दृष्टि क्षमता गुमाउँदै गर्दा मेरो प्रेम जीवन पनि त्यसैअनुरूप चलिरहेको थियो, जसरी २०/३० वर्षे शहरियाको प्रेम जीवन अगाडि बढ्छ। म अनेक पटक प्रेममा परेँ। कहिलेकाहीँ विवाह नगरी जोडी बाँधेर बसेँ। मेरो प्रेम सम्बन्धको आयु कहिले दुई महिना त कहिले चार वर्ष हुने गथ्र्यो।
लियोना गोडिन
‘दृष्टिविहीन भएकोमा मलाई दिक्क लाग्छ,’ पाँच साता लामो कार्यशालाको सुरुमा मैले लेखक साथीहरूसँग भनेँ।
मेरो कुरा केही हदसम्म साँचो थियो। प्रविधि प्रयोग गर्न मलाई कुनै कठिनाइ छैन। त्यसले मलाई लेखक बन्न सहयोग गरेको छ। तर, मलाई हिँडडुल गर्न साह्रै अप्ठ्यारो लाग्छ। त्यसैले मेरा आँखा देख्ने पार्टनर अलाबास्टर मसँग हुन्छन्। मलाई काम गर्नु थियो। डाइनिङ हलसम्म जाने बाटोमै हराएर समय बिताउन मलाई मन थिएन। त्यसैले मैले पार्टनर पनि ल्याउँछु भन्दा आयोजकले सहजै स्वीकृति दिए।
त्यहाँ म एक्लो दृष्टिविहीन व्यक्ति थिएँ। अपांगता भएको व्यक्ति र साथी लिएर आउने पनि एक्लो नै थिएँ। त्यसैले मानिसहरू बारम्बार हामीलाई सोधिरहन्थे, ‘तपाईंहरू दुई जनाको भेट कसरी भयो त रु’ तर, यो प्रश्नले मलाई झन् दिक्क लगायो। किनभने, मेरा लेखक साथीहरू मेरो कामभन्दा मेरो सम्बन्धबारे जान्न बढी इच्छुक थिए। उसले र मैले पालैपालो हाम्रो जटिल इतिहास दोहोर्याएर सुनाइरहँदा हामी त्यो बिन्दुमा पुग्यौँ, जहाँ पुगेपछि लाग्थ्यो, अब त यो कथा फेरि भन्न सकिन्न।
१० वर्षको उमेरसम्म मेरो दृष्टि सामान्य थियो। ४० वर्ष नाघेपछि म पूर्ण रूपमा दृष्टिविहीन भएँ। दृष्टि क्षमता गुमाउँदै गर्दा मेरो प्रेम जीवन पनि त्यसैअनुरूप चलिरहेको थियो, जसरी २०÷३० वर्षे शहरियाको प्रेम जीवन अगाडि बढ्छ। म अनेक पटक प्रेममा परेँ। कहिलेकाहीँ विवाह नगरी जोडी बाँधेर बसेँ। मेरो प्रेम सम्बन्धको आयु कहिले दुई महिना त कहिले चार वर्ष हुने गथ्र्यो।
३० वर्ष पुगेको साल मैले पहिलो पटक कुकुरको सहारामा हिँड्ने तालिम लिएँ। त्यो चिल्लो कालो कुकुर थियो, जसको नाम थियो मिलेनियम। त्यसबेला म दिउँसो चाहिँ अलिअलि आँखा देख्न सक्थेँ तर राति ठ्याम्मै देख्दिनथेँ। मिलेनियमको साथमा भने म राति पनि बाहिर जान सक्थेँ। वर्षौंपछि कुकुरको सहयोगमा म त्यो काम गर्न सक्ने भएकी थिएँ।
कुकुरको सहाराले पाएको यो स्वतन्त्रताको पहिलो शिकार मेरो ब्वाइफ्रेन्ड भयो। मेरो फ्ल्याटबाट बाहिरिँदै आधा ठट्टा र आधा साँचो स्वरमा उसले मिलेनियमलाई भन्यो– ‘तैँले जितिस्, यार।’
तर, म हिँडडुल गर्न सक्ने हुँदैमा मानिसहरूले मलाई हेर्ने नजर भने फेरिएन। म अचानक ‘सामान्य’ बाट दृष्टिविहीन देखिन थालेँ। रेल स्टेसनमा अपरिचित व्यक्तिहरू आएर मेरो हात समात्थे, अनि म र मिलेनियमलाई बाटो कटाउन खोज्थे। मलाई थाहा छ, उनीहरू सहयोग गर्न खोजिरहेका थिए। तर, आँखा देख्ने मान्छेले प्रायः बिर्सिने गर्छन्, आँखा नदेख्नेलाई पनि अपरिचितले हात समातेको फिटिक्कै मन पर्दैन।
‘मलाई कराते आउँछ १’ उनीहरूको हात झड्कार्दै म भन्ने गर्थें। वास्तवमा मलाई कराते आउँछ पनि। ‘ब्लाइन्ड कराते’ बारे धेरैलाई थाहा छैन।
यो न्युयोर्क शहरको कुरा हो। जहाँ म आफ्नो स्नातकोत्तरका लागि अंग्रेजी साहित्य पढाइरहेकी थिएँ। म चिटिक्क परेको स्कर्ट–सुट र हाई हिल बुट लगाएर बाहिर निस्किन्थेँ। मिलेनियम साथमा भएको केही वर्ष मैले थुप्रैसँग डेटिङ गरेँ।
तर, प्राज्ञिक क्षेत्रमा मात्र अडिन मेरो मन मान्दैनथ्यो। थेसिसका लागि अनुदान पाएपछि मसँग यति धेरै समय थियो कि इस्ट भिलेजमा गएर प्रस्तुति दिन थालेँ। कमेडी गर्ने दक्षता मसँग थिएन। बाजा बजाउन पनि मलाई आउँदैनथ्यो। तर, त्यहाँका असल मानिसले मलाई र मेरो कुकुरलाई जहिले पनि खुला हृदयले स्वागत गरे।
मैले अलाबास्टरलाई ब्ल्याक बक्स थिएटरको बेसमेन्टमा भेटेकी थिएँ। उनी गायक र संगीतकार हुन्। पहिलो पटक उनको गीत सुन्दै मैले दुःख र हर्षको अनौठो मिश्रण अनुभूत गरेँ। मानिसहरूले उनीसँग गरेको राम्रो व्यवहारबाटै म भन्न सक्छु, उनी सुन्दर पनि छन्। अनेकौँ चरणको निकटता र कहिलेकाहीँ चर्को प्रकाशमा मैले उनको सुन्दरताको केही झल्को पाएकी छु। त्यसैले उनी सदा तन्नेरी, सदा सुन्दर रूपमा मेरो मस्तिष्कको आँखामा कैद भएका छन्।
हामी दुवै भेट भएका बेला अलगअलग अनुचित मानिसहरूसँग डेटिङ गरिरहेका थियौँ। तर, हामीबीच भने केही भएको थिएन। अन्ततः मेरो रुममेट र मैले उनलाई हाम्रो अपार्टमेन्टमा खाली भएको कोठामा निम्त्यायौँ। उनी र म भेट भएपछि नै हाम्रा पहिलेका सम्बन्धहरू बिलाउन थाले। उनी फ्लोरिडा जाँदा पनि सँगै जान तयार भएँ। एउटा सुन्दर स्विमिङ पुलको छेउमा हामीले पहिलो चुम्बन गर्यौँ। त्यसपछि हामी नराम्ररी प्रेममा पर्यौँ। यो एक दशकअघिको कुरा थियो।
प्रेमको सवालमा दृष्टिविहीनताले मानिसलाई पागल बनाउने गर्छ। अन्धोपनमाथि बनेका फिल्मले यो देखाउँदैनन्। कमसे कम मेरो अनुभव चाहिँ यस्तो छ। के उनी अर्की महिलालाई हेरिरहेका छन् रु के ती महिला मभन्दा सुन्दर छे रु के उनले मलाई प्रेमपूर्वक नै हेरिरहेका छन् त रु यस्ता प्रश्नले मेरो ईष्र्यामा इन्धन थप्थ्यो। म अरू ब्वाइफ्रेन्डसँग हुँदा पनि असुरक्षित महसुस गर्थेँ। तर, मेरो रिस अन्धोपनसँगै बढ्दै गयो।
कार्यशालाका लेखक साथीहरूसँग अलाबास्टरले एक पटक भने– ‘ओहो, उतिबेला हामी खूब झगडा गथ्र्यौं। यिनले मेरो अनुहारमा मुक्का पनि हानेकी थिइन्।’
सबै जना गलल्ल हाँसे। तर, म भने विस्मयमा परेकी थिएँ। खासमा उनको अनुहारमा मुक्का हानेको सम्झना पनि मलाई छैन। यी लगभग अपरिचित मान्छेहरूले मेरो बारेमा यो कुरा थाहा पाऊन् भन्ने म कदापि चाहन्नथेँ। उतिबेला हामी कति अस्तव्यस्त थियौँ, त्यसलाई अलाबास्टर रोचक तरिकाले सुनाउन चाहन्थे। वास्तवमै हामी त्यसबेला अस्तव्यस्त थियौँ। एक वर्षपछि नै हाम्रो बे्रकअप भयो।
उनीसँग ब्रेकअप भएकै साल गर्मीमा म मार्गदर्शक कुकुरको सहयोगमा हिँड्न थालेको नौ वर्ष पुगेको थियो। यो बीचमा मेरो दृष्टि क्षमता पूरै गुमिसकेको थियो। बाहिर निस्किन मेरा लागि निकै मुश्किल बन्न थालेको थियो। अझ, मिलेनियम पनि बूढो भइसकेको थियो। उसलाई विश्राम दिने समय आइसकेको थियो। उसको चाल ढिला हुन थालेको थियो। मेरो कुकुर, मेरो प्रेमी र कोठामा सँगै बस्ने मेरो साथी एकपछि अर्को मबाट टाढिए।
मैले रुँदै आफ्नी साथी इन्डिगोलाई फोन गरेँ। भोलिपल्टैको उडानबाट उनी मलाई सघाउन आइन्। हामीले अपार्टमेन्ट सफा गर्यौँ र नयाँ रुममेट पनि खोज्यौँ। त्यो गर्मीमा मैले अर्का एक तन्नेरी फेला पारेँ। हामी एक सोमा भेट भएका थियौँ, जोसँग मैले मनोविनोद गर्ने मौका पाएँ।
‘ऊ हेर्दा राम्रो छ रु’ मैले इन्डिगोलाई सोधेँ। ‘छ नि,’ उनले भनिन्, ‘तिमी त उसलाई रकेट चढाएर चन्द्रमामा पठाउँछौ होला।’ त्यसैकारण हामी उसलाई अन्तरिक्षयात्री भन्न थाल्यौँ। तर, हाम्रो सम्बन्ध भने लामो समय टिकेन।
म दोस्रो कुकुरसँग हिँड्ने अभ्यास गर्न थालेँ। यो इगोर नामक जर्मन सेफर्ड थियो। तर, मैले आफ्नो हिँडडुल गर्ने सीप विकास गर्न सकिनँ। पहिलेपहिले म सडकमा ट्राफिक देख्न सक्थेँ। अहिले पूर्ण रूपमा दृष्टिविहीन भइसकेपछि सुनेको भरमा कसरी हिँड्ने, मलाई आउँदैनथ्यो। मार्गदर्शक कुकुर तिनको पार्टनरजति मात्रै सिपालु हुन्छन् र म हिँडडुल गर्नमा सिपालु थिइनँ।
अलाबास्टर र म दुवै अन्य व्यक्तिसँग डेटिङ गर्न थालेका थियौँ। तथापि हामीले एकअर्कालाई भेट्न भने छाडेका थिएनौँ। केही वर्षपछि हामीले फेरि आपसी प्रेममा रहेको घोषणा गर्यौँ। त्यसको केही महिनापछि नै इगोरको मृत्यु भयो। उसको छोटो जीवनको भयानक अन्त्यका कारण म साह्रै दुःखी भएँ। यो क्षतिको समयमा पनि अलाबास्टारले मलाई ठूलो सहयोग गरे। हामी एकअर्कासँग झुण्डिरह्यौँ। त्यसबेलासम्ममा हामी अलि बढी विनम्र र शान्त पनि भइसकेका थियौँ।
छ वर्ष बितिसकेको छ। यो अवधिमा हामी एकअर्काबाट एक पटक पनि अलग भएका छैनौँ। म दृष्टिविहीन हुन्नथेँ भने हाम्रो सम्बन्ध के हुन्थ्यो, म भन्न सक्दिनँ। म अहिले जे छु, त्यसको अभिन्न हिस्सा हो मेरो अन्धोपन। र, उनको साथमा म छु, त्यो पनि मेरो एउटा अभिन्न पक्ष हो। तथापि, एक क्षमतावान् र अलग व्यक्तित्वका रूपमा देखिन मैले निकै ठूलो संघर्ष गर्नु परिरहेको छ।
निकै ठूलो मिहिनेतपछि मैले आफ्नो पुस्तकको प्रोपोजल तयार गरेँ। त्यो प्रोजेक्ट पारित पनि भयो। एजेन्टले मलाई फेलोसिपका लागि मनोनीत पनि गरे। त्यहाँ सबैथोक पूरा गरिसकेपछि पनि मेरा सहकर्मीहरूले मलाई देखिरहेका थिएनन्। यो साह्रै पीडादायी अनुभव थियो।
पुरानो पागलपनले मलाई फेरि छोप्यो। उतिबेला मेरो केटालाई कुनै महिलाले लगिदिन्छे कि भनेर म पागल हुन्थेँ। तर, अहिले अलाबास्टरको आकर्षण र प्रतिभाका अगाडि मेरो उपलब्धि छोपिने हो कि भनेर म डराउँछु।
क्याम्पसवरिपरि घुम्न मलाई अलाबास्टरले सहयोग गरे। तर, मानिसहरूले त्योभन्दा धेरै गरेको देखे। रात्रिभोजका क्रममा मैले आफ्नो इमेल पढेको कुरा उल्लेख गर्दा एक जनाले भने, ‘अलाबास्टरले इमेल पढिदिन्छन् रु’ मैले उनलाई पढ्ने सफ्टवेयरबारे व्याख्या गरेँ। मेरो ब्रेलले कसरी काम गर्छ, देखाएँ।
मेरो काम देखाइसकेपछि पनि मानिस मभन्दा अलाबास्टरको संगीत र उनले सेनामा बिताएको समयबारे जान्न बढी इच्छुक देखिए। हुन सक्छ, उनीहरू सोच्दा हुन्, अन्धोपनले गर्दा मसम्म पहुँच राख्न मुश्किल छ। हुन सक्छ, उनीहरू सोच्दा हुन्, आँखा देख्ने अलाबास्टरजस्तो मान्छे आँखा नदेख्ने केटीसँग किन लठारिइरहेको छ।
‘अलाबास्टरप्रति मानिसको आकर्षणले ममा ईष्र्या होइन, गर्व पैदा गरेको छ,’ सोच्छु, मैले तिनलाई यसो भन्न सके कति राम्रो हुँदो हो। तर, हामीबीचको असन्तुलनले वर्षौंदेखि सम्बन्धलाई टेढो बनाएको छ। कार्यशालामा छउञ्जेल थुप्रै रात हामीले तर्कवितर्क गरेर र रोएर बितायौँ।
त्यसपछि मलाई लाग्न थाल्यो, मेरो पुरानो स्वतन्त्रता फिर्ता लिन पाए कस्तो हुँदो हो। एक दृष्टिविहीन सहायक व्यक्तिको सट्टा एक्लो व्यक्तिका रूपमा जिन्दगी चलाउन पाए कस्तो हुँदो हो। म कहिलेकाहीँ अलाबास्टर बिनाको जीवन परिकल्पना गर्ने गर्छु। मलाई लाग्छ, म उनीबिना पनि बाँच्न सक्छु। तर, मलाई स्पष्ट के थाहा छ भने म उनीबिना बाँच्न चाहन्नँ। ‘यी मान्छेहरू मलाई बुझ्दैनन्, तर अलाबास्टर बुझ्छन्,’ मैले सोचेँ।
लेखकहरूसँग अन्तिम साँझ बिताइरहँदा हामी बियर पिइरहेका थियौँ। कसैले भन्यो, ‘यहाँको कुराकानीको सबैभन्दा लोकप्रिय विषय तपाईं र अलाबास्टर बन्नुभयो।’ पहिलो पटक मैले सुनिनँ, ‘यस्तो राम्रो मान्छे आँखा नदेख्ने केटीको पछि लागेर के गरिरहेको छ रु’ बरु मैले सुनेँ, ‘तपाईंहरू दुई जनाको जोडी खूब सुहाउँछ।’
ती लेखकमध्ये केहीको मात्र पति वा पत्नी उनीहरूलाई घरमा पर्खिरहेका थिए। त्यहाँ भएकामध्ये धेरैजसो डिभोर्सी र अविवाहित थिए। अहिले कार्यशालाका ती दिन सम्झिँदा छक्क पर्छु। त्यसबेला मैले बिर्सेछु, आँखा देखे पनि, नदेखे पनि प्रेम भनेको पाउन मुश्किल र गुमाउन साह्रै सजिलो छ।
–‘द न्युयोर्क टाइम्स’बाट। दृष्टिविहीनताको व्यक्तिगत र सांस्कृतिक इतिहाससम्बन्धी किताब लेखिरहेकी गोडिन कोलोराडोमा बस्छिन्।