इयान ज्याक
भारतीय इतिहासकार रामचन्द्र गुहाले महात्मा गान्धीको जीवनीको दोस्रो भाग सार्वजनिक गरेका छन्। गुहाकै शब्दमा यो किताब लेख्न ‘३० वर्षको अव्यवस्थित रुचि र १५ वर्षको तीव्र अनुसन्धान’ लाग्यो। केही समयअघि लन्डन स्कुल अफ इकोनोमिक्समा बोल्दै गर्दा उनी भावुक र मनोरञ्जक रूपमा प्रस्तुत भए। गत शताब्दीकै महान् नैतिकवान् व्यक्तित्वप्रति गुहाको सम्मान र स्नेहबारे सुन्न पाउनु सुखद् थियो।
कार्यक्रममा दर्शकले प्रायः भारतीय स्वतन्त्रता आन्दोलनमा गान्धीको भूमिका तथा भारतको धार्मिक तथा सामाजिक विखण्डनलाई कम गर्ने उनको प्रयासबारे प्रश्न गरेका थिए। तर, कार्यक्रमको अन्त्यमा एक युवतीले गान्धीको जीवनको अनौठो अंशबारे प्रश्न गरिन्। गान्धीको जीवनको त्यो अंशले आफूलाई ‘अशान्त’ तुल्याएको ती युवतीले बताइन्। यसको प्रतिउत्तरमा गुहाले गान्धीको सो बानी ‘अस्पष्ट र समर्थन गर्न नसकिने’ भएको बताए।
गान्धीको मृत्युपछि दशकौँसम्म उनको यो बानीबारे कमैलाई मात्र थाहा थियो। गान्धीको जीवनमा आधारित चर्चित कृतिहरूले यसबारे कुनै उल्लेख गरेनन्। रिचर्ड एट्टेनबोरोको गान्धीको जीवनीमूलक फिल्ममा पनि यसको उल्लेख गरिएन।
यो तथ्य के थियो भने सन् १९४४ मा श्रीमती कस्तुरबाको मृत्युपछि गान्धी अन्य महिलासँग सुत्ने गर्थे। उनी पूरै नांगो भएर आफ्नी निजी चिकित्सक सुशीला नायर तथा नातिनीहरू आभा र मनुसँग सुत्थे। आभा र मनु त्यसबेला किशोरावस्थाको उत्तरार्धमा थिए र उनीहरूको उमेर गान्धीभन्दा ६० वर्ष कम थियो।
गान्धीले जीवनको पछिल्लो ४० वर्ष कुनै पनि महिलासँग यौन सम्बन्ध राखेका थिएनन्। उनले कसैसँग यौनसम्बन्ध राखेका थिए भनेर अहिले तोकेरै भन्नसक्ने कोही पनि छैन। उनी नग्न महिलालाई आफ्नो ओछ्यानमा निम्त्याउँथे। तर, उनको सचेत उद्देश्य थियो, ती महिलासँगको यौन सम्बन्धबाट बच्नु।
ती महिला प्रलोभनका रूपमा त्यहाँ उपस्थित थिए, जसले गान्धीको ब्रह्मचर्य पालनको परीक्षण गर्थे। तिनको उपस्थितिमा गान्धी उत्तेजित भएनन् भने उनी आफूले ब्रह्मचर्य प्राप्त गरेको ठान्थे, यौनशक्तिमाथि नियन्त्रण पाएको ठान्थे।
गान्धीका अनुसार ‘जसले कहिल्यै वासनायुक्त नजरले कसैलाई हेरेको छैन, जो ईश्वरको निरन्तर उपस्थितिका कारण सचेत वा अचेत रूपमा उत्सर्जनलाई रोक्न सफल छ, जो नग्नावस्थाका महिलासँग सुत्छ र ती महिला जतिसुकै सुन्दर भए पनि ऊ यौनिक रूपले उत्तेजित हुँदैन’, त्यस्तो व्यक्तिले मात्र ब्रह्मचर्य पालन गर्न सक्छ। गान्धीका अनुसार त्यस्तो व्यक्तिले कहिल्यै झुटो बोल्न सक्दैन र कसैलाई हानि पुर्याउन सक्दैन।
त्यसबेला गान्धीलाई ब्रह्मचर्य किन यति महत्वपूर्ण लाग्यो त ? किनभने, गान्धीको आफ्नै सनक र अहं थियो। उनलाई लाग्थ्यो, उनको आफ्नो व्यक्तिगत कमजोरीको कुनै न कुनै सम्बन्ध त्यसबेला देशभर फैलिरहेको हिन्दु–मुस्लिम हिंसासँग थियो। गुहाले लेखेका छन्, गान्धीको विचारमा ‘उनको वरिपरि भइरहेको हिंसा केही हदसम्म आफूभित्रको अपूर्णताको नतिजा वा उत्पादन थियो।’
गान्धीको विश्वास थियो, बच्चा जन्माउनका लागि मात्र यौनको अस्तित्व रहेको हो। यौन आनन्द लिनका लागि होइन। उनको यस्तो विश्वासलाई उनका राजनीतिक सहयात्री जवाहरलाल नेहरुले ‘अप्राकृतिक र भयानक’ भनेका थिए। गान्धी कामेच्छालाई शत्रु मान्थे। उनी १६ वर्षको छँदा उनका पिता बिरामी थिए।
गान्धीको विश्वास थियो, बच्चा जन्माउनका लागि मात्र यौनको अस्तित्व रहेको हो। यौन आनन्द लिनका लागि होइन। उनको यस्तो विश्वासलाई उनका राजनीतिक सहयात्री जवाहरलाल नेहरुले ‘अप्राकृतिक र भयानक’ भनेका थिए।
एक दिन पत्नीसँग संसर्ग गर्नका लागि उनी पिताको ओछ्यान छोडेर हिँडे। त्यही दिन उनी पत्नीसँग प्रेमालिंगनमा रहँदा उनको पिताको मृत्यु भयो। त्यसपछि उनले कामेच्छालाई शत्रु मान्न थालेका थिए।
सन् १९४६–४७ को हिउँदमा गान्धीको व्यवहारबाट उनका आफ्नै प्रशंसक अचम्भित भए। गान्धी १९ वर्षीया मनुसँग सुत्छन् भन्ने थाहा पाएपछि कम्तीमा दुई सहयोगीले उनको साथ छाडे। उनका एक जना बंगाली अनुवादक र स्टेनोग्राफरले उनको सेवा त्यागेका थिए। यस विषयमा भारतीय प्रेस मौन बस्यो।
मनुसँगको आफ्नो ‘प्रयोग’ लाई गान्धीले अस्वाभाविक रूपमा गोप्य राखे। पछि सत्यको साधकले कुनै पनि कुरा लुकाउनु हुँदैन भन्ने सिद्धान्तको आफ्नो व्यवहारले उल्लंघन गरेको भन्दै गान्धीले पश्चात्ताप पनि गरे। ती युवतीले नै गान्धीप्रति कुनै कुभावना राखेको प्रमाण पनि छैन। मनु र आभा त उनका ‘छडी’ का रूपमा परिचित थिए।
सन् १९४८ को जनवरीमा उनको हत्यारा पिस्टोल लिएर अगाडि आउँदासमेत गान्धीसँग मनु र आभा नै थिए। त्यसबेला गान्धीले ब्रह्मचर्यसम्बन्धी आफ्नो प्रयोग त्यागेको एक वर्ष भइसकेको थियो।
गान्धीलाई माया गरेर सबै बापु भन्ने गर्थे, जसको अर्थ हुन्छ, पिता। तर, पछि मनुले लेखेको एउटा संक्षिप्त संस्मरणको शीर्षक छ ‘बापु– मेरी आमा।’ आफूलाई कामेच्छाको परीक्षण गर्ने साधनका रूपमा प्रयोग गर्ने व्यक्तिलाई यस्तो विरोधाभाषी पदावलीले व्याख्या गर्न खोज्नु अनौठो देखिन्छ।
मनु सानै छँदा उनकी आमाको मृत्यु भएको थियो। गान्धीकी पत्नीले उनको पालनपोषण गरेकी थिइन्। उनको मृत्युपछि गान्धीले आमाको भूमिका निर्वाह गरे। उनले मनुलाई खाना पकाएर खुवाए, हेरचाह गरे। मनुले आफ्नो डायरीमा उल्लेख गरेकी छिन्, गान्धीसँगको उनको संवाद ‘कुनै पनि आमाले महसुस गर्नसक्ने भन्दा धेरै प्रेमपूर्ण हुन्थ्यो।’ तर, यो पारिवारिक कर्तव्य मात्र थिएन। गान्धी प्रायः भन्ने गर्थे, उनी आधा महिला हुन्।
अर्का इतिहासकार विनय लालका शब्दमा ‘गान्धीमा रहेको भग ईष्र्याबारे बोल्नु लगभग उपयुक्त हुन्छ।’ गान्धी यौनका सीमाहरूलाई चलाउन मन पराउँथे। उनको वातावरणवाद, खानपिन र विरोधको तरिकाजस्तै यौनका विषयमा पनि गान्धीलाई आजको युगको आदिरूप थाहा थियो।
आजको घटनालाई विगतसँग गाँस्नु प्रायः निरर्थक हुन्छ। सेक्सपियरले युरोपेली युनियनको जनमतसंग्रहमा कुन पक्षमा भोट हाल्थे, कसैलाई कुनै चासो छ ? तथापि आजको युगको नैतिकताको सन्दर्भमा गान्धीको प्रयोगलाई कसरी हेरिन्थ्यो भनेर विचार गर्नु रोचक छ।
एक शक्तिशाली पुरुष, कमजोर युवती र नग्नता ! निश्चय नै गान्धीको ठूलो बदनामी हुन्थ्यो। उनको गल्तीलाई बंग्याइन्थ्यो र अति सरलीकृत गर्दै हतारिएर उनीबारे निर्णय गरिन्थ्यो। उनको प्रतिष्ठामा लागेको दागलाई अत्यन्त विशाल बनाइन्थ्यो। र, उनको मानवीय र परिवर्तनकारी जीवनको दुःखद अन्त्य हुन्थ्यो।
त्यस्तो परिस्थितिमा जर्ज अरवेलले गान्धीको स्मृतिमा त्यस्तो समाधिलेख लेख्ने थिएनन्, जसलाई गुहाले आफ्नो पुस्तकको अन्तिम पृष्ठमा दोहोर्याएका छन्,‘हाम्रो समयका अन्य राजनीतिक नेताहरूको तुलनामा उनले शुद्ध सुवास आफूपछाडि छोड्न सफल भएका छन् !’ (ज्याक अंग्रेजी पत्रिका ‘द गार्जियन’का स्तम्भकार हुन्।)
-अनुवादः खगेन्द्र गिरी