवार र समाजलाई पनि ठूलो हानि पुर्‍याउँछ। रक्सीकै कारण सिंगो समुदाय र परिवार तहसनहस भएका असंख्य उदाहरण छन्। मानिस जति–जति शिक्षित बन्दै गएको छ, उति–उति मदिरा संस्कृति बढ्दै गएको छ। अझ नेपालमा त रमाइलो र भोज भन्नेबित्तिकै रक्सी र मासु अनिवार्य बन्न थालेका छन्। यीविना भोज र रमाइलो असम्भवप्रायः हुन थालेको छ। 

रक्सी खानु ठीक हो भन्नका लागि मानिसँग अनगिन्ती बहाना र तर्क छन्। कतिपय हरेक औषधिमा अल्कोहलको मात्रा हुने भएकाले रक्सी खानुलाई अन्यथा लिन नहुने दाबी गर्छन्। प्रायः रक्सी पिउनेहरूले रक्सीको प्रचलन देवताकै पालादेखि चल्दै आएकाले यसलाई स्वाभाविक मान्नुपर्ने तर्क गर्छन्। खास गरी हाम्रा शास्त्रमा उल्लेख गरिएको सोमरसलाई रक्सी भनेर व्याख्या गर्ने गरिन्छ। शास्त्रहरूमै ‘शुरा’ भन्ने अर्काे शब्द पनि प्रयोग भएको छ। आम मानिसले पिउने पेय शुरा हो भने देवताले पिउने सोमरस। 

सोमरस के हो ? सोमरसलाई हाम्रा शास्त्रहरूले किन यति धेरै महत्त्व दिए भन्ने विषयमा खासै चर्चा हुने गरेको छैन। रक्सी खानु ठीक हो भन्ने सिद्ध गर्नका लागि सोमरसको चर्चा हुने गरेको छ। जसका कारण सोमरसजस्तो महत्त्वपूर्ण विषय ओझेलमा पर्दै यसको गलत व्याख्या हुने गरेको छ। 

सोमरस देवताले पिउँथे वा पिउँछन् भन्ने सबैलाई थाहा छ। तर, देवता भनेको के हो भन्ने विषयमा धेरै भ्रम र अज्ञान विद्यमान छन्। भगवान् र देवतालाई उस्तै–उस्तै रूपमा बुझ्ने गरिन्छ। भगवान् भनेको सृष्टिको कारकतत्त्व हो भने देवता भनेको उच्च चेतना भएको अस्तित्व। जसरी वनस्पति र मानिस दुवै सजीव हुन् भन्ने हामी सबैलाई थाहा छ। तर, चेतनाका कारण दुवै सजीव हुँदाहुँदै पनि फरक छन्। विद्युतीय शरीर (लाइट बडी) भएका र आम मानिसभन्दा उच्च चेतना भएका नै देवताहरू हुन्।

त्यसैले देवता र मानिसमा प्रमुख रूपमा चेतना स्तरको पृथक्ता रहन्छ। मानिस उठे देवता बन्छ र झर्‍यो भने प्रेतात्मा वा सैतान बन्छ। देवताहरू पनि मुक्तात्मा बन्नु छ भने मनुष्य बनेर जन्मनुपर्छ। त्यसै गरी, प्रेतात्माले पनि मनुष्यको रूपमा जन्म लिएपछि मात्रै मुक्तिको बाटो तय गर्न सक्छ। मनुष्य जुनी एउटा यस्तो दोबाटो हो, जहाँबाट नहिँडीकन सैतान वा देवता दुवै बन्न सकिन्न। त्यसैले मनुष्य जुनीलाई सबैभन्दा महत्त्वपूर्ण मानिएको हो।

सामान्य मानिसले पनि सोमरस पियो भने ऊ देवता बन्छ भन्ने शास्त्रीय मान्यताहरू छन्। यो शास्त्रीय कुरा हामीले कतै न कतै सुन्दै आएका छौँ। तर, यसलाई रूढीवाद वा अन्धविश्वास भन्दै नकार्दै आयौँ। यसले उठाएको प्रस्तावना र यसको प्रयोगको विषयमा हामीले कहिल्यै सोचेनौँ। जसका कारण भट्टीपसलमा मात्र सोमरसको चर्चा भयो। हजारौँ वर्षदेखि शास्त्रले उठाउँदै आएको बहस अन्धविश्वासको नाममा पुस्तकमै थन्कियो।

कायाकल्प    

अग्रेजीमा मेटामोर्फाेसिस भन्ने एउटा शब्द छ। जसलाई नेपालीमा कायाकल्प वा कायान्तरण भन्न सकिन्छ। यसलाई बुझ्नका लागि हामीले पुतली बन्ने प्रक्रियालाई उदाहरणका रूपमा लिन सक्छौँ। झुसिल्किरालाई हेर्दा हामीहरू पुतलीको कुनै रंगढंग नै अनुमान गर्न सक्दैनौँ। कहाँको सुन्दर र मायालु पुतली, कहाँको घीन र डरलाग्दो झुसिल्किरा ! तर, त्यही झुसिल्किरामा कायाकल्प भएपछि पुतली बन्न पुग्छ। एउटा स्वरूप वा ढाँचामा रहन नसक्ने भएपछि अर्काे स्वरूपमा आफूलाई रूपान्तरण गर्नु नै कायाकल्पको विधि हो। 

संसारमा हरेक प्राणीहरूको भोजनका कारण शरीरको वृद्धि–विकास हुँदै जान्छ। तर, एउटा बिन्दुमा पुगेपछि उसको वृद्धि–विकासको यात्रा रोकिन्छ। उसको वृद्धिको क्रम रोकिएपछि वृद्धि–विकाससँग सम्बन्धित कोषहरूले आत्महत्या गर्छन्। जसलाई ‘एपोप्टोसिस’ भनिन्छ। झुसिल्किराको पनि एउटा बिन्दुमा पुगेपछि उसको शारीरिक विकासको क्रम रोकिन्छ। विकासक्रम रोकिएपछि उसको दिमागमा रहेको ‘इम्याजिन’ कोष सक्रिय हुन थाल्छ। इम्याजिन कोष सक्रिय हुन थालेपछि झुसिल्किराबाट पुतली बन्छ। 

मान्छेको विकासमा पनि यस्तै क्रम हुन्छ। १४ वर्षसम्म मानिसको मानसिक विकास उच्च हुन्छ। त्यसपछि थप मानसिक विकास हुनेको ह्वात्तै विकास देखिन्छ भने नहुनेको १४ वर्षसम्म विकास भएको अवस्था नै जीवनभर रहन्छ। १४ वर्षसम्म उसले सिकेको सिकाइबाट नै बाँकी जीवन भुक्तान गर्छ। यस्ता मानिसले जुनसुकै काम गर्दा पनि मौलिकता हुँदैन। ९५ प्रतिशत उसको कार्यव्यवहार १४ वर्षको सिकाइभित्रकै हुन्छ। सामान्यतः संसारका पाँच प्रतिशत मानिसले मात्र १४ वर्षपश्चात् आफूलाई कायाकल्प गराउन सक्छन्। बहुसंख्यक अर्थात् ९५ प्रतिशत मानिस पुरानै ढाँचामा अभ्यस्त बन्छन्। 

प्रश्न, जसले निम्त्याउँछ कायाकल्प
कायाकल्पका लागि उही इम्याजिन कोषलाई सक्रिय बनाउनुपर्छ। झुसिल्किरामा हुने इम्याजिन कोष मानिसमा पनि हुन्छ। जब मानिसले इम्याजिन कोष सक्रिय बनाउँछ, तब मात्र उसको रूपान्तरणको प्रक्रिया सुरु हुन्छ। इम्याजिन कोष सक्रिय बनाउन प्रश्न गर्नुपर्छ। जुनसुकै विषयमा पनि प्रश्न गर्ने आदतले इम्याजिन कोष सक्रिय हुन्छ। जस्तैः म को हुँ ? म कसरी दलित ? म कसरी ब्राह्मण ? म के कारणले यस धर्तीमा आएँ ? के म सफल हुन सक्दिनँ ? के मेरो अरूको जस्तो क्षमता छैन ? अरू धनी बन्न सक्छन् भने के म धनी बन्न सक्दिनँ ? जस्ता प्रश्नहरू गर्न थालेपछि इम्याजिन कोष सक्रिय हुन थाल्छ। 

पाँचदेखि १० हजार वर्षसम्मको मानव सभ्यताको अध्ययन गर्दा के पाइन्छ भने मानिसलाई समाजले एउटा पहिचान दिन्छ। जसलाई जीवन भन्ने गरिन्छ। जुन जीवनमा पाँचदेखि १० हजार वर्षसम्ममा मानिसले सिकेको तथा आर्जन गरेको सीप, ज्ञान र कौशल समावेश हुन्छ। जुन एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरित हुँदै आएको छ। उक्त हस्तान्तरित ढाँचामा बस्नु मानिसको नियति भइसकेको छ। कोही–कोहीले मात्र उक्त ढाँचा तोडेर आफूलाई पुतली बनाउने प्रयत्न गर्छन्। यही पुतली बन्ने आँट र साहसका कारणले नै एक सामान्य मानिस कार्ल माक्र्स वा बुद्ध बन्न पुग्छ। 

मानिस हरेक क्षण केही न केही प्राप्त गर्न चाहन्छ। मानिसले केही पाउन चाहनु भनेको उसको आनन्दको खोज हो। सम्पत्ति भएर आनन्द हुन्छ कि भनेर मानिसले सम्पत्ति आर्जन गर्छ। प्रतिष्ठाले आनन्द दिन्छ कि भनेर प्रतिष्ठाका लागि मरिहत्ते गर्छ। कुनै कुरा पाएको केही समयसम्म त आनन्दित हुन्छ। तर, उक्त सन्तोष वा आनन्द दीर्घ बन्न सक्दैन। के आनन्दलाई दीर्घ बनाउन सकिँदैन भन्ने प्रश्नसँगै मानिसले विभिन्न तौरतरिकामार्फत आनन्दको खोज गर्न थाल्यो। त्यही आनन्दको खोजबाट मानिसले अमरत्व प्राप्त गर्‍यो। अमरत्वमा दुःख र सन्ताप हुँदैन। आनन्दैआनन्द हुन्छ। 

सिद्धार्थ गौतम पनि किन बिरामी हुनुपर्छ ? किन बूढो हुनुपर्छ ? किन मर्नुपर्छ ? भन्ने विषयको उत्तर खोज्न निक्लिएका थिए। प्रश्न गरेकै कारण उनको इम्याजिन कोष सक्रिय भयो। प्रश्नको खोजले नै उनलाई अमरत्व दियो। एक राजपुत्र सिद्धार्थको भगवान् गौतम बुद्धका रूपमा कायाकल्प भयो। मानवमा कायकल्प भनेको यही आमूल परिवर्तन हो। उच्चतम चेतनाको प्राप्ति। 

सोमरस एउटा विधि

अमरत्व अर्थात मुक्ति प्राप्त गर्न संसारमा विभिन्न विधि विद्यमान छन्। ध्यान, कर्म र भक्तियोगलगायत साधना मुक्तिमार्ग सम्बद्ध विधि हुन्। शरीरप्रधान मानिसका लागि हठयोग, भावप्रधान मानिसका लागि भक्तियोग र तर्क वा बुद्धिप्रधानका लागि राज वा ज्ञानयोग प्रचलनमा छन्। अर्काेतर्फ ध्यान वा तपस्याको विषयमा पनि उल्कै चर्चा पाइन्छ।

तपस्याबाट मुक्ति वा विभिन्न सिद्धिहरू प्राप्त गरेका कथा हाम्रा शास्त्रहरूमा असंख्य छन्। मन्त्र साधनाबाट पनि मुक्ति वा अमरत्व प्राप्त गर्न सकिने विधि प्रचलित छ। त्यसै गरी, कोही–कोही जन्मजात नै आध्यात्मिक क्षमता बोकेर जन्मिएका कथाहरू पनि हामीले सुन्दै आएका छौँ। हिन्दूशास्त्रमा उल्लेख भएका अष्टावक्र, सुकदेव, ध्रुवलगायत पात्रहरू जन्मजातै आध्यात्मिक जिन बोकेर जन्मिएका हुन्। 

यसबाहेक पनि सिद्धि वा समाधि प्राप्त गर्ने अर्काे विधि पनि छ। जुन विधि सम्बद्ध विषयकै आधारमा सोमरसको अवधारणा वा प्रयोग अगाडि आएको हो। ध्यान, जपतप, जन्म आदिले मात्र होइन, खानेकुराबाट पनि मानिसले कायाकल्प प्राप्त गर्न सक्छ भन्ने कुरालाई सोमरसमार्फत प्रस्ट्याउन खोजिएको छ। 

पतञ्जलीले आफ्नो योगसूत्रको कैबल्यपादमा ‘जन्मौषधिमन्त्रतपः समाधिजाः सिद्धयः।’ भनेका छन्। अर्थात्, जन्म, औषधि (खानेकुरा), मन्त्र र तपस्याबाट सिद्धि वा समाधि प्राप्ति हुन्छ। कुनै खानेकुरा खाँदैमा मानिसले कायाकल्प गर्न सक्छ भन्ने विषय अहिले ओझेलमा परेको छ। योसम्बन्धी विधि र विद्याको विषयमा कहीँकतै चर्चा भएको पाइँदैन।

पछिल्ला वैज्ञानिक खोज र अनुसन्धानहरूले पनि यस तथ्यलाई उजागर गर्न थालेका छन्। निश्चित कुनै खानेकुरा खानेबित्तिकै मानिसको चेतना उच्च बन्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्। उक्त पदार्थ (खानेकुरा) खाएपछि मानिस पहिलाको अवस्थामा नरहने र उसको समग्रता नै परिवर्तन हुने गरेका तथ्यहरू प्रकाशमा आउनुसँगै हाम्रो शास्त्रमा उल्लेखित सोमरसको विषय तथ्यपरक हुँदै गएको छ। 

आनन्द आफ्नै मस्तिष्कमा

सन् १९६०-७० मा अमेरिकी विद्यार्थीहरूले कोकिनको उल्कै प्रयोग गर्न थाले। कोकिन सेवन ‘कल्चर’कै रूपमा स्थापित हुन पुग्यो। कोकिनले अमेरिकाजस्तो देशलाई पनि प्रभावित पार्न थालेपछि तत्कालीन समयका वैज्ञानिकहरूले कोकिन वा लागुपदार्थ सेवन गर्न मानिस किन उत्साहित हुन्छ भन्ने विषयमा गहन अध्ययन र अनुसन्धान गरे।

नशालु पदार्थ खाँदा मानिस किन आनन्दित महसुस गर्छ भन्ने विषयमा केन्द्रित रहेर गरिएको उक्त अनुसन्धानले आनन्द कुनै नशालु पर्दाथले होइन, आफ्नै मस्तिष्कको रसायनले प्राप्त हुन्छ भन्ने तथ्य सिद्ध भयो। कोकिन खाएपछि मस्तिष्कमा रहेको ‘डोपामाइन’ भन्ने रसायन ‘रिलिज’ हुँदो रहेछ। उक्त रसायनले नै मानिसलाई आनन्दको अनुभूति दिलाउँदो रहेछ। आनन्द कोकिनले होइन, आफूभित्रै रहेको ‘केमिकल’का कारण प्राप्त हुन्छ भन्ने प्रमाणित हुन पुग्यो। 

कोकिन खाँदा मात्र होइन, रक्सी खाँदा आउने आनन्द पनि यही डोपामाइनकै कारणले हो। अझ चुरोट तान्दा आउने आनन्दको अनुभूति पनि डोपामाइनसँग नै सम्बन्धित छ। कोकिन खाँदा रिलिज हुने डोपामाइनले आनन्द दिन्छ भने यसलाई अरू सकारात्मक तरिकाबाट रिलिज गराउन सकिन्छ कि सकिँदैन भनेर वैज्ञानिकहरूले विभिन्न अनुसन्धान गरे।

वैज्ञानिकहरूले तिनै कोकिन प्रयोगकर्ता विद्यार्थीहरूलाई हरेक दिन बिहान उठाएर उच्च गतिमा दौडन लगाए। दौडले थाकेर लखतरान भएका विद्यार्थीहरूलाई हल्का नशा लागेजस्तो अनुभूति भयो। उनीहरू निकै आनन्दित देखिए। उक्त समयमा पनि उनीहरूको मस्तिष्कमा डोपामाइन रिलिज भएको थियो। त्यसरी दौडिएर आउने आनन्दलाई वैज्ञानिकहरूले ‘रनर्स हाई’ भन्ने नाम पनि दिएका थिए। 

डोपामाइनले दिने आनन्द लौकिक जगत्सँग सम्बन्धित हुन्छ। डोपामाइनभन्दा माथिल्लो श्रेणीको रसायन पनि हाम्रो मस्तिष्कमा हुन्छ। जुन निःसृत भएपछि आनन्दको मात्र होइन, अलौकिक अनुभूतिको सिर्जना हन्छ। तेस्रो नेत्र (दुई आँखीभुइँको बीचको भाग) भन्दा ठीक पछाडि घाँटीभन्दा माथिको भागमा पिनियल ग्ल्यान्ड रहेको हुन्छ। उक्त ग्ल्यान्डबाट डीएमटी (डाइमेथाइल्ट्रिप्टामाइन) भन्ने रसायन निक्लन्छ। जुन निक्लिएपछि अलौकिकसँगसँगै आध्यात्मिक अनुभूति पनि प्राप्त हुन्छन्। 

डीएमटीः दीर्घ आनन्दको स्रोत

हेरोइन, कोकिन र चरेसजस्ता लागुऔषधहरूको सेवनपछि मानिसले आफूलाई आनन्दित महसुस गर्छ। खास गरी यी पदार्थको सेवन गरेपछि यसको नशा रहुञ्जेल मात्र आनन्दको महसुस हुने हो। जब यसको नशा उत्रन्छ, तब मानिसमा आनन्द बाँकी रहँदैन। यसरी हेर्दा यस्ता पदार्थहरूको सेवनबाट आउने आनन्द अल्पआनन्द हो। वैज्ञानिकहरूले कुनै त्यस्तो पदार्थ होला, जुन सेवन गर्दा दीर्घ आनन्द प्राप्त होस् भन्ने विषयमा आधारित रहेर खोजहरू गरे। यही खोजको क्रममा वैज्ञानिकहरूले अमेजन जंगलमा आइवास्का भन्ने एउटा वनस्पति फेला पारे। जसमा डीएमटी भन्ने केमिकल पाइँदो रहेछ। 

आइवास्काको प्रयोग जंगलमा बस्ने समन (धामी, झाँक्री)हरूले सदियौँदेखि गर्दै आएका थिए। खास गरी पाश्चात्य जगत्मा आध्यात्मिक क्षेत्रमा लाग्ने मानिसहरूले आइवास्का प्रयोग गर्ने गरेको पाइयो। आइवास्का सेवन गरेपछि यो सारा संसारको ‘कनेक्सन’ छुटेर अर्कै संसारसँग ‘कनेक्सन’ हुँदो रहेछ। आइवास्का सेवन गर्नेहरूले हामीले सुन्दै आएको देवदूत र परीलगायतसँग आफूले संवाद गरेको अनुभव सुनाए।

उनीहरूको अनूभव हामीले सोचेको र बुझेको संसारभन्दा नितान्त भिन्न हुन्थ्यो। 
आइवास्का खान अत्यन्तै गाह्रो ह्ुन्छ। खाइसकेपछि बान्ता हुन्छ। अत्यधिक पीडा र दर्द हुन्छ  । त्यो कठोरतम पीडाको प्रक्रियालाई कायाकल्पको प्रक्रिया पनि भन्न सकिन्छ। त्यो कठिनतम पीडा झेलेपछि मानिस पहिलाको जस्तो रहन्न। उसको कायाकल्प हुन्छ।

आइवास्काले दिने मूल नशा करिब ४५ घण्टाको हुने गरेको छ। उक्त ४५ घण्टामा मानिसलाई शारीरिक रूपमा अत्यन्तै गाह्रो भए पनि मानिसक रूपमा उसले आनन्द प्राप्त गरिरहेको हुन्छ। यही ४५ घण्टाको समयमा नै उसले अलौकिक अनुभूतिहरू प्राप्त गर्ने, अर्कै संसारसँग सम्बन्ध स्थापित गर्ने गर्दाे रहेछ। अहिले तर्क गर्दा त्यसलाई ‘ड्रग्स’ लिएपछिको ‘ट्रिप’ पनि भन्न सकिन्छ। सामान्य रूपमा हेर्दा स्वाभाविक पनि लाग्छ।

किनकि, गाँजा वा रक्सी खाएको मानिसले पनि असामान्य कुरा नै गर्छ। तर, रक्सी र गाँजाको मात्राले छाडेपछि मानिससँग कुनै त्यस्तो फरक अनुभूति हुँदैन। ऊ सामान्य नै बन्छ। बरु यस्ता नशा सेवन गर्ने कुलतमा फस्न पुग्छ। तर, आइवास्काको मात्राले छोडेपछि पनि मानिस पहिलाजस्तो सामान्य बन्दैन। उसको अनुभूति र सोचाइमा आमूल परिवर्तन हुन्छ। अझ अचम्म त ऊ कुनै गाँजा, रक्सी वा कुनै पनि आदतमा फसेको छ भने पनि आइवास्का खाएपछि उक्त आदतबाट पूर्ण मुक्त हुँदो रहेछ। वर्षाैंवर्षदेखि खाँदै आएको गाँजा वा चुरोट छाड्न सक्दो रहेछ।

हाम्रा शास्त्रहरूले सोमरसको सन्दर्भमा सोमरस खाएपछि अरू खान मन लाग्दैन भनेका छन्। अर्थात्, महानतम आनन्द पाएपछि झिना–मसिना आनन्दमा मन जाँदैन। जब आइवास्काबाट प्राप्त हुने अनुभूति मानिसले सँगाल्छ, तब उसलाई रक्सी र चुरोटबाट पाउने नशा फिका लाग्न थाल्छ। त्यस्ता नशाहरूमा उसको मनै जाँदैन।

सोमरस अन्धविश्वास होइन 

यसरी पश्चिममा परम्परागत रूपमा रहेका समनहरूले मानिसलाई आध्यात्मिक दुनियाँमा प्रवेश गराउन आइवास्का प्रयोग गर्दै आएका थिए। किनकि, मानिसलाई उसले सोच्ने र बुझ्नेभन्दा फरक क्षेत्रमा प्रवेश गराउन कठिन हुन्छ। आम मानिसको स्वभाव तार्किक हुन्छ। प्रमाण र तथ्यहरूविना ऊ विश्वास गर्दैन। तर, अध्यात्मका लागि विचार र तर्कको कुनै स्थान छैन। आइवास्का खुवाएपछि प्राप्त हुने आनन्द र अनुभूतिले मानिसलाई आफूले देखेको र बुझेको भन्दा बाहेक पनि अर्काे संसार रहेको स्पष्ट हुन्छ। त्यसपछि ऊ स्वतः अध्यात्मतर्फ प्रवेश गर्छ।

आइवास्काले मूलतः मानिसलाई अर्कै संसारसँग ‘कनेक्सन’ गराईदिन्छ। अर्काे संसारसँग ‘कनेक्सन’ हुनु भन्ने विषयलाई हामीहरू अन्धविश्वास वा झुटका रूपमा अथ्र्याउने गर्छाैं। तर, अर्काे संसारसँगको कनेक्सन हाम्रै जीवनको अभ्यस्त परिघटना पनि हो। सपना देख्नु पनि अर्काे संसारसँगको कनेक्सन हो। सपनामा हुँदा हाम्रो भनिएको संसार हामीलाई झुटो प्रतीत हुन्छ।

किनकि, सपनाको संसार नै वास्तविक संसार लाग्छ। जब सपनाबाट हामी विपनामा आउँछौँ, अनि हामीलाई विपनाको संसार झुटो लाग्छ।  यसरी हेर्दा हाम्रो शास्त्रले उठाएको सोमरसबाट अमरत्व हुने विषय र आइवास्का सेवनपछि मानिसमा आउने रूपान्तरणका बीच केही न केही संगति छ। पतञ्जलीले आफ्नो योगसूत्रको कैबल्यपादमा ‘जन्मौषधिमन्त्रतपः समाधिजाः सिद्धयः।’  भनेर उठाएको विषय वर्तमान युगमा पनि कुनै नै कुनै कोणबाट प्रामाणिक हुन्छ। अर्थात् औषधि (भोजन, खानपान) बाट पनि मानिस अमरत्व वा मुक्तितर्फ जानसक्छ भन्ने विषय अवैज्ञानिक वा अन्धविश्वास होइन। बरु यस विषयमा खोज गर्न नसकेका कारणले नै हामीलाई अपत्यारिलो लागेको हो।

खै त अहिले सोमरस ?

अब प्रश्न उठ्न सक्छ ? हाम्रा शास्त्रहरूले उल्लेख गरेको सोमरस चाहिँ के हो नि ? त्यही आइवास्का नै सोमरस हो त ? यी प्रश्न उब्जनु स्वाभाविक नै हो। यस्ता प्रश्नसँग सम्बन्धित रहेर खोज नगरिएकाले नै सोमरस भट्टीको मजाक मात्र बन्न पुग्यो। रक्सीको लतमा परेकाहरूलाई बहानाको मुख्य मानक बन्यो। 
हाम्रा पौराणिक शास्त्रहरूको केन्द्र तत्कालीन भारतवर्ष नै हो।

भारतवर्षले लामो कालखण्ड मुस्लिम आक्रमण  तथा मुस्लिमहरूको शासन खेप्यो। मुस्लिम शासनकालमा हिन्दू सनातन धर्मको वृत्तिविकास नहुनु स्वाभाविकै हो। तर, त्योभन्दा पनि मुख्य कुरा मुस्लिम आक्रमण र शासनकालमा हिन्दूका शास्त्रहरू नष्ट गरिए। पुस्तकालयहरूमा आगो लगाइए। सुनियोजित रूपमै पुस्तकहरू नष्ट गर्ने अभियान चलाइए। हाम्रो काठमाडौँ उपत्यकाले पनि पटक–पटक मुस्लिम आक्रमणको सामना गर्नुपरेको थियो।

पशुपतिको शिवलिंगमा अमूल्य रत्न छ भनेर शिवलिंग नै फुटाएको इतिहास हामीसँग छ। भनिन्छ, तन्त्रसम्बन्धी मुख्य पुस्तकहरू भारतमा भन्दा नेपालमा बढी छन्। भारतको कलकत्ता क्षेत्र नेपालभन्दा पनि उच्चस्तरको तान्त्रिक केन्द्र थियो, तर त्यहाँभन्दा यहाँ तान्त्रिक पुस्तकहरू पाइनुको मुख्य कारण भनेको भारतका पुस्तकहरू मुस्लिम र अंग्रेजको अतिक्रमणबाट स्वाहा भए। यहाँ भारतको जत्तिको आक्रमण भएन जसले पुराना पुस्तकहरू सुरक्षित भए। 

मुस्लिम शासनकालमा मूलभूत पुस्तकहरू नष्ट हुन पुगे। नष्ट हुनबाट बचेका साहित्य हाम्रासामु छन्। जसका आधारमा हामीले दृष्टिकोणहरू निर्माण गरेका छौँ। प्रायः हरेक शास्त्रमा सोमरसको उल्लेख पाइन्छ। यसको अर्थ उक्त समाजमा सोमरसको उच्च प्रयोग हुन्थ्यो। समाजमा भएकै कुरा साहित्यमा अभिव्यक्त हुने हो। सोमरसको कुरा हामीले सुन्दै आयौँ। सोम रस के हो ? कसरी बन्छ भन्ने विषयसँग सम्बन्धित शास्त्र सायद नष्ट गरिए। जसको कारण सोमरसको विषय हाम्रा लागि काल्पनिक कथा मात्र बन्न पुग्यो। 

हिजो सोमरस  थियो भने आज पनि छ। मात्र, हामीले योसँग सम्बन्धित खोज र अनुसन्धान गर्न सक्नुपर्छ। 

प्रतिक्रिया