सदन कुनै रेसलिङ खेलको रिङ होइन, जहाँ आवेग, आक्रोश र व्यक्तिगत प्रतिस्पर्धाले मर्यादालाई जितोस् । यो त जनताको आवाज, विश्वास र भविष्यको दिशा तय हुने सर्वोच्च थलो हो । यहाँ तर्क, विचार र नीति बोल्नुपर्छ, उत्तेजना, तमाशा र अशोभनीय व्यवहार होइन ।
प्रतिपक्षको धर्म भनेको केवल विरोध गर्नु मात्र होइन, जनताको आवाजलाई जिम्मेवार ढंगले उठाउनु हो । लोकतन्त्रमा प्रतिपक्ष सरकारको कमजोरीमाथि खबरदारी गर्ने शक्ति हो, तर जनताको हितमा भएका सही कामको समर्थन गर्नु पनि उत्तिकै ठूलो कर्तव्य हो । सहीलाई सही र गलतलाई गलत भन्न सक्ने साहस नै सच्चा प्रतिपक्षको पहिचान हो ।
आजको समय यस्तो छ, जहाँ जनताले केवल नाराबाजी, आक्रोश र रंगीन भाषणभन्दा परिणाम खोजिरहेका छन् । तर कतिपय अवस्थामा प्रतिपक्षले जनभावना बुझ्नुभन्दा आफ्नै अडान, आफ्नै स्वार्थ र आफ्नै राजनीतिक रंगलाई मात्र प्राथमिकता दिएको जस्तो देखिन्छ । जनताले विकास, स्थिरता र सकारात्मक काममा खुसी व्यक्त गरिरहेका बेला त्यसलाई पनि स्वीकार गर्न नसक्नु भनेको वास्तविकताबाट टाढिनु हो ।गोल्छे सार्कीले जुत्ता हानेको घटनादेखि लिएर पछिल्ला उत्तेजित व्यवहारहरूले संसदको गरिमा कमजोर बनाएको अनुभूति जनतामा बढिरहेको छ । सत्ता पक्ष होस् वा प्रतिपक्ष, दुवैले यो कुरा गम्भीर रूपमा बुझ्न जरुरी छ ।
आफ्नो कमजोरी नदेख्ने, अरूको राम्रो काम स्वीकार गर्न नसक्ने र सधैं विरोधमै रमाउने प्रवृत्ति अन्ततः राजनीतिक रूपमा आफैं “नाङ्गिने” बाटो हो । नाङ्गोपन केवल बाहिरी कपडाले मापन हुँदैन, सोच, व्यवहार र जिम्मेवारीको अभावले पनि मानिस राजनीतिक रूपमा नाङ्गिन्छ । जनताले आज सबै कुरा देखिरहेका छन्— कसले देशका लागि बोलिरहेको छ र कसले केवल आफ्नो स्वार्थका लागि ।
लोकतन्त्र बलियो तब हुन्छ, जब सत्ता जिम्मेवार हुन्छ र प्रतिपक्ष विवेकशील हुन्छ । जनताको पक्षमा उभिने, सही कुरालाई समर्थन गर्ने र गलतमाथि दृढ आवाज उठाउने संस्कार नै सभ्य राजनीति र सशक्त लोकतन्त्रको आधार हो ।