सभ्यताले सिध्यायो बालापन

योगी विकासानन्द     ०८ फागुन २०७७, शनिबार
सभ्यताले सिध्यायो बालापन

बाल्यकाल जीवनकै सर्वाधिक महत्वको उमेर हो । यो उमेरमा सिकेका र बुझेका विषय, ज्ञान र सीप अन्य उमेरको तुलनामा बढी प्रभावकारी र चिरस्थायी हुन्छन् ।  अझ यो उमेरको सिकाइ र बुझाइ सम्पूर्ण जीवनको संस्कारका रूपमा समेत रूपान्तरण हुन्छ । बालबालिकाका लागि सिंगो संसार नयाँ सिकाइ र बुझाइको केन्द्र हो । किनकि, उनीहरूलाई हरेक विषय, क्षेत्र र स्थान नयाँ लाग्छ । जुन कुरा नयाँ प्रतीत हुन्छ, त्यो स्मरणमा ताजा र दिगो हुनु स्वाभाविक हो ।
अहिलेको आधुनिक सभ्यताले बालबालिकालाई सिक्न र बुझन्का लागि धेरै सजिला माध्यम र उपाय विकास गरेको छ । विगतका भन्दा अहिलेका बालबालिका स्रोत र साधनका दृष्टिले भाग्यमानी छन् । तर, यो सभ्यताले उनीहरूलाई जति सहजता दिएको छ, त्यति नै जटिलता र दुर्भाग्य पनि थोपरेको छ । सभ्यता विकासका दुष्परिणामका कारण बालबालिकाको बाल्यकालप्रदत्त प्राकृतिक स्वभाव, कृत्य र मौलिकता दिनानुदिन साँघुरिँदै गएको छ वा नष्ट भएको छ । 

बालबालिका यौनजन्य क्रियाकलापमा सहभागी हुनु वा उनीहरूको यौन अपराधमा सहभागिता बढ्दै जानु सभ्यताकै परिणाम हो । उनीहरूको यौन अपराधमा किन सहभागिता बढिरहेको छ ? यौनजन्य विषयमा बालबालिकाको तीव्र आकर्षणको कारण के हो ? यी र यस्ता विषयमा मन्थन गर्नुपूर्व वर्तमान सभ्यताले आममानव जातिलाई कसरी प्रभाव पारिरहेको छ ? हामीले भन्दै आएको सभ्यता विकासले मानिसको प्राकृतिकपन कसरी गुम्दै गएको छ भनेर समीक्षा गर्नुपर्ने हुन्छ ।

माछाको कथा 

एउटा माछा समुन्द्रबाट उछिट्टिएर किनारमा आइपुगेछ । छटपटिइरहेको माछालाई भेगन (जीव–जनावरबाट उत्पादित र निर्मित कुनै पनि वस्तु प्रयोग नगर्ने) हरूको समूहले देखेछ । भेगनहरू दयालु हुनु स्वाभाविकै हो । उनीहरूले छटपटिइरहेको माछालाई अस्पताल लिएर गएछन् । माछाको स्वास्थ्य जाँच गर्ने क्रममा डाक्टरले माछाको शरीरमा एचटूओ अर्थात् पानी कम भएको पत्ता लगाएछन् र उसलाई पानी चढाइएछ । पानी अभावका कारण छटपटाएको माछा पानी पाएपछि शान्त र स्वस्थ भयो । 

यहाँ भेगनहरूले बडो मानवीय काम गरे । कुनै घाइते जनावरलाई अस्पतालसम्म पु¥याएर उपचार गराउनु आफैँमा अद्वितीय सेवाभावको नमुना हो । डाक्टरले पनि माछाको समस्या पत्ता लगाएर उपचार गरे । माछालाई पानीकै अभाव भएको हो र उसलाई पानी नै चढाइयो । तर, माछा कहिल्यै पनि त्यो अस्पतालबाट निक्लन पाएन । समुन्द्रको अनन्त क्षेत्रमा पौडने माछा अस्पतालको सानो बेडमा खुम्चन बाध्य भयो । माछाको यो कथा अहिलेको मानव समाजको कथा हो । सभ्यताले निर्माण गरेका अस्पतालका बेड जस्ता संरचना र पद्धतिका कारण आज मान्छे त्यही माछो बन्न वाध्य छ । कथाको माछोलाई भेगनहरूले समुन्द्रमा फालिदिएको भए यो अवस्था आउने थिएन । फेरि उनीहरूले गल्ती गरे भन्ने ठाउँ पनि छैन । उनीहरूकै कारण माछाको ज्यान बचेको छ । त्यस्तै, यो सभ्यताले बेठीक ग¥यो भन्ने ठाउँ पनि छैन । आज मानिसले स्वास्थ्य, शिक्षालगायत ज्ञान–विज्ञानका क्षेत्रमा जे–जति प्रगति गरेको छ वा मानिसको जीवनशैली जसरी सुखी देखिएको छ, त्यो सबै सभ्यताका कारण भएको हो । सभ्यताले मानिसलाई सुख र सुविधा त दियो,  तर त्यसको बदलामा उसलाई प्रकृतिबाट अलग्याइदियो । जसरी अस्पतालले माछाको ज्यान त बचायो, तर माछो समुन्द्रबाट अलग्गिन बाध्य भयो ।  

अहिलेको सभ्यताले हाम्रो ज्यान त बचाएको छ, तर जीवनको रसास्वादन गुमेको छ । जीवन सुन्दर र भव्य देखिन्छ । तर, त्यसमा स्वाद छैन । हामी मानिस प्रकृतिका सन्तान हौँ । प्रकृतिबाट टाढिँदै गएपछि हामीले हाम्रो प्राकृतिकपन पनि गुमाउँदै गएका छौँ । स्वाभाविक प्राकृतिक वृत्ति गुमेपछि अस्वाभाविक वा अप्राकृतिक क्षेत्र हाम्रो आकर्षणको केन्द्र बन्दै जान्छ । जसले असंख्य विकृति र विसंगतिलाई प्रश्रय दिन्छ । 

पञ्चतत्वसँगको दूरी

मान्छेका आवश्यकता र आकाक्षां पृथक् विषय हुन् । गाँस, बास, कपास र सहवास तथा पञ्चतŒव अन्तर्गतका पृथ्वी, जल, तेज (ऊर्जा) वायु र आकाश मानिसका अनिवार्य आवश्यकता हुन् । यीबिना मानव जीवन चल्दैन । तर, अहिलेको सभ्यताले मानिसलाई अनिवार्य वा प्राकृतिक आवश्यकताबाट अलग्याउँदै आकांक्षालाई मानिसको आवश्यकता बनाइरहेको छ । घाम ताप्नु जस्तो अनिवार्य आवश्यकता पूर्तिमा भन्दा आइफोन बोक्नुलाई आनिसले आवश्यकता ठम्याइरहेको छ । 

अहिले शहरमा बस्ने मानिसले स्वस्थ हावा लिन पाइरहेका छैनन् । एकातिर शुद्ध हावा पाइँदैन भने अर्कातिर आम मानिसले शरीरलाई चाहिनेभन्दा कम हावा लिन्छन् । कम हावा हुनेबित्तिकै मस्तिष्क ‘कन्फ्युज्ड’ हुन्छ । ‘फ्रेस’ नभएको मस्तिष्कले उदासी र अन्योल निम्त्याउँछ । अनि, हामी फ्रेस हुनका लागि मनोरञ्जनको खोज गर्न थाल्छौँ ।  अन्योलग्रस्त हुनाको परिणाम ताजा नभएको मस्तिष्कले गहिरो साहित्य पढ्न सक्दैन । गम्भीर विषयका फिल्म हेर्न सक्दैन । अनि, उसले मनोरञ्जनका लागि किताबै पढे पनि अश्लील साहित्य पढ्न थाल्छ । अश्लील फिल्म हेर्न थाल्छ । अहिले संसारमा जे–जति यौन वा अश्लील क्षेत्रसँग सम्बन्धित व्यापार–व्यवसाय तीव्र रूपमा फस्टाइरहेका छन्, यो सबै हुनुको पछाडि मानिस मानसिक रूपमा कमजोर हुनुको परिणति हो । 
शहरीकरण हुँदै गएपछि मानिसको घामसँगको सहचर्य कम हुँदै गएको छ । प्रायः घरहरूमा घाम छिर्दैन । कौसीसम्म घाम आए पनि त्यहाँ पुग्ने मानिसको फुर्सद हुँदैन । पर्याप्त घाम तापिएन भने शरीरलाई भिटामिन डी पुग्दैन । भिटामिन डी अपुग भएपछि डिप्रेसनसम्मको मानसिक समस्या देखिन्छ । जसकारण उही सस्तो मनोरञ्जन नै मानिसको रोजाइ बन्न पुग्छ । 

जीवन माटोबाट सुरु भएर माटोमै समाप्त हुन्छ, भनिन्छ । तर, दुर्भाग्य आधुनिक सभ्यताले माटोसँगको मानिसको सम्बन्धलाई टुटाउँदै लगेको छ । अहिलको बच्चा माटोमा जन्मँदैन । हुर्कंदा पनि उसको गोडाले माटो टेक्दैन । गोडाले माटो नटेक्दा हाम्रो शरीरमा विभिन्न स्वास्थ्य समस्या निम्तन्छन् । शरीर माटोसँगको सम्पर्कमा नपुग्दा विभिन्न दीर्घरोग लाग्ने गरेका पछिल्ला खोज र अनुसन्धानले देखाएका छन् । अहिले ‘ग्राउन्डिङ’ (माटोमा टेक्नु) थेरापीका रूपमा विकास भइरहेको छ । माटोबाट आउने नेगेटिभ इलेक्ट्रोन र आकाशबाट आउने पोजिटिभ इलेक्ट्रोनहरूको सम्पर्कले हाम्रो शरीरमा ऊर्जाको पूर्ति हुन्छ । शहरमा बस्ने मानिसहरूको शिरमाथि आकाश छैन, छत छ । अनि, खाली गोडाले जमिन पनि छुँदैन । यसरी आकाश र जमिनको सम्पर्क टुटेपछि हाम्रो शरीरमा थुप्रिएका ‘फ्री ¥याडिकल्स’ (फोहोर)हरू बाहिरिँदैनन् । शरीरले त्याग्नुपर्ने कुरा शरीरमा थुप्रिएपछि शरीर र मन बोधो हुँदै जान्छ । बोधो मनले तीखो विषय रुचाउँदैन । तीखो विषय पर्गेल्न सक्ने ऊसँग सामथ्र्य नै हुँदैन । जसको परिणाम हल्काफुल्का मनोरञ्जन उसको रोजाइमा पर्न थाल्छ । 
पञ्चतत्व अन्तर्गतको पानीको कुरा गर्दा हामीसँग पानीको विकल्पमा धेरै पेयपदार्थ उपलब्ध छन् । पानी पिउनुपर्ने अवस्थामा हामी कोकाकोला जस्ता चिसो पेय पिउँछौँ । पानीभन्दा बढी कोकाकोला, चिया र कफी पिएपछि शरीर र मन समस्याग्रस्त बन्छन् । हिजो ग्रामीण समाजमा मानिससँग पानीबाहेक खासै पेयपदार्थ उपलब्ध थिएनन् । तर, आज कृत्रिम पेयपदार्थको जगजगी छ । 

जीवनको मुख्य वा अनिवार्य आवश्यकताका रूपमा रहेको पञ्चतŒवसँग मानिसको सान्निध्य र सम्पर्क छुट्दै गएको छ । यो आवश्यकता पूर्ति नहुनु भनेको मानिस अप्राकृतिक हुँदै जानु हो । जुन जे जसरी बाँच्नुपर्ने विधि–विधान छ, सो अनुरूप हुन सकेन भने स्वतः समस्या निम्तन्छ । 

अश्लीलताको व्यापार 

फिल्म, पत्रिका र इन्टरनेटको व्यापारमा अश्लील सामग्रीहरूले ठूलो हिस्सा छ । सामाजिक सञ्जालमा उपलब्ध सामग्रीमध्ये अधिकांश यौनसँग सम्बन्धित छन् । भद्दा यौन आजको व्यापारको केन्द्र बनिरहेको छ । यस्ता सामग्रीहरू प्रकाशन÷प्रसारण गर्नेहरूलाई लिएर विभिन्न आलोचना पनि सुनिन्छ । तर, मुख्य कुरा के हो भने सभ्यताले निम्त्याएको अप्राकृतिक जीवनशैलीका कारण आम मानिस अश्लील मनोरञ्जनमा लालायित छ । जे बिक्छ, त्यसको व्यापारलाई सञ्चार माध्यम र सामाजिक सञ्जालले जोड दिनु स्वाभाविकै हो । तर, यसो भनिरहँदा सञ्चारमाध्यमले व्यापारका नाउँमा समाज र समुदायलाई नै समस्यामा पार्ने सामग्री प्रकाशन÷प्रसारण गर्नमा ध्यान पु¥याउनुपर्छ । 

अश्लीलता चारैतिर छ । जसले बालबालिकालाई प्रभावित बनाइरहेको छ । यौनजन्य क्रियाकलापमा बालबालिकाको सहभागितालाई लिएर हामी बालबालिका बिग्रिए भन्छौँ । बालबालिका बिग्रिएका होइनन् । हामीले बिगारेका हौँ । सभ्यताले बिगारेको हो । आधुनिकताले बिगारेको हो ।  
एकातर्फ हामीले बालबालिकालाई प्राकृतिक हुर्काइबाट अलग्याइरहेका छौँ भने अर्कातर्फ अश्लीलताको व्यापार आधुनिक सभ्यताको मुख्य व्यवसायका रूपमा स्थापित छ । यस्तो अवस्थामा बालबालिकाको मस्तिष्कमा यौनले डेरा जमाउनु स्वाभाविकै हो । 

बालबालिकाहरू प्रकृतिसँग जोडिएर हुर्कने हो भने उनीहरू यौन अपराधमा सहभागी हुँदैनथे । अप्राकृतिक जीवनले निम्त्याएको तनाव न्यूनीकरणका लागि उनीहरू यौनलाई मनोरञ्जनका रूपमा लिइरहेका छन् ।
 

निःशर्त प्रेमको अभाव 

बालकमा १४ वर्ष र बालिकामा १२ वर्षबाट यौन अनुभूति हुन थाल्छ । यौन अनुभूति हुनु भनेको उनीहरू उक्त क्रियाकलापमा सहभागी हुनु होइन । उसले यौनमा स्वाद खोज्नुको एउटा कारण घरपरिवारबाट निःशर्त प्रेम प्राप्त नगर्नु पनि हो । बालबालिकाले परिवारबाट बेशर्त प्रेम पाउन सकेनन् भने उनीहरू ‘सेक्सुअल करप्सन’तर्फ अगाडि बढ्छन् । घरमा आमाबाबुबाट प्रेम नपाएपछि बाहिर ‘गर्लफ्रेन्ड’ वा ‘ब्वाइफ्रेन्ड’ मार्फत प्रेमको पूर्ति गर्न थाल्छन् । आमाबाबाले पर्याप्त समय दिने र शर्तरहित प्रेम गर्ने हो भने बालबालिकाको ‘सेक्सुअल करप्सन’मा कमी आउनेछ । शर्तपूर्ण प्रेम भनेको बन्धन हो । स्कुल वा कलेजमा नम्बर ल्याए माया गर्ने, आफूले भनेको माने माया गर्ने वा आमाबाबुले आफ्ना शर्तहरूको पूर्ति गर्दा छोराछोरीलाई माया गर्ने र नगर्दा नगर्नेबित्तिकै प्रेम प्रेम रहँदैन, बन्धन बन्छ । आमाबाबुले छोराछोरी जहाँ र जस्तो अवस्थामा छन्, त्यसमै स्विकारिदिने हो भने बालबालिका आनन्दको खोज गर्दै ‘सेक्सुअल करप्सन’सम्म पुग्दैनन् ।   
 

manokranticentre@gmail.com

 
 

प्रतिक्रिया